शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – एमाले-माओवादी केन्द्रद्वारा गठित कार्यदलले राष्ट्रिय सभाको सिट बाँडफाँड टुंगो लगाएको छ । दुई पार्टीले राष्ट्रियसभाका ५६ मध्ये ४३ सीटमा उम्मेदवारी दिने निर्णय गर्दै सिट बाँडफाँड टुंग्याएको हो ।

आज बसेको बैठकले ४३ मध्ये एमालेका लागि २९ र माओवादीका लागि १४ सिट बाँडफाँड गरेका हुन् । यस अघि सिट बाँडफाँडमा लिइएको ६० र ४० प्रतिशत र स्थानीय तहका जनमतलाई आधार मानेर सिट बाँडफाँड गरेको कार्यदलका सदस्य एवं एमाले नेता सुवास नेम्वाङले बताउनुभयो । यद्यपी सिट बाँडफाँडका विषयमा अन्य दलसँग पनि छलफल गर्ने कार्यदलको निर्णय छ ।

कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षसँग परामर्श गरेर अन्तिम टुंगो लगाउने तयारी भएको छ । कार्यदलमा एमालेका नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहनु भएको छ ।

सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । योसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रियसभामा ५६ सिटमा चुनाव हुनेछ । हरेक प्रदेशबाट आठ जना सदस्य चयन हुनेछन् ।

तपाईको प्रतिक्रिया