शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – जाजरकोटमा ३ सातादेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि ५ चिकित्सक सहित स्वास्थ्यमन्त्रालयको उच्चस्तरीय टोली आज प्रभावित क्षेत्रमा जाँदैछ ।

स्वास्थ्यसचिव पुष्पा चौधरी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख गृहमन्त्रालय प्रतिनिधी र चिकित्सकसहितको टोली आज भाइरल ज्वरो प्रभावित क्षेत्रमा जान लागेको हो । यसअघि स्वास्थ्यमन्त्री दिपक बोहराको नेतृत्वमा टोली जाने भनिएपनि स्वाथ्य अवस्था प्रतिकुल भएपछि उहाँ भने जानुभएको छैन । टोलीले तत्कालिन राहतका लागि २ सय वटा कम्बल र आवश्यक औषधी पनि लिएर गएको मन्त्री बोहराले जानकारी दिनुभयो ।

भाइरल ज्वरोको कारण जिल्लामा अहिलेसम्म जुनीचाँदेमा १३ जनाको मृत्यु भईसकेको छ । १हजार ५ सय भन्दा बढी बिरामी भाइरल संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । गत पुस पहिलो सातादेखि जुनीचाँदे १, २, ३ र ११ वडामा फैलिएको भाइरल ज्वरो तथा मौसमी रुघाखोकीबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी बिरामी परेका छन् ।  भौगोलिक विकटता, सूचना तथा सञ्चारको समस्या, स्रोत साधनको कमीलगायत कारण दुर्गम गाउँमा फैलिएका प्रकोप नियन्त्रणमा आउन ढिलाइ हुने गरेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताउनुभयो ।

भाइरल कुन जीवाणुका कारण भएको भन्ने बारे परिक्षणका लागि नमुना पठाइएको नेपालीले बताउनुभयो ।  रोग फैलिन नदिन र फैलिएपछि पनि नियन्त्रणका लागि उच्च सतर्कता नअपनाउँदा जाजरकोटबासीले पटक–पटक महामारीको सास्ती खेप्नुपरेको हो ।

तपाईको प्रतिक्रिया