शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तीय स्रोत पनि जुटाएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाका र तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी आज सरकारलाई बुझाएको हो । स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी वित्तीय स्रोतको खाका तयार पारिएको समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिनुभयो ।

प्रतिवेदनमा यो आयोजना निर्माणका लागि एक वर्षभित्रै करीब २ सय ७० देखि ३ सय ६७ अर्ब लगानी गर्न सक्ने क्षेत्रहरूको पहिचान गरिएको छ । समितिका संयोजक वाग्लेले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी लगानी जुटाउने पर्याप्त आधार रहेको पनि स्पष्ट पार्नुभयो । समितिले यो आयोजना निर्माणका लागि लगानी गर्न कार्वन ट्याक्सलाई मुख्य स्रोतको रूपमा लिएको छ ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान तथा अन्य बीमा कम्पनीहरू, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत यो आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन कठिनाई नरहेको पनि स्पष्ट पारेको छ ।

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री कमल थापाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण स्वदेशी लगानीमा सम्पन्न हुने सुनिश्चित भएको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया