शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – ट्वीटरमा कसैकोविरुद्धमा अफवाह फैलाउने, कसैलाई गालीगलौज गर्ने तथा धार्मिक भावनामाथि आघात पूराउने जस्ता ट्वीट गर्ने मानिसहरुलाई निस्तेज पार्नका लागि ट्वीटरले महत्वपूर्ण कदम अघि बढाएको छ ।

सोही क्रममा ट्वीटरले अब यस्ता नकारात्मक ट्वीटहरुबाट चर्चा बटुल्नेहरुको ट्वीटर अकाउन्ट अस्थायी वा स्थायी रुपमै बन्द गरिदिन सक्नेछ । ट्वीटरले हामै कमाल आर खान नामक एक ट्विटर प्रयोगकर्ताको अकाउन्ट बन्द गरिदिएको छ । आपत्तिजनक ट्वीटका सन्दर्भमा ट्वीटरले पछिल्ला दिनमा नयाँ निर्देशिका लागू गरेको छ ।

कतिपय मानिसहरु गलत मनसायले गलत चिजलाई ट्रेन्डिङ बनाएर कसैको इमेज ड्यामेज गर्ने कोसिसमा लागेका हुन्छन् । त्यस्तालाई निस्तेज पार्नका लागि ट्वीटरले नयाँ निर्देशिका तयार पारेको हो । जस अनुसार अश्लीलता देखि लिएर नश्लीय, जातीय तथा कुनै खास देशका मानिसहरुप्रति गलत टिप्पणी आदिमा रोक लगाइनेछ ।

साथै कुनै खास लिंगको पहिचान देखि उमेर, असक्षमता वा रोगका बारेमा लेख्नुपनि ट्वीटरको नियम विपरित हुनेछ । साथै ट्वीटरको प्रमाणीकरण ब्लू मार्कको गलत प्रयोग गर्नेमाथि पनि प्रमाणीकरण खोसेर ट्वीटरले कारवाही सुरु गरेको छ ।

अकाउन्ट बिक्रिमा प्रतिबन्ध
कुनै खास नाममा विभिन्न अकाउन्ट बनाउनुलाई युजरनेम स्क्वेटिंग भनिन्छ । एकैखाले नामबाट खोलिएका अलग अलग अकाउन्टलाई यदि कुनै थर्ड पार्टीलाई बेचिएमा ट्वीटरले त्यस्ता अकाउन्टलाई छ महिनादेखि सधै भरका लागि प्रतिबन्धित गर्न सक्नेछ । ट्वीटरमा कसैलाई धम्क्याउने, दुख दिने वा कसैलाई त्रसित पार्ने खालका ट्वीटर गर्ने अकाउन्टमा समेत ट्वीटरले प्रतिबन्ध लगाउनेछ ।

फ्यान पेज अकाउन्ट
सेलिब्रेटी तथा पब्लिक फिगरहरुको फ्यान पेज अकाउन्ट बनाउनेहरुका लागि पनि ट्वीटरले नयाँ मापदण्ड लागू गरेको छ । कुनैपनि सेलिब्रेटीको गलत जानकारी दिनेखालको फ्यान पेज अकाउन्ट नखोल्न ट्वीटरले आग्रह गरेको छ । तर प्यारोडी, कमेन्ट्री वा न्यूज फिड अकाउन्टमा चाहिँ ट्वीटरले कुनै पनि बन्देज लगाएको छैन । फ्यान अकाउन्ट बाहेकमा आफ्नो अकाउन्टमा अरु कसैको कुनै निजी जानकारी विना अनुमति शेयर गरेमा तपाइँले आफ्नो अकाउन्टबाट हात धुनुपर्नेछ ।

विवादित ट्वीट हटाउनु पर्ने
विवादित ट्वीट गरिसकेपछि कुनैपनि प्रयोगकर्ताले उक्त विवादित ट्वीट नहटाएसम्म अर्को नयाँ ट्वीट गर्न वा अरु ट्विपल्ससँग कुराकानी गर्न पाउनेछैन । ट्वीटरले प्रयोगकर्ताको ट्वीटको पहुँच पनि सिमित गरिदिनेछ ।

पहिचान प्रमाणित गर्नुपर्ने
अकाउन्ट बन्द गरिसकेपछि ट्वीटरले रजिस्टर्ड फोन नम्बर वा इमेलमा प्रयोगकर्तालाई पहिचान प्रमाणित गर्न भन्दछ । सधैका लागि अकाउन्ट बन्द गरेसँगै ट्वीटर रजिस्टर्ड नम्बर वा इमेलमा त्यसको जानकारी दिन्छ । यदि सोही नम्बर वा मेल आइडीबाट अर्को कुनै ट्वीटर अकाउन्ट खोलेमा त्यसलाई पनि बन्द गरिदिन्छ ।

सधैका लागि बन्द हुनसक्छ अकाउन्ट
यदि कसैले अफवाह फैलाउने वा उक्साउने खालका ट्वीट गर्दछ कि जसबाट कुनै समूह वा व्यक्तिको ज्यानलाई खतरा हुन्छ, त्यसमा पनि ट्वीटरले लगाम लगाउने तयारी गरिरहेको छ । साथै कुनैपनि प्रकारका अश्लील सामाग्रीहरु ट्वीट गर्न, आत्महत्याको लागि उक्साउन देखि लिएर आत्महत्या गर्ने प्रयास गर्ने व्यक्तिको ट्वीटर अकाउन्टमा पनि बन्देज लगाउनेछ ट्वीटरले । –एजेन्सी 

तपाईको प्रतिक्रिया