शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – वाम गठबन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको कारण देखाउँदै स्थानीय प्रशासनले रामेछापको बेथानलाइ भोलिदेखि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ख बमोजिम बेथानमा सभा जुलुस र अन्य कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको छ । अाज निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले उक्त आदेश जारी गरेका हुन् । प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन ।

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार भोलि बेथानमा वाम गठवन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको र दुवैपक्ष कार्यक्रम रोक्न तयार नभएपछि शान्ति सुरक्षाको दृष्टिले उक्त आदेश जारी गरिएको हो । शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाइ अर्को आदेश नभएसम्मका लागि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको उहाँले बताउनुभयो ।

भोलि वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा हिंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले त्यस क्षेत्रमा चुनावी कार्यक्रम नगर्न नगराउन राजनीतिक दललाई आग्रह गरेको छ । बेथानमा भोलि वामम गठबन्धनले वृहत जनसभा गर्ने यसअघि नै तय गरेको थियो ।

प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि वाम गठबन्धनले गर्ने भनिएको चुनावी सभा अन्योलमा परेको छ । पहिलो पटक निर्धारित कार्यक्रम गर्न नसकेर शक्ति प्रदर्शनसहित भोलि बेथानमा वाम गठबन्धनको चुनावी सभा राखेपछि कांग्रेसले पनि सोहि दिन शक्ति प्रदेर्शन गर्ने तयारी गरेकाले प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया