शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो– ‘मेरा छोरीहरु काखमा राखेर उनीहरुसँगै खेल्दै हुर्काउने समयमा पिडा र तनावका बिच उनीहरु हुर्के ।’ आखाँभरि आँशु पर्दै गोविन्द मैनालीले भने – मेरो युवा अवस्था र जीवनको महत्वपूर्ण समय बिना अपराध जेलमा राखेर मेरो जीवन बर्वाद पारे ।
३९ वर्षीय जापानी महिलालाई हत्या गरेको आरोपमा १५ वर्ष जेल सजायपछि निर्दोष सावित भएका मैनाली नेपाल फर्केपछि पहिलोपल्ट गतहप्ता जापान आएका बेला निर्दोष नागरिकहरुलाई दोषमुक्त गर्ने अभियान सञ्चालन गर्दै नागरिक सभाको साक्षात्कार कार्यक्रममा बोल्ने क्रममा पिडा पोख्दै आफुले पाएका घाउ र चोट निको हुने खालका नभएको बताए ।
सन् १९९८ मा जापान आउदा उनका छोरीहरु एउटी टुकुटुकु हिड्ने र अर्की सानी बच्ची थिइन् । आफुलाई बिना कारण जेल हालेर उनीहरुलाई माया र स्नेहमा हुर्काउन नपाएकोमा जीवनकै ठूलो गुनासो र पछुतो रहेको उनले बताए ।
५१ वर्षीय मैनालीले १५ वर्षे जेल जीवनलाई कहिल्यै नबिर्सने ठूलो चोटका रुपमा लिएको बताउँछन् । ‘जेल सजायका कारण निद्रा नलाग्ने तथा अन्य स्वास्थ्यमा गम्भिर समस्या आएको छ ।’४८ वर्षीय श्रीमति राधाले भनिन्–अहिले सबै समय घरमा नै बसेर विगतमा जेल सजायका दिनहरुलाई सम्झदै बिताउन बाध्य छौं ।
निरन्तर रुपमा जापानी सहयोगी र समर्थकहरुले यस्ता गलत अभियोगहरुको विरोध गरेको सुन्दा आफुलाई खुशी लाग्ने बताउने मैनालीले अब नेपालमा रहेर गैर सरकारी संस्थाको स्थापना गरी यसरी गैर कानुनी ढंगले सजाय पाएका, त्यस्ता कार्यबाट सताइएका परिवारका निम्ति आफ्नो अनुभव उपायोग गर्ने योजना रहेको सुनाए ।
‘जापानमा समेत किन यस्तो भैरहेको छ ? जापानी प्रहरीहरुले अनुसन्धान सही ढंगले गरिनुपर्छ । न्यायधिशहरुले अभियुक्तका कुरा ध्यानपूर्वक सुन्नैपर्छ । ’ मैनालीले भने –यस्ता घटना दोहोरिरहे भने यस्तो विकसितमुलुकको बेइज्जत हुने अवस्थाको सृजना हुन जान्छ ।
श्रीमान मैनाली सँगसँगै साक्षात्कार कार्यक्रममा उपस्थित रहेकी श्रीमति राधाले यस घटनालाई अव्यवहारिक र सहजै माफी दिन सकिने खालको नरहेको प्रतिक्रिया दिइन् । खतरानाक देशको रुपमा आफ्ना आफन्त र साथीहरुले जापानलाइ बुझेर यहाँ नआउन भनेपनि आफुलाई सहयोग गर्ने जापानी नागरिकलाई धन्यवाद भन्न आफु यहाँ आएको मैनालीले बताए । उनीहरु आफ्नो भ्रमणका क्रममा टोकियोका पर्यटकीय क्षेत्रहरु शिबुया ओदाइबाको भ्रमण गर्ने बताएका छन् ।
जापानमा रेष्टुरेण्टमा कार्यरत रहेका मैनालीलाई सन् १९९७ मा प्रहरीले हत्या आरोपमा पक्राउ गरी जेल सजाय दिएपनि १५ वर्षपछि डिएनए परिक्षण गर्दा हत्याको पुष्टि हुन नसकेपछि जेलमुक्त गरिएको थियो । त्यसपछि उनी नेपाल फर्किएका थिए । जापान सरकारले  उनलाई जेल सजायको क्षतीपूर्ति बापत ६८ मिलियन येन उपलब्ध  गरेको थियो । ***

तपाईको प्रतिक्रिया