टोकियो–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग खेलेको गल्फ खेलको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
खेलको अन्त्यपछि बाहिरिने क्रममा खेल मैदानमा रहेको खाडलमा परेर आबे सामान्य ढलमलाएपछि सन्तुलन बिग्रएको र कसैको सहयोगबिना आबे आफ्नो पूर्ववत् अवस्थामा आएको भिडियोमा देख्न सकिन्छ । खेलको सम्पूर्ण भिडियो हेलिकप्टरबाट लिइएको थियो । जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
यो भिडियोमा सेतो रंगको जर्सीमा रहेका आबे खाडलमा परेर आफ्नो सन्तुलन मिलाउन नसक्दा समान्य रुपमा ढलेको देखिन्छ । तर क्षणभरमा नै उनले आफुलाई सम्हालेर खाडलबाट बाहिर आएका छन् । उक्त घटनामा ट्रम्पलाई देख्न सकिदैन किनकी उनी आफ्ना सहयोगीको साथमा अलि अगाडी निस्कीसकेका थिए ।
यसै वर्षको फेब्रुअरीमा आबेको अमेरिका भ्रमणका क्रममा पनि ट्रम्पका साथमा गल्फ खेलेका थिए ।
तपाईको प्रतिक्रिया