शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
 जापान संसारकै सुरक्षित र विकासमा लोभलाग्दो प्रगति गरेको देश । हामीजस्ता तेस्रो विश्वका नागरिकले जापानमा जीवनका केही क्षण बिताउने चाहना राख्नु अस्वाभाविक मानिँदैन ।त्यहाँ पुगेपछि उच्च विकासको फल चाख्न पनि मान्छेमा आवश्यक मापदण्ड पूरा हुनुपर्छ भन्ने लाग्छ । त्यो भनेको अनुशासन हो । समय पालनको अनुशासन । कामप्रतिको मोह र सम्मानको अनुशासन । खानपानप्रतिको अनुशासन । खानपानमा त अझ धेरै अनुशासित हुनुपर्छ । स्वास्थ्य भन्नु नै धन हो भन्ने हरेक जापानीले बुझेका छन् ।

समय नै पैसा हो र समय बलवान् छ भनेर विद्यालयमा धेरैपटक पढियो । तर, व्यावहारिक ज्ञान भने जापानमा पाइने रहेछ । मोबाइलमा अलार्म लगाएर सुत्नु नेपालबाट गएका हरेक विद्यार्थीको लागि जीवनशैलीमा आउने पहिलो परिवर्तन हो । जापानमा समयपालना अनिवार्य सर्त हो । बिहान बज्ने मोबाइलको अलार्मले हरेक दिन समयको महत्व सम्झाउँछ । अनि सुरु हुन्छ ‘रेस’मा दौडिएजस्तो जीवन ।
कतिपय नेपाली अलार्मबाट सुरु हुने जीवनप्रति असन्तुष्ट हुन्छन् । एक मित्रको फेसबुक स्टाटस निकै रोचक थियो : स्लिपिङ विथआउट अलार्म । अलार्मविनाको सुताइ बिरलै हुने गर्छ । अझ विद्यार्थीहरूका लागि त असम्भवजस्तै । विद्यार्थीले दुईवटा जीवन बाँच्नुपर्छ, विद्यार्थी र कामदारको ।
फूलजस्ता विद्यार्थी जापान पुगेपछि भने कागजका फूलजस्ता हुन्छन् । हेर्दा सुन्दर । तर, न बासना छ, न प्राकृतिक आकर्षण । फूलैफूलको देश जापानमा जापानीहरूको जिन्दगी पनि कोठामा सजाइएका कागजी सदाबहार फूलजस्तै हो । जीवन्तताविहीन र निरश । सामाजिक जीवनमा हुने सौन्दर्यको अभाव छ । प्रविधि र प्रणालीले जीवनलाई सुन्दरता दियो, तर सुवास दिन सकेन । काम नै जीवनको पहिलो सर्त हो । तर, आत्मसन्तुष्टि छैन उनीहरूमा । जापानीलाई देख्दा विज्ञानले आत्मसन्तुष्टि दिलाउने प्रविधि र प्रणालीको आविष्कार गर्न नसकेकोजस्तो लाग्छ ।

मोबाइलमा अलार्म लगाएर सुत्नु नेपालबाट गएका हरेक विद्यार्थीको जीवनशैलीमा आउने पहिलो परिवर्तन हो । जापानमा समय पालना अनिवार्य सर्त हो । बिहान बज्ने मोबाइलको अलार्मले हरेक दिन समयको महत्व सम्झाउँछ । अनि सुरु हुन्छ ‘रेस’मा दौडिएजस्तो जीवन ।

जापानमा विद्यार्थीको आत्महत्या ठूलो समस्या हो । पारपाचुके जीवनचक्रको एक भाग हो । दैनिक बोलचालमा प्रयोग गरिने भाषा सुन्दा अनौपचारिकजस्तो लाग्छ । तर, सारमा त्यो औपचारिक हुन्छ । हरेक सानो–सानो काम कसैबाट गराएमा ‘आरिगातोउ’ अर्थात् धन्यवादका बाढी बर्साउँछन् । ती धन्यवादमा सजीवता हँुदैनन् ।
जापानीको सोचाइ निकै अचम्मलाग्दो छ । अल्पकालीन प्रकृतिका काम जस्तै बाटो भुले बाटो देखाइदिने, रेल चढ्नमा सहयोग गर्ने संस्कारचाहिँ साँच्चै नै लोभलाग्दो छ । दीर्घकालीन कामको सहयोगका लागि भने जापानी त्यति अघि सर्दैनन् । आमनागरिकलाई राजनीतिमा खास चासो छैन । मेरो जापान बसाइमा एकपटक चुनाव भयो । तर, त्यो चुनाव कहाँ, कसरी भयो थाहै भएन । जापानी भोट हालेर काममा पुगिसक्थे । अथवा काममा फुर्सद नभए भोट हाल्न नै जाँदैन थिए । सँगै काम गर्ने जापानी महिलाले ड्युटी सकेर समय भए मात्र भोट हाल्न जाने बताएकी थिइन् । चुनावलाई जीवनमरणकै सवाल बनाउँदैनन् । न त नाराजुलुस, झन्डा प्रदर्शन नै हुन्छ ।


संख्यात्मक रूपमा प्राकृतिक विपतको घटनाको नेपाल र जापानमा समानताजस्तो देखिन्छ । तर, ती घटनाको प्रकृतिमा फरक छ । प्राकृतिक प्रकोपको रोकावट र समाधानको उपाय जापानबाट सिक्न सकिन्छ । सन् २०११ मा भूकम्पपछि आएको सुनामीले प्रसान्त महासागरको तटीय क्षेत्र इसिनोमाकी सहर तहसनहस भएको थियो । यो सहर मियागी प्रान्तमा पर्छ । सो सहर अहिले पहिलाकै अवस्थामा फर्किसकेको छ । सहरको पुनर्निर्माण निकै द्रुतगतिमा भयो । सो सहरको अवलोकन गर्न जाइकाको मेजमानीमा नेपालबाट सरकारी टोली पनि गएको थियो । त्यस्ता भ्रमण रमाइलो गर्नका लागि मात्र उपयोग भए । तर, पुनर्निर्माणको काममा इसिनोमाकी सहरबाट निकै ठूलो ज्ञान हासिल हुन सक्थ्यो ।
नेपाली नेताको वाणीमा प्रायः आइरहने शब्द हुन् रेल र मोनोरेल । ती रेल र मोनोरेलको विकास जापानमा देख्न पाइन्छ । द्रुतगतिको बुलेट ट्रेन र म्याग्नेटिक ट्रेनको सेवा पनि छ । जापानी भाषामा सिनकानसेन भनिने विद्युतीय बुलेट रेलको सेवा निकै लोभलाग्दो छ । सो रेलमायात्रा गर्दा लगभग तीन सय किलोमिटर प्रतिघन्टाभन्दा बढी गतिमा यात्रा गरिन्छ । यति द्रुतगतिमा कुदेको रेलको सिटमा चियाको ग्लास राख्न सकिन्छ । त्यो हल्लिँदैन । त्यो गिलासले विकासको उत्कृष्ट नमुना सम्झाइरहन्छ ।
जापानी भाषामा चिखातेचु भनिने अन्डरग्राउन्ड रेलको यात्रा गर्दाको अनुभूति रोमाञ्चक हुन्छ । त्यो जमिनमुनिको यात्रा गर्दा काठमाडौ निजगढ फास्टट्र्याकको बारेमा बनाएको डिजाइन हेरेको सम्झेको थिएँ । जुन म नेपाल फर्किंदा पूरा हुने कामना गरेको थिएँ । तर, मेरो कामना पूरा हुन सकेन ।
मैले पुगेसम्म जापानमा सडक घुम्ती छैनन् । सकेसम्म सीधा बनाइएको छ । थुम्का र पहाड छेडेर भए पनि सडक सीधा बनाइएको छ । त्यसैले सडकका दृश्य साँच्चै नै मनमोहक छन् । आधुनिक कृषि प्रणाली भएको जापानमा प्रत्येक खेतीयोग्य भूमिमा सिँचाइको सुविधा छ । जापान विश्वको धेरै धान फल्नेमध्येको एक देश हो । प्रत्येक धान खेतमा पिचसडक र सिँचाइ सुविधा देख्दै गर्दा नेपालका धान फल्ने फाँटहरूमा बनाइएका प्लटिङ सम्झना आउँछ । त्यही जापान बस्ने नेपाली धानखेत मासेर बनाइएका घडेरी खरिद गरिरहेका हुन्छन् ।
प्रायः जापानिजको कुकुर पाल्ने सौख हुन्छ । सरसफाइमा उत्तिकै ध्यान दिन्छन् । सरसफाइ जापानीको एक पहिचान हो । निजी वा सार्वजनिक ठाउँको सरसफाइमा उनीहरु उत्तिकै ध्यान दिन्छन् । पार्कतिर डुलाउँदा कुकुरले दिसा गरे जापानीहरू रुमालले टिपेर घर लैजान्छन् । यतिवेला काठमाडौंका सडकमा दिसा गराउन कुकुरलाई घरबाट निकाल्ने शिक्षितको सम्झना हुन्छ ।
जापानको भित्री सहरमा बिराला सडकमा कुद्दै गरेको धेरै नै देख्न पाइन्छ । बिरालोले बाटो काट्यो भने जापानिजहरु सकुन भएको ठान्छन् । उनीहरू बिरालोलाई शुभ जनावरको रूपमा लिन्छन् । जापानीहरू फूल असाध्यै मन पराउँछन् । सम्भवतः संसारका अन्य देशका नागरिकभन्दा धेरै । जापानमा थरीथरीका फूलका पार्क धेरै छन् । जस्तो हिताचीपार्क, आशीगावा पुष्पपार्क आदि । ती पार्कमा महिनाअनुसार फूल  फुल्छ । घुम्न जानेका लागि क्यालेन्डर नै हुन्छ । क्यालेन्डर हेरेर कुन फूल फुलेको छ थाहा हुन्छ । अप्रिल र मे महिनामा फुल्ने राष्ट्रिय फूल साकुरा हेर्न विशेष मेला नै लाग्छ । साकुरा फुल्ने वेला साँच्चै नै जापान अर्को स्वर्गको टुक्रा नै बनेजस्तो लाग्छ । साकुराको सौन्दर्यले धेरै जापानिज मोहित हुन्छन् ।
सन्तान थरीथरीका भनेझैँ जापानिजको स्वभाव र पेसा अनौठा छन् । विशेषगरी नयाँ विद्यार्थी त्यसको जालमा सजिलै पर्न सक्छन । नांग्यो होरिगें नामक धार्मिक भनिएको संस्थाका प्रचारकले जागिर लगाउने नाममा धर्ममा आबद्ध गराउँछन् । नयाँ सत्रमा विद्यार्थी आउने वेला प्रत्येक होस्टल धाउँछन् । जुन दृश्य स्ववियु निर्वाचनमा नेताहरू विद्यार्थीको कोठाकोठामा आएजस्तै हुन्छ ।

सरसफाइ जापानीहरुको पहिचान हो । निजी वा सार्वजनिक ठाउँको सरसफाइमा उनीहरु उत्तिकै ध्यान दिन्छन् । पार्कतिर डुलाउँदा कुकुरले दिसा गरे जापानिजहरु रुमालले टिपेर घर लैजान्छन् । यतिवेला काठमाडौंका सडकमा दिसा गराउन कुकुरलाई घरबाट निकाल्ने शिक्षितहरुको सम्झना हुन्छ ।

अनुशासन र इमानदारी आफ्नो जीवन शैली बनाउन चाहनेका लागि जापान एक आदर्श देश हुन सक्छ । स्कुले साना केटाकेटी सडकमा हिँड्दा होस् या हजारौँ मानिस ओहोरदोहोर गर्ने टोकियोको मुटुमा रहेको सिनागावा रेल स्टेसनमा रेलबाट ओर्लेर आफ्नो गन्तव्यमा हिँडेका मानिसमा हुने पिनड्रप साइलेन्समा होस् वा पार्कमा कुकुर घुमाइरहेका मान्छे हुन् हरेक जापानीले आफ्नो अनुशासित जीवनशैली पस्किरहेका हुन्छन् । यस्तो जीवनशैली र प्राविधिक उन्नति देखेर नेपाली र नेतालाई महाभारत कथामा द्रौपदीको चीरहरणपछि कौरवलाई दिन आँटेको जस्तै श्राप दिन खोज्दा मनभित्रको गान्धारीले हामीलाई रोक्छ ।
टोकियो संसारकै महँगो सहर मानिन्छ । यहाँ एक रात होटेलमा बस्न सस्तोमा ५ हजारदेखि ६ हजार पर्छ । तर, यहाँका हरेक सेवासुविधाको हिसाबबाट मौद्रिक रूपमा महँगो ठानिएको टोकियोलाई हाम्रो काठमाडौंको तुलनामा निकै सस्तो मान्न सकिन्छ । टोकियो तेस्रो विश्वका मानिसका लागि वास्तविक सस्तो सहर हो जहाँ आफ्नो देशमा ठूला भनिएका सपना त्यहाँ मिनी ड्रिममा परिणत हुन सक्छन् । जापानबाट बुझ्नैपर्ने कुरा के हो भने, सबैभन्दा ठूलो कुरा देशको माया पे्रम होला, तर आमनागरिकले पहिले खोज्ने सरल तथा सहज जीवनयापन नै हो । सार्वभौम जापानका हरेक नीतिहरू अमेरिकी नीतिसँग प्रभावित हुनुहुन्छ भनिन्छ, जापानी भूमिमा अमेरिकी सेना छ । तर, त्यो अवस्थालाई नजरअन्दाज नगरी देशको विकास गर्दै विश्वमै पहिलो घामको किरण आफ्नो भूमिमा पर्दै गर्दा जापानीहरू आफ्नो सम्मानित जीवनको नयाँ दिनको सुरुवात  गरिरहेका हुन्छन् । नयाँ पत्रिकाबाट 

तपाईको प्रतिक्रिया