चुनावी तालमेल गर्ने कांग्रेसको प्रस्ताव नेमकिपाद्वारा अस्वीकार

भक्तपुर – आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच तालमेल गर्न छलफल भएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निवासमा आज बिजुक्छे र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच दुई पार्टीबीच चुनावी तालमेल गर्नेबारे करिब एक घण्टा छलफल भएको हो । अध्यक्ष बिजुक्छेलाई नेता निधिले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनावी तालमेल गर्न आग्रह गरेका बताइएको छ ।

भेटवार्तापछि अध्यक्ष बिजुक्छेले भने,‘हामीले आफ्नो कुरा राखेका छौं, उहाँले पार्टी सभापतिसँग कुरा गरेपछि त्यहीअनुसार अगाडि बढ्छौँ भन्नुभएको छ।’ बिजुक्छेले एमालेलाई भाइ कांग्रेसको संज्ञा दिँदै एमाले वाम पार्टी नभएको र कांग्रेस पनि सच्चा कांग्रेस नभएको भन्दै दुवै गठबन्धनसँग चुनावी तालमेल नहुने बताउनुभयो ।

‘वाम गठबन्धन न वामपन्थी हो, न त कांग्रेस नै सच्चा कांग्रेस हो, त्यसैले दुवै गठबन्धनसँग नेमकिपा चुनावी तालमेल गर्दैन’, बिजुक्छेले भन्नुभयो, ‘माओवादी सरकार पनि छ, प्रतिपक्षसँग गठबन्धन पनि गर्दैछ, एमालेले सदनमा कहिल्यै वामपन्थीको भूमिका निर्वाह गरेन ।’

वर्ग र सिद्धान्त नमिल्ने गठबन्धनसँग तालमेल नगरी नेमकिपा एक्लै चुनाव लड्ने बताउँदै उहाँले राम्रो उम्मेदवार दिन र पैसा नबाँड्न निधिलाई सुझाव दिएको बताउनुभयो । आगामी निर्वाचनमा गुण्डागर्दी र पैसा बाँडेर भोट किन्ने प्रचलनलाई रोकेर पार्टीहरुबीच घोषणा पत्रको लडाइँ हुनुपर्ने बिजुक्छेको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित