शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

Image result for Image of bhaitika

टोकियो –घरघरमा भैलेनीले भट्याउन लागेका होलान्, दिदीबहिनीहरुले माला उन्दै होलान्, आमाहरुले सेल पकाउदै होलान्, शिनओकुबो स्टेशन नजिकै भेटिएका नेपालगञ्जका विद्यार्थी भिषामा ३ वर्ष अगाडि जापान आएका माधव थापाले निराश हुदै भने ’परदेशमा खै कसरी मान्नु र चाडवाड हतारै हतारोको जीवन छ , तर फुर्सद निकालेर भए पनि साथीभाइसँग रमाइलो गरेर तिहार मनाउने सोच छ ।’

कामाताको नेपाली पसलमा भाइटिकाका लागि सामाग्री किन्दै गर्नुभएकी १३ वर्ष पहिले जापान आएकी गोमा थापाले आफ्नो भाइलाई परदेशमा नै भए पनि जे जसरी सकिन्छ भाइटिका लगाइदिएर तिहार मनाउदै आइरहेको र यसपाली पनि त्यसरी नै मनाउने सोचमा रहेको बताइरहंदा घरपरिवार र आफन्तसँग टाढिनुको पीडा सहजै उहाँको मुहारमा देख्न सकिन्थ्यो ।

शिनओकुवोमा रहेको एक नेपाली रेष्टुरेण्टमा कार्यरत जितबहादुर खड्कालाई तिहार कै दिन पनि ड्युटी रहेकोले चाडवाड आएको गएकोमा कुनै रमाइलो नहुने घरपरिवार दिदीबहिनी र अतितलाई सम्झदाँ मन अमिलो बनाउदै खड्काले परदेशीको जीवन यस्तै हो सम्पन्नशाली भए पो सँगै परिवारका साथमा हुन हुन्थ्यो नभए सबै नेपालीलाई यस्तै लाग्ने बताउनुहुन्छ ।

शिनओकुवोमा रहेको बाराही नेपाली पसलमा निकै चहलपहल बढेको छ । भाइटिकाका सामाग्री, तिहार विषेश समाग्री, बेच्न यहाँ फुर्सद छैन, यस्तो चहलपहल नेपालीहरुको बाहुल्य रहेका जापानका हरेक क्षेत्रमा देख्न पाईन्छ ।

विदेशमा रहेर पनि नेपाली चाडपर्वलाई सकेसम्म घरदेशमा जस्तै गरि मनाउने प्रयास जापानमा रहने नेपालीहरुले गर्दै आइरहेका छन् । परदेशमा रहंदा घरपरिवार आफन्तहरुको न्यास्रो मेट्न र आफ्नो परम्परा रीतिरिवाज, संस्कृतिलाई निरन्तरता दिनकै लागि आफुहरुले भ्याएर सकेसम्म नेपालमा जस्तै गरि तिहार लगायतका चाडवाडहरु मान्ने गरेको जापानबासी नेपालीहरु बताउँछन् ।

१६ वर्षदेखि जापानमा रहदै आउनुभएका बागलुङ काडेबासका हिमाल कडेंल (NRNA जापानका सदस्य ) घरपरिवारसँग चाडवाड नमनाएको धेरै भयो, सम्झदा निकै दुख लाग्छ तर यहाँ रहेका परिवारका लागि पनि आफु खुसी रहेर नेपालमा जस्तै गरी तिहारलाई मनाउने गरेको बताउनुहुन्छ ।

माचुदो सी गोको चिवामा स्पाइस प्यालेस रेष्टुरेण्ट संचालन गरेर बस्नुभएका चितवनका कृष्ण भण्डारी १० वर्षदेखि तिहारको टिका लगाउन नपाउदाँ मन खिन्न त यसै छ तर छोराछोरीहरुको रमाइलो र आफ्नो परम्परालाई निरन्तरता दिनका लागि तिहारलाई उत्सवमय बनाउँदै आएको बताउनुहुन्छ ।

जापान बसाई लगभग २ दशक पार गरिसक्नुभएका पत्रकार बेलु थापालाई भने विदेशको बसाई लामो भएर चाडवाड आउदा त्यति उत्साहित नहुने धेरै चाडवाडहरु परिवारभन्दा टाढा रहदा रंगहिन बनेको नमिठो अनुभव छ । उहाँँले यस वर्ष पनि निधार खाली नै राख्नुपर्ने बाध्यता रहेको बताउँदै टिका बिनाको दशैं तिहार फिका रहने महशुस गरेको बताउनुहुन्छ ।

गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापा पनि लामो समय जापान रहेपनि यसपाली घरपरिवारसँगै चाडवाड मनाउन पाएकोमा खुशी व्यक्त गर्दै परदेशमा रहने दाजुभाइ दिदीबहिनीहरुले पनि जहाँ जस्तो अवस्थामा रहेपनि चाडवाड खुशीका साथ मनाउन आग्रह गर्नहुन्छ ।

NRNA का नवनियुक्त प्रवक्ता समेत रहनुभएका भूषण घिमिरेको तिहार पनि जापानमा नै हुने भएको छ । दशैं नेपालमा नै परिवारसँग मनाउने अवसर जुटे पनि तिहार भने परदेशमा नै आफन्तहरुका साथमा मनाउने तयारीमा रहेको बताउनुभयो ।

कला संस्कृतिको जगेर्नामा परदेशमा नै रहे पनि कम्मर कसेर लाग्नुभएका कलाकार सूर्य खड्काको यसपालीको तिहार देउसी भैलो खेल्दै जापानमा रहनुभएका दुईवटी दिदीहरुको हातबाट टिका लगाउने, नेपालीहरुले आयोजना गरेको तीन वटा कार्यक्रममा सहभागीता जनाएर खुशी साथ मनाउन योजना रहेको छ । अर्का कलाकार कुलबिर थापाले पनि ओसाकामा रहेर तिहार विषेश कार्यक्रममा सहभागीता जनाउँदै आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने तयारीमा हुनुहुन्छ ।

नागोयामा रहेर व्यवसायका साथमा पत्रकारिता पनि गर्दै आउनुभएका भवानी पन्तले भने आफ्नो एकमात्र दिदी नेपालमा रहनु भएको उहाँको मन खिन्न नपार्नका लागि अरुको हातबाट टिका नथाप्ने तर रमाइलो र उत्सवका साथ परदेशमा नै भएपनि तिहार मनाउँदै आएको बताउनुहुन्छ भने विद्यार्थी भिषामा ४ वर्ष अघि जापान आउनुभएकी बर्दियाकी सुमित गिरीले आफ्ना दाजुभाइलाई सम्झदा तिहारमा निकै नरमाइलो लाग्ने हुदाँ सामान्य ढंगले साथीभाइका बिचमा तिहार मनाउदै आएको अनुभव छ ।
आफु धार्मिक हिसाबले बौध्द धर्मावलम्बी भए पनि नेपालमा मानिने सबै धर्मलाई उत्तिकै महत्व दिने जापानको यामनासी फुर्वा शेर्पा पनि कामको चापले यसपालीको तिहार मान्न नपाउदा निराश हुनुहुन्छ ।
नेपाली समुदायका विदेशमा रहने अनुभवहरुले हरेक चाडवाड संस्कृति, परम्परालाई निरन्तरता दिदै घर परिवारबाट टाढिनुको पीडा कम गर्न सहयोगीको भूमिका खेलेकोे जापानमा रहेर लामो समयसम्म नेपाली समुदायलाई नजिकबाट हेरिरहनु भएका पत्रकार तिलक मल्लको बुझाई छ ।

आफ्नो समुदाय समाज आदि मार्फत जमघट र भेटघाटलाई व्यवस्थित गराउनका लागि चितवन समाज र लमजुङ समाजले देउसी भैलो कार्यक्रम गरेको, यसले आफ्नो समुदायका बिचमा अपनत्व बढाएको समाजका अध्यक्ष ऋतु दुराको भनाई छ ।
भने नेपाली कला संस्कृतिलाई जोगाई राख्न र नेपाली मौलिक संस्कृतिका बारेमा विदेशमा पहिचान दिनका लागि टोकियो रोधी क्लब स्थापना गरी हरेक चाडवाडमा परम्परा अनुसार कला संस्कृति र मनोरञ्जन प्रदान गर्दै आइरहेको र यसपालीको तिहारमा पनि देउसी भैलो विषेश कार्यक्रम संचालन गरिएको संचालक मध्यका एक तिलक मल्ल बताउनुहुन्छ । ***

तपाईको प्रतिक्रिया