शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० र २१ गते नै हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न आयोगलाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्तहरुसहितको टोलिसँग प्रधानमन्त्री देउवाले चुनावको तयारी सन्तोषजनक रहेको बताउनुभयो ।

साथै निर्वाचन आयोगलाई प्रधानमन्त्री देउवाले निर्धक्क भएर निर्वाचनको तयारी गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपाल सरकारले तोकेको निर्वाचन सफलतापूर्वक सम्पन्न बनाउनका लागि आयोगले कार्यतालिका बनाएर काम गरिरहेको बताृनुभयो ।

भेटमा आयोगका पदाधिकारीहरू र प्रधानमन्त्री देउवाबीच दीपावली तथा छठलगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो । भेटमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया