शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपालीहरुको महान चाड बडा दसैं घरघरमा भित्रिईसकेको छ । नवदूर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दसैंलाई घर घरमा भित्र्याईसकेका छन् । घटस्थापनाको दिन जमरा राखेदेखि दसैंको उमंग सुरु हुने यस पर्वमा नौ दिनसम्म नवदूर्गाको पूजा, उपासना गरेर दशौं दिन मान्यजनको हातबाट टीका लगाएपछि दसैं औपचारिक रुपमा समापन हुने गर्दछ । हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा यसलाई बिशेष रुपमा मनाउने गरिन्छ । तथापि नेपालमा अहिले दसैं सबैको साझा पर्व र नेपाली संस्कृतिको रुपमा विकास भईरहेको छ ।

दसैं हाम्रो परम्परा र सँस्कृति हो । यसको आफ्नै महत्व छ । तर पछिल्ला दिनहरुमा दसैंलाई पनि आधुनिकता र परिवर्तनको नाममा उच्छृङ्खल बनाईदै गएको आभाष हुन थालेको छ । अनावश्यक तामझाम र तडकभडक गरेर दसैं मनाउने समेत गरेको पाईन्छ । दसैंमा मीठो खाने र राम्रो लगाउने नाममा नेपाली समुदायमा अस्वस्थ्य प्रतिष्पर्धा हुन थालेको छ । चाड मनाउने नाममा मादक पदार्थ र मासुका लागि हजारौं खर्चिने, गरगहना र लत्ता कपडामा आफ्नो आम्दानीले भ्याउने भन्दा बढि ऋण गरेर भए पनि खर्च गर्ने प्रवृत्ति बढेको छ । यसले पर्वको नाममा बिकृति बढाएको छ । यो पर्वलाई तडकभडक र अनावश्यक तामझाम गरेर भन्दा पनि आपसी सहयोग र भाइचारा बढाउने अवसरको रुपमा लिनुपर्दछ । चाडपर्व मनाउने नाममा गरिने अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन । दसैंलाई तडकभडक र देखासिकी होइन, यसलाई सांच्चै सबै नेपालीले मान्न र धान्न सक्नेगरी सरल र सहज बनाउनु आवश्यक छ । हाम्रो परम्परा र सँस्कृतिलाई बचाउनुपर्दछ, तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक हैसियतलाई पनि ख्याल गरिएन भने यसले हामीलाई दसैं नभएर दशामा परिणत हुन सक्छ ।

दसैं, बडा दसैं, दशहरा, विजयादशमी आदि नामले प्रचलित छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा हिन्दूहरुले विजया दशमी पर्व मनाउने प्रचलन रहँदै आएको छ । यसलाई एउटा बिशेष साँस्कृतिक महत्वको चाडका रुपमा बिकास गरी सबैको पहुँच हुने पर्व बनाउन सके यसको महत्व र गरिमा अझ बढ्दै जाने देखिन्छ । दसैं विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय, दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु-शासनमाथि सु-शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, असुरी शक्तिमाथि दैवीय शक्तिको विजय नै विजयादशमी मनाउनुको मुख्य उद्देश्य हो । बिभिन्न घटना तथा परिघटनाका कारण महत्वपूर्ण र ऐतिहासिक बनेको यो वर्षो विजया दशमी सबै नेपालीहरुका लागि आपसी प्रेम र सद्भावको पनि बर्षबन्न सकोस । तराईका केही जिल्लामा भएको डुबानका कारण पीडामा रहेका सम्पूर्ण नेपालीहरुले पनि दसैं मनाउने वातावरण सिर्जना होस र बर्षौ लगाएर बनाएको मुलुकको मुल कानुन अर्थात नेपाली जनताको संबिधान कार्यान्वयनको पहिलो अध्याय स्थानीय निर्वाचन सम्पन्न भएसंगै देशमा राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको दिशामा राष्ट्र अगाडि बढोस् विजया दशमी २०७४ को अवसरमा हार्दिक मंगलमय शुभकामना ।****

 

तपाईको प्रतिक्रिया