मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

काठमाडौं – भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ ।

नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई इन्धन मौज्दात रहेको छ ।  निगमका अनुसार विराटनगरमा २२० किलोलिटर, भद्रपुरमा ३७, काठमाडौँमा एक हजार २३९, मन्थलीमा २७, पोखरामा ५५, भैरहवा ३५, नेपालगन्ज ६८, सुर्खेत ५३, धनगढी ४० किलोटिर हवाई इन्धन मौज्दात छ ।

निगमका प्रबन्ध निर्देशक प्रेमप्रसाद आचार्यले आयातमा भएको समस्याका कारण अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई इन्धन दिन नसक्ने अवस्थामा निगम पुगेको जानकारी दिनुभयो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज भएको छलफलका क्रममा उहाँले भारतीय भन्सारमा जाँच पड्ताल गर्न लामो समय लाग्ने तथा विद्युतीय प्रणालीमा नै सबै जानकारी नआई प्रवेश नदिनेजस्ता समस्या आएका कारण इन्धन आयातमा कठिनाइ भएको बताउनुभयो ।

रक्सौल भन्सार बिन्दुमा मात्रै दैनिकजसो १५ किलोमिटरभन्दा लामो जाम हुने गरेका कारण पनि आयात प्रभावित भएको छ । बर्षात्का कारण आयात केही घटेको र मौज्दातमा रहेको इन्धन वितरण गर्दागर्दै भण्डारणसमेत खाली हुन पुगेको उहाँको भनाइ छ ।  गत साउनको अन्तिम साता आएको बाढी, पहिरोका कारण रेलको लिकलगायतका संरचना बगाउँदा आएको समस्या समाधान भएपछि भन्सार बिन्दुमा थप जटिलता उत्पन्न भएको निगमको भनाइ छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई दैनिक ६ लाख लिटर हवाई इन्धन आपूर्ति गर्दै आएको छ । यस्तै आन्तरिक उडानतर्फ ६० हजार लिटर मात्रै खपत हुने गरेको छ ।  निगमले केही दिन पहिले वायु सेवा प्रदायकलाई बोलाएर उत्पन्न परिस्थितिको बारेमा समेत जानकारी गराएको थियो । तर वायु सेवा प्रदायकले चाडबाडको समयमा बढी आवतजावत हुने र विदेशबाट नेपाल आउनेको संख्या समेत उल्लेख्य भएकाले इन्धन भरेर आउने अवस्था नभएको जनाएको थियो ।

निगमका प्रबन्ध निर्देशक आचार्यले भन्नुभयो ‘‘हामीले अन्तर्राष्ट्रिय उडानमा रहेका सबैलाई बोलाएर भन्यौ, इन्धन भरेर आइदिनुस् । केही समस्या आइलाग्यो । तर उनीहरुले मुख्य समयमा एउटा झोला समेत कम गर्न नसकिने भएकाले इन्धन नै ल्याउने विषय सम्भव नभएको जानकारी गराए ।’’  समस्या समाधानका लागि आपूर्ति मन्त्रालय, भारतस्थित नेपाली दूतावास र सम्बद्ध अन्य निकायसँग पहल भइरहेको जानकारी दिदै भारतीय आयल कर्पोरेसनका उच्च अधिकारी समेत रक्सोल आइपुगेका छन् ।

भारतीय भन्सारले आफ्नो प्रणाली विद्युतीय बनाएपछि इन्धन आयातमा समस्या आएको निगमको भनाइ छ । समस्या समाधान गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई समेत निगमले आगह गरेको छ ।  निगमको हवाई इन्धन विभाग प्रमुख मनोज ठाकुरले निगमसँग मौज्दात रहेको पाँच हजार किलोलिटर इन्धन क्रमशः सकिएको जानकारी दिनुभयो ।

वर्षात्का कारण भारतीय रेल्वे लाइनमा समस्या आएको, मर्मत गर्न दश दिन लागेका कारण इन्धन आयात ठप्प भएको थियो । प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका कारण तीन दिन भन्सार बिन्दु बन्द हुँदा हवाई इन्धन आयातमा थप समस्या आएको जानकारी दिंदै ठाकुरले समस्या चरम बिन्दुमा पुगेको बताउनुभयो ।  उहाँले चाडबाड केन्द्रीत गरेर अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले काठमाडौँ उडान समेत थप गरेका छन् ।

दैनिक तीन उडान गर्दै आएको एयर अरेबियाले हाल दैनिक सात उडान गरिरहेको छ । कतारको चार उडान छ भने इत्तिहाद तथा अन्य अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले समेत नियमित उडानमा थप गरेका छन् । हवाई इन्धनको माग बढेपनि आपूर्ति कम भएको, भण्डारण क्रमशः सकिदै गएका कारण अत्यावश्यक प्रयोजनका लागि मात्रै हवाई इन्धन आपूर्ति हुन सक्ने अवस्था आएको निगमको भनाइ छ ।

निगमले शनिबार १४० किलोलिटर मात्रै हवाई इन्धन आयात गरेको छ । आज एक हजार २०० किलोलिटर उपलब्ध गराइदिन भारतीय आयल कर्पोरेशनलाई आग्रह गरेपनि सीमा नाकामा लामो लाइनका कारण मंगलबार मात्रै इन्धन राजधानी आइपुग्नेछ ।  नेपालमा आयात हुने अधिकाशं हवाई इन्धन रक्सोल नाकाबाट मात्रै आयात हुने गरेको छ ।

आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले राजनीतिक, कुटनीतिक तथा कर्मचारी तहमा छलफल गरेर तत्काल समस्या समाधान गर्न निगमका उच्च अधिकारीलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया