शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सर्बसम्मतको मात्र आज सपथग्रहण

टोकियो – हालैमा सम्पन्न एनआरएन जापानको इ भोटिङका सिलसिलामा अनियमितता भएको भन्दै पराजित २० जना उम्मेदवारहरुले दिएको निबेदनका कारण आज आइतवार हुने भनिएको सपथ ग्रहण कार्यक्रम प्रभावित हुने भएको छ ।

जसअनुसार सहमतिमा सर्बसम्मत छानिएका पदहरुको मात्र आज सपथग्रहण हुने भएको छ । विवादित इ भोटिङबाट निर्बाचितहरुको भने आज सपथग्रहण नहुने भएको छ ।

इ भोटिङका नाममा प्रविधिको चरम दुरुपयोग गरी अनियमितता गरिएको आरोप लगाउंदै निबेदकहरुले उक्त निर्बाचन आफुहरुलाई मान्य नहुने भन्दै पुनः निर्वाचनको माग गरी एनआरएन आईसीसीका अध्यक्ष शेष घलेलाई निबेदन दिएका थिए । अध्यक्ष घलेले एशिया प्यासिफिकका संयोजक किरणविक्रम थापाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाई ३ दिन भित्र छानबिन गरी रिपोर्ट पठाउन निर्देशन दिएका थिए । उक्त ३ दिनको म्याद पनि गुज्रिसकेको छ ।

अनियमितता भएको भनिएको इ भोटिङको छानबिनको जिम्मा पाएको संयोजक किरणविक्रम थापाको टोलीले असन्तुष्ट पक्षसंग गरेको वार्ता र सहमति अनुसार छानबिनका लागि समय लाग्ने भएकोले सर्बसम्मतबाट निर्वाचितहरुको मात्र आज सपथग्रहण हुने भएको हो ।  अन्यको भने छानबिनको प्रक्रिया सकिनासाथ सपथ गराईने दुई पक्षबीच लिखत सहमति गरेका छन् ।

एनआरएन जापानको इतिहासमा पहिलोचेाटी भएको इ भोटिङका सन्दर्भमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षबाट उठेका प्रश्नहरुको जिम्मेवारीपूर्वक समयमै सम्बोधन हुन नसक्दा विवादले चर्को रुप लिएको हो । जसका कारण पहिलोचेाटी भएको इ भोटिङले अपेक्षित सकारात्मक सन्देश दिन नसकेको बिश्लेषण गर्न थालिएको छ ।***

तपाईको प्रतिक्रिया