शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बार्सिलोनाका फरवार्ड नेइमारलाई क्लब भित्र्याउन १९ करोड ६० लाख पाउण्ड स्ट्रर्लिङ तिर्न तयार रहेको खबर आइरहेका छन् ।

एक खेलाडीका लागि यति धेरै रकम ? यो रकम खेलाडी अनुबन्धमा अहिलेको विश्व कीर्तिमान भन्दा दोब्बर भन्दा बढी हो । अहिले विश्वका महंगा खेलाडीको रुपमा म्यानचेस्टर युनाइटेडका पउल पोग्बा छन् ।

उनलाई क्लब भित्र्याउन युनाइटेडले गएको सिजन ८ करोड ९० लाख पाउण्ड तिरेको थियो ।

यस्तै नेइमारका लागि पिएसजीले तिर्ने तयारी गरेको भनिएको रकम सन् २००९ मा विश्व कीर्तिमानी मूल्यमा युनाइटेडबाट रियल मड्रिडमा अनुबन्धित भएका क्रिष्टियानो रोनाल्डोको अनुबन्ध रकम भन्दा दुई तिहाइ बढी हो ।

युनाइटेड र रियल दुवै क्लबको सम्पत्ति तीन अर्ब पाउण्ड स्ट्रर्लिङ भन्दा बढी रहेको छ । यी क्लबले नेइमारलाई यतिको मूल्य तिर्नु सहज देखिएला तर पिएसजी । पिएसजी विश्वका १० धनी क्लबको सूचिमा पनि पर्दैन ।

यस्तो अवस्थामा पिएसजीले आफ्नो सम्पत्तिको एक तिहाइ भाग एक खेलाडीमा खर्चिन तयार हुन रोचक छ । यो रकम पिएसजीले एकैपटक तिर्छ, किस्तामा तिर्छ वा ब्याजसहित केही वर्ष भित्र तिरिसक्छ ? त्यो पनि खुलेको छैन । तर पनि पिएसजी नेइमारलाई भित्र्याउन आतुर छ ।

पिएसजीले खर्च कसरी उठाउला ?

पिएसजी नेइमारलाई किन्नका लागि ठूलो रकम र खेलाडीलाई ठूलोमा मात्रामा पारिश्रमिक दिन तयार भएको छ । किनकी नेइमारसँग जादुयी क्षमता मात्रै छैन उनी विश्वबजारमा राम्रोसँग बिक्न सक्ने खालका पनि छन् ।

फोर्ब्सका अनुसार नेइमार बढी आम्दानी गर्ने खेलाडीको सूचिमा १८ औँ स्थानमा छन् । उनले गएको वर्ष पारिश्रमिकबाट एक करोड १५ लाख ४० हजार पाउण्ड र विभिन्न व्यावसायिक फर्मसँगको सम्झौताबाट एक करोड ७० लाख पाउण्ड कमाइ गर्छन् । पिएसजीले नेइमारको इमेज राइट्सबाट खर्च उठाउन सक्नेछ ।

तपाईको प्रतिक्रिया