शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

डडेल्धुरा – हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ध्वजा/पतगाुहरूलाई हँसिया/हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् ।
यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतिहास दोहोर्‍याइरहन त्यत्ति सजिलो छैन । देउवाको गृहजिल्ला हो डडेल्धुरा । अरू पार्टीको आक्रामक चुनावी अभियानले त कांग्रेसका झन्डा जेलिइसकेका छन् । त्यसमा पनि अझ कांग्रेसभित्र चुलिएर सतहमै पोखिएको असन्तुष्टिले देउवाको राजनीतिक साखमै चुनौती थपिदिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणका बेला डडेल्धुरा कांग्रेसभित्र असन्तुष्टि चुलिएर सडकमै पोखियो । अरू पार्टीभन्दा करिब एक महिना ढिला गरी उम्मेदवारको घोषणा त गरियो तर कांग्रेसका जिल्ला सभापति नै सडकमा देउवाविरुद्ध नाराबाजीमा उत्रिए । त्यसको परिणाम अझ मनोनयन दर्ताका बेला देखियो । अहिले पनि डडेल्धुराका विभिन्न गाउँपालिकाका अध्यक्षसहित वडासमेत बागी उम्मेदवारको चाङ छ । विभिन्न ठाउँमा १० जनाभन्दा कांग्रेसकै उम्मेदवारले ुस्वतन्त्रुको लेपमा बागी उम्मेदवारी दिएका छन् ।
राजनीतिमा पाइला राखेदेखि भएका कुनै पनि चुनावमा देउवाले चुनाव हारेका छैनन् । ०४८ सालको आमचुनावदेखि अनवरत चुनाव जित्दै आएका देउवाको त्यो साख स्थानीय निकायको चुनावी परिणामले थेग्न सक्छ कि सक्दैन रु भन्ने बहस अहिले जिल्लाभरि फैलिएको छ ।
जिल्लाकै सदरमुकाम रहेको अमरगढी किल्लाको आफ्नै इतिहास छ । अंग्रेजसँग लडिएको अमरगढी किल्ला, यस क्षेत्रका पहिलो प्रशासक अमरसिंह थापाको सम्झनामा ०५३ सालमा अमरगढी नगरपालिका स्थापना भएको हो । डडेल्धुराको यो इतिहाससँगै देशमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको इतिहास पनि जोडिएको छ । अहिलेसम्म कुनै पनि चुनावमा डडेल्धुराबाट कांग्रेस अनि देउवाले हार्नुपरेको छैन । र, अहिले देशको सबैभन्दा ठूलो पार्टी र प्रधानमन्त्रीकै जिल्ला भएका कारण पनि डडेल्धुरामा सबैको नजर परेको छ ।

तपाईको प्रतिक्रिया