शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन् । एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका कुम्बलेले कप्तान विराट कोहलीसँगको मतभेदका कारण पदबाट राजीनामा दिएका हुन् ।

कुम्बलेले ट्वीटरमा आफ्ना बयान जारी गर्दै कप्तान कोहलीसँगको मतभेद नै राजीनामाको कारण स्वीकार गरेका हुन् । आफ्नो स्टाइलमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को तर्फबाट थाहा पाएको कुम्बलेले बयानमा उल्लेख गरेका छन् ।

बिसिसिआईले आफू र कप्तान कोहलीबिच रहेको मतभेद हटाउने प्रयास गरेको तर समझदारी बने पनि त्यो स्थिर हुने नदेखिएकाले आफूले राजीनामा दिएको उनको भनाई छ । कुम्बलेले आफ्नो प्रशिक्षणको एक वर्षको अवधीमा भारतीय टिमले पाएको उपलब्धीको श्रेय कप्तान, पूरै टिम, कोचिङ तथा स्पोर्ट स्टाफलाई जाने बताएका छन् ।

बेलायतमा भएको च्याम्पियन्स ट्रफी क्रिकेटअघि कोहलीले कुम्बलेसँगको असमझदारीको कुरा अस्वीकार गरेका थिए । भारत गएको आइतबार भएको च्याम्पियन्स ट्रफीको फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनले पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया