शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – दुई चरणमा हुन गईरहेको स्थानीय निर्वाचन, मत गणना, संबिधान संशोधन प्रस्ताव र बजेट लगायतका बिषयमा छलफल गर्न शुक्रबार सर्बदलीय बैठक भएको छ ।

बालुवाटारमा भएको व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने शीर्ष दलहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन दुई चरणमा गरेर एकसाथ मतगणना गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
शीर्ष नेताहरु उपस्थित बैठकमा प्रधानमन्त्री प्रचण्डले दुई चरणमा निर्वाचन गरेर दुई चरणमै मतगणना गर्दा प्राविधिक समस्या आउने भएकोले एकैपटक मतगणना गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ ।

‘वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, दुवै चरणको चुनाव सम्पन्न भएपछि एकैपटक मत गणना गर्न निर्वाचन आयोगलाई अनुरोध गरिने छ ।’
पहिलोपटक संसद्मा सम्मिलित सबै दलको छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विद्येयकलाई टुंगोमा पुर्‍याउन सरकारको तर्फबाट अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । प्रचण्डले सबै दलको सहमतिका आधारमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउन आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी समेत गराउनुभएको छ ।

शीर्ष नेताको बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल भएको थियो । बैठकमा दलका नेताहरुले प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको एजेण्डामाथि आ-आफ्ना धारणा राख्नुभएको थियो ।

सर्बदलीय भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष सुवास नेम्बाङ, नेता अग्नी खरेल, राप्रपा नेता पशुपति शमसेर राणा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा लगायत संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी थिए । प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापा भने बैठकमा उपस्थित थिएनन् ।***

तपाईको प्रतिक्रिया