शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

० बैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाइने
० बैंकिङ च्यानलमार्फत मात्र पैसा पठाउन अपील गरिने
० निर्माण क्षेत्रका दक्ष कामदारलाई नेपाल फर्कन आह्वान गरिने

टोकियो – गैर आवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय पाँचौ बैठक आइतवार मलेसियामा बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
मार्च १८ देखि १९ दुई दिनसम्म चलेको क्वालालम्पुर बैठकले मध्यपूर्व र मलेसिया लगायत विभिन्न गन्तव्य मुलुकहरुमा बैदेशिक रोजगारमा विद्यमान ठगी, अनियमितता, अपारदर्शिताको अन्त्य गरी कामदारहरुको अधिकार र सुविधाको संरक्षण गर्दै बैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र न्यायपूर्ण एवं सुविधायुक्त बनाउनेमा जोड दिएको छ । त्यसका लागि न्युनतम तलब, फ्रि भिसा फ्रि-टिकट लगायतका सरकारी निर्णयसहित मौजुदा कानूनको अक्षरशः कार्यान्वयन गराउन र दण्डहिनताको अन्त्य गरी पीडित कामदारहरुको शिघ्र उद्धार, न्याय र क्षतिपूर्तिको सुनिश्चिताको लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यमा ‘दक्ष जनशक्ति, उद्यमशीलता समृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नारासहित विभिन्न १७ देशका १ सय ५० प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा सम्पन्न भएको सो बैठकले मलेसिया, थाईल्याण्ड र म्यानमारमा पुस्तौंदेखि बसोबास गरीआएका नेपाली मुलका बासिन्दाहरुलाई गैर आवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ भने बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई कतिपय नेपाली मुलका नागरिकहरुले नै गरिआएको शोषण र ठगी कम गर्न सम्बन्धित गन्तव्य मुलुकको नेपाली राजदूतावास र संघको सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत पहल गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन बिदेशमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदा बैंकिङ च्यानल मात्र प्रयोग गर्न अपिल गर्ने र भूकम्पपछिको पुनःनिर्माण शुरु भइरहेको अवस्थामा देशमा निर्माण क्षेत्रका दक्ष जनशक्तिको ठूलो खाँचो देखिएकोले उक्त क्षेत्रमा बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई नेपाल र्फकनको लागि प्रोत्साहन गर्ने लगायतका निर्णय पारित गरेको छ ।

उक्त क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. महतले संबिधान कार्यान्वयनको विकल्प नरहेको बताए । उनले अब एक अर्कालाई गाली गर्ने मानसिकताबाट मुक्त भएर बिकासको मार्गमा सबै लाग्नुपर्नेमा जोड दिए । मन्त्री डा. महतले मुलुकबाहिर बस्ने नेपालीहरुको देश बिकासप्रतिको चासो र चिन्ता स्वागतयोग्य रहेको पनि बताए ।

सो अवसरमा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरिञ्जिवी नेपाल, मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्नेत, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्त, महासचिव डा. बद्रि केसी, ब्यवसायी हेमराज ढकाल लगायतका बिशिष्ट ब्यक्ति तथा एनआरएन अगुवाहरुको बिशेष सहभागिता रहेको थियो । कार्यक्रम एशिया प्यासिफिक क्षेत्रीय संयोजक किरणविक्रम थापाको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया