शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

बिरामी हुँदा जीवन बचाउनका लागि नभई नहुने तत्व अर्थात् औषधी । बिरामी पर्दा औषधीको विकल्प कल्पनासम्म पनि गर्न सक्दैनौं । तर औषधीको प्रयोग जथाभावी गर्दा यसले भविष्यमा नकारात्मक असर मात्रै गर्दैन, औषधीले काम नै नगरेर मानिसहरुको मृत्यु समेत हुन सक्छ ।

चिकित्सकीय भाषामा ड्रग रेजिस्टेन्स भन्ने एउटा शब्द पछिल्ला दिनमा ज्यादै प्रयोग हुने गरेको छ । ड्रग रेजिस्टेन्स भनेको औषधीले काम नगर्ने भन्ने हो । अझ सरल भाषामा भन्दा पहिले प्रयोग गरिएको औषधी वा कम मात्राको औषधीले किटाणुलाई मार्नुको साटो किटाणु झनै एक्टिभ हुनु भन्नु हो ।

सन् १९७० सम्म एन्टिबायोटिकऔषधीको खोज तथा अनुसन्धान ज्यादै तीब्र थियो र यसबीचमा धेरै एण्टीबायोटिकको पत्ता लाग्यो । तर, १९७० देखि १९९० सम्म आइपुग्दा मानव शरीरमा संक्रमण हुने भाइरस अर्थात् किटाणुहरुको वृद्धि भयो भने ती किटाणुहरु झनै बलियो बनेर आए । तर, यसबीचमा नयाँ एण्टीबायोटिकको खोज तथा अनुसन्धान खासै भएनन् । अझ १९९० देखि २०१७ को सुरुवातसम्म आइपुग्दा त नयाँ एण्टीबायोटिकको खोजी तथा अनुसन्धान हुँदै भएन भनेपनि हुन्छ ।

स्थिति यति धेरै भयावह बन्दै गयो कि क्षयरोग जस्ता रोगका लागि प्रयोग गरिने पहिलो चरण अर्थात् फस्ट लाइनका औषधीहरु आइसोनियाजीड, प्याराजाइनामाइड, इथामबुटोलजस्ता एन्टिबायोटिकले कामै गर्न छाडिसकेका छन् । र कतिपय व्यक्तिलाई त दोस्रो चरण अर्थात् सेकेण्ड लाइनका औषधी पनि बेकामे बनिरहेका छन् । यसको अर्थ यो हो कि एन्टिबायोटिकभन्दा शरीरमा संक्रमण गर्ने किटाणु अझ बढी शक्तिशाली बनिरहेका छन्, जसलाई एन्टिबायोटिकरेजिस्टेन्स अर्थात् औषधीले काम गर्ने क्षमतामा कमी आउनु भनिन्छ ।

के हो एन्टिबायोटिकरेजिस्टेन्स ?
औषधीले काम गर्ने क्षमतामा कमी आउनु नै एन्टिबायोटिकरेजिस्टेन्स हो । पहिला खाने औषधीले पछि काम नगर्नु वा कम काम गर्नु नै एन्टिबायोटिकरेजिस्टेन्स हो । मानिसहरु बिरामी पर्दा खाने एण्टीबायोटिकमा मात्रा तोकिएको हुन्छ । किटाणुको षमता र असरअनुसार चिकित्सकले एण्टीबायोटिकको प्रयोग र त्यसको मात्रा निर्धारण गर्छन् । तर चिकित्सकले दिएको एण्टीबायोटिकले काम नगर्ने र झनै बिरामी पार्ने प्रक्रिया नै एन्टिबायोटिकरेजिस्टेन्स हो ।

किन हुन्छ ड्रग रेजिस्टेन्स ?
शरीरमा उत्पन्न भएको वा कतैबाट सरेर आएको किटाणु अर्थात् ब्याक्टेरिया मार्नका लागि प्रयोग गरिने औषधीले काम गर्न छाड्नुलाई ड्रग रेजिस्टेन्स भनिन्छ । पछिल्ला दिनमा विश्वभर नै ड्रग रेजिस्टेन्सको समस्याले सबैलाई चिन्तित तुल्याएको छ । रेजिस्टेन्सको मात्रा यति बढेको छ कि क्षयरोग, एड्स आदिका रोगीलाई दिने एण्टीबायोटिकको प्रभाव ज्यादै कम हुन थालेको छ । यसको मुख्य कारण भनेको औषधीको जथाभावी र वढी प्रयोग नै हो । त्यसबाहेक बढ्दो प्रदुषण र नयाँ नयाँ किटाणुको उत्पत्तिले पनि यस्तो समस्या झन् झन् बढाउँदैछ । अझ रोग छिटो निको पार्न भन्दै बढी मात्रा (डोज)को औषधी सेवन गर्ने, चिकित्सकको सल्लाहबिना आफूखुशी एन्टिबायोटिक औषधीको प्रयोग गर्ने र अनियमित तरिकाले औषधी सेवन गर्नाले ड्रग रेजिस्टेन्स बढाइरहेको छ ।

मल्टी–ड्रग रेजिस्टेन्स झन् डरलाग्दो
अहिले ड्रग रेजिस्टेन्स मात्रै नभएर मल्ट्री ड्रग रेजिस्टेन्स अर्को ठूलो समस्या बनेको छ । मानिसहरु बिरामी हुँदा पहिले एउटै औषधी मात्रै चलाए पुग्ेमा अहिले दुई वा दुईभन्दा बढी औषधीको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । शरीरमा भएको ब्याक्टेरिया औषधी भन्दा शक्तिशाली बनेपछि यसरी मल्ट्री ड्रगको प्रयोग बढिरहेको छ । तर पछिल्ला दिनमा मल्टी ड्रगको प्रभाव पनि कम हुँदै गएका छन्, जुन चिन्ताको विषय हो । अझ अहिले त बाल बच्चादेखिनै बढी मात्रा (हाई डोज)को औषधीको प्रयोग गरिने गरिएको छ । जसका कारण भविष्यमा यी बालबच्चा फेरि बिरामी परेमा सोही औषधी अर्थात् एन्टिबायोटिकले काम नगर्न पनि सक्छ । यस्तो हुँदा बिरामीलाई औषधीले काम नगरेर ज्यान नै जान पनि सक्छ ।

दाह्री काटेको घाउले ज्यान जान सक्छ
पछिल्लो आधा दशक अर्थात् सन् १९७० देखिको अवस्था हेर्ने हो भने नयाँ र प्रभावकारी एन्टिबायोटिकको पत्ता लाग्न सकेको छैन । सन् १९५० देखि ७० को २० वर्षलाई हेर्ने हो भने एन्टिबायोटिकको खोज तथा अनुसन्धानलाई सफल समय मानिन्छ । यसबीचमा धेरै एन्टिबायोटिकको खोज तथा अनुसन्धान र उत्पादन भएको छ । तर १९७० पछि एण्टीबायोटिकको खोजमा नैरस्यता आएको छ । अहिले संसारभर आतङ्क मच्चाएको एचआइभी भाइरस पनि सन् १९७० को दशकपछि अझ शशक्त भएर आएको हो । १९७० मा न्युयोर्कका पहिलोपटक मानिस एचआइभी एड्सका कारण मरेको अनुसन्धानले देखाएको छ । जुन एचआइभी भाइरसलाई मार्न सक्ने एन्टिबायोटिक अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अहिले हामीले प्रयोग गरिरहेको एण्टीबायोटिकहरु सन् १९७० कै दशकमा पत्ता लागेका औषधीहरु हुन् । तर, त्यतिबेलाको किटाणु अर्थात् ब्याक्टेरियाको क्षमता र अहिले मानवशरीरमा भेटिने किटाणुको क्षमतामा व्यापक वृद्धि भएको छ । पछिल्ला दिनमा एण्टीबायोटिकले काम गर्ने क्षमतामा आधाभन्दा बढी कमी आएको छ । यदि ड्रग रेजिस्टेन्सको यही अवस्था रहेको अबको ५० वर्षमा दाह्री काट्दा भएको घाउको कारण इन्फेक्सन बढेर मानिसको मृत्यु हुन सक्नेछ ।

एन्टिबायोटिकको प्रयोग कम गर्न चिकित्सको आग्रह
बढदो ड्रग रेजिस्टेन्सले गर्दा भविष्यमा बिरामीको उपचार नभएर मृत्यु हुने सम्भावना दैनिक बढिरहेको छ । चिकित्साविज्ञानमा उपलब्ध एण्टीबायोटिककमो प्रभाव र्दैनिक कम हुँदै गएको छ । अझ नेपालजस्ता अविकसित र अल्पविकसित देशहरुमा एण्टीबायोटिकको प्रयोग र मात्रा बढिरहेको छ । जसको कारण भोलि औषधीको अभावले चाँडो मृत्युवरण गर्ने नागरिकहरुमा नेपाल र नेपालजस्ता देशका नागरिकहरु पहिलोपंक्तिमा हुनेछन् । त्यसबाहेक मल्ट्री ड्रग रेजिस्टेन्सका कारण धेरै औषधी प्रयोग गर्नुपर्ने कारणले एकातिर मानिसहरुको उपचारमा बढी पैसा खर्च हुने गरेको छ भने अर्कोतिर भविष्यमा कुनै औषधीले काम नै नगर्ने डरलाग्दो अवस्था सिर्जना हुँदैछ ।
अहिले नेपालको उपचार प्रक्रिया महङ्गो पनि छ । यदि सरकारी अस्पतालमा नगएर निजी अस्पतालमा उपचारका लागि जाने हो भने निम्न र मध्यम वर्गका मानिसहरुले उपचार गर्न सक्ने अवस्था नै छैन । यस्तो अवस्थामा उनीहरु सोझै मेडिकल अर्थात् औषधी पसलमा गएर औषधी किनेर खाने गरेका छन्, जसले ड्रग रेजिस्टेन्स बढाउन सबैभन्दा बढी भूमिका खेलिरहेको छ ।

(औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँगको कुराकानीमा आधारित)

 

तपाईको प्रतिक्रिया