शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमडौं – मिर्गौला रोग र मोटोपन ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ आज नेपाल सहित विश्वभरी मृगौला दिवस मनाईदै छ । सन् २००६ बाट विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

मृगौला दिवसको अवसरमा नेपालमा सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने तयारी गरेको छ । मिर्गौलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकूँन भनेर डायलासिस जस्तै आगामी वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने तयारी गरिरहेको स्वास्थ्यमन्त्री गगनकुमार थापा बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्री थापाकै पहलमा मृगौलाको संपूर्ण डायलासिस निःशुल्क गर्ने व्यवस्था भने यसअघि नै भईसकेको छ । हाल नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।

साथै देशभरका सरकारी स्वास्थ्य संस्थाहरुमा मृगौला परिक्षणका लागि डिपस्टिक टेष्ट निशुल्क गरिएको छ । स्वास्थ्य मन्त्रालयले मृगौला डायलाइसिस सेवा विस्तारका लागि सवै अंचल अस्पतालहरुलाई दुई दुई ओटा मेसिन किन्ने व्यवस्था गरिसकेको छ भने झण्डै एक दर्जन निजि अस्पतालहरुलाई पनि डायलासिस सेवा सुरु गर्न अनुमती दिएका छ ।

निजि अस्पतालहरुमा भएको डायलासिस सेवाको पनि सरकारले पैसा तिरिदिने व्यवस्था गरिएको छ । नेपालमा अहिले झण्डै दुई हजार जनाले नियमिति रुपमा डायलासिस सेवा लिइरहेका छन भने बार्षिक २ सय जनाले मृगौलाको प्रत्यारोपण गर्ने गरेको मानवअंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रमा मात्रै दैनिक ४५ ओटा मेसिनबाट १२० जनाको डायलासिस हुने गरेको छ भने बार्षिक १५० जनाको प्रत्यारोपण हुने गरेको उहाँले बताउनु भयो । नेपालमा बार्षिक ३ हजार जना नयाँ मृगौलाका रोगी थपिने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्।

यसैबिच,
पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष्दिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ । जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आएपनि खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ ।

खाडीमुलुकमा गएका युवा लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर ९नदुख्ने औषधि० खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्ले बताउनुहुन्छ ।

शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो ।

तर पर्याप्त पानी पिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको हो । पानी मात्र होइन खानामा आएको परिवर्तनले मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ ।मोटोपनले पनि मिर्गौला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सम्बद्ध चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। त्यसरी मोटोपन हुनु मिर्गौलामा समस्या हुने सङ्केत बन्ने सम्भावना रहन्छ ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा दिव्यसिंह ठकुरी मधुमेह, र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलामा समस्या बढी देखिने बताउनुहुन्छ । यस्ता कारणले मात्र पनि मिर्गौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

हामीले चौबिस घन्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक छ तर मिर्गौलामा कुनै समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । पिसाबमा फिँज देखिन्छ, जिउ सुनिन्छ, स्वास फेर्न गार्हो हुन्छ, रक्तचाप बढ्छ, खानामा रुची घट्दै जान्छ र खानै मन नलाग्ने पनि हुन्छ । यीमध्ये कुनै पनि समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ ।

नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

डा ठकुरीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब तीन हजार अन्तिम अवस्थाका मिर्गौलाका नयाँ रोगी थपिने गरेको र उनीहरु डायलासिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दशमध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या हुन्छ ।

त्यसैले मिर्गौला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्नेमा उहाँको सुझाव छ । समयमै ध्यान पु¥याउन सके सबै मिर्गौला रोग निको हुने हुन्छ।

तपाईको प्रतिक्रिया