शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नागरिकको दैनिक जनजीवनसँग जोडिएको मोबाइल फोन गुणस्तरीय नभएको भन्दै सरोकार भएका व्यक्तिले गुनासो गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको १९ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा नागरिकले पैसा तिरेर लिने सेवासमेत गुणस्तरीय र वैज्ञानिक नभएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरिएको हो ।

फोनमा कुरा गर्दा प्रष्ट नसुनिने, बोल्दाबोल्दै लाइन काटिने तथा आवाज जुध्नेजस्ता समस्या विद्यमान रहेको भन्दै उहाँहरूले सुधारको प्रयास गर्नुपर्ने र नभएको खण्डमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मोबाइल फोनमा देखिएको समस्या सुधारको प्रयत्न गर्दा देखिने र अनुभव गर्न सकिने गरी सुधार गर्न प्राधिकरण लाग्नुपर्ने बताउनुभयो ।

“मलाई पनि धेरैले गुनासो गरेका छन्, सेवा प्रदायकलाई सचेत र सर्तक बनाउने काम मन्त्रालयको त हुँदै हो, त्यसमाथि नियमक निकायका रुपमा रहेको प्राधिकरणको बढी छ । तत्काल सुधारको प्रयास गर्नुस्”– सचिव गुरुङले भन्नुभयो ।

उहाँले प्रविधि, सेवा प्रदायक अघि र नियमक निकाय पछि पछि हुने प्रवृत्तिको अन्त्य गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो । प्राधिकरणका अध्यक्ष दीगम्बर झाले सेवा प्रदायकलाई सेवाग्राहीप्रति सचेत र सजग गराउन प्राधिकरण लागिपरे पनि मोबाइल फोनमा देखिएको समस्या समाधान हुन नसक्नु दुःखद् रहेको बताउनुभयो ।

प्राधिकरणका निर्देशक आनन्दराज खनालले प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरेर प्राधिकरण सेवाप्रदायकलाई जवाफदेही र जिम्मेवार बनाउन लागिपरेको छ भन्नु भयो । रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकमा टेलिकममार्फत सेवा पुर्याउने कार्य सुरु भएको र अन्य जिल्लामा पनि छिट्टै प्रक्रिया सुरु हुने बताइयो ।

यस्तै मुलुकभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्य गरी अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया