शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रम मदिरारहित गर्ने नीति लिएको छ । सरकारले यो नीति लिएसँगै अब भोज भतेरहरुमा मदिरा सेवन गर्न नपाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने व्यवस्था मिलाइने उल्लेख छ । सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने नीतिमा छ ।

साथै बिहान ५ बजे देखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ । मन्त्रिपरिषदबाट सोमबार पारित गरिएको नौ बुँदे उक्त नीतिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तीमा एक लिटरभन्दा बढी खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ । सरकारले मदिराको हानिकारक सेवनलाई न्युनीकरण गर्न राष्ट्रिय मदिरारहित दिवस मनाउने नीति समेत लिएको छ ।

एक्काईस वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था मिलाईनुका साथै त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्धनात्मक व्यवस्था मिलाईने मन्त्रालयले जनाएको छ । सरकारको यो नीति कार्यान्वयन गर्न चाडै नै कानुनी व्यवस्था गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिनुभयो ।

सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरञ्जन स्थलहरु, निश्चित धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु र नेपाल सरकारले आवश्यक ठानेका अन्य स्थानहरुलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने छ ।

तपाईको प्रतिक्रिया