शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले पनि कल्पना गरेका थिएनन् । कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर । समयले यसरी कोल्टे र्फेयो कि पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला, हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल ।

डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ । तीन शिक्षकको दरबन्दी रहेको विद्यालयमा ७ जना विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेजी गरेको थियो । तर अभिभावक र विद्यालय व्यवस्थापनको मिहेनतले अहिले कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने नमुना विद्यालयको रूपमा नाम कमाएको छ जनजागृतिले । स्कुल खारेजी भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर विद्यालय फेरि सञ्चालनमा ल्याइयो ।

शिक्षाप्रेमी सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने। तत्कालै शिक्षण विधि फेरियो । पढाई कक्षामा होइन स्थलमै लगेर विद्यार्थीलाई सिकाउने गरियो । ‘अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाय हुने गरेको छ । जमिन जंगल र जलसम्मको पठनपाठन हुन्छ,’ अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई बारीमा गएर सबै बारीसम्बन्धी शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिलै भुल्दैनन् ।’

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताए ।

तपाईको प्रतिक्रिया