शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

चितवन  – कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याउन यहाँको प्राविधिक टोली त्यहाँ पुगेकोे छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा अर्का एक डाक्टर र तीनजना वन्यजन्तु प्राविधिकको टोली आइतबार बेलुका कोसी टप्पु पुगेको हो ।

डा. गैरेका अनुसार सोमबारदेखि आरक्षभित्र कहाँबाट के कस्ता अर्ना लैजान सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन हुँदैछ । आरक्षको भागलपुर, पत्थरी, कमालपुरलगायतका क्षेत्रबाट अध्ययन थालिने उहाँले बताउनुभयो । तीन÷चार वर्ष उमेरका अर्ना ल्याइने तयारी गरिएको छ । समाउनुअघि बेहोस पार्नुपर्ने वा नपर्ने (डार्ट) त्यसको यकिन नभइसकेको गैरेले बताउनुभयो ।

अर्ना ल्याउने तीनवटा खोरसहित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको नेतृत्वमा सहायक संरक्षण अधिकृत, प्रकृति संरक्षण कोषका प्रतिनिधिलगायतको टोली भोलि त्यसतर्फ जाँदैछ । कँडेलका अनुसार पहिलो चरणमा एउटा भाले र एउटा पोथी अर्ना ल्याउने तयारी गरिएको छ । यसअघि गैंडा स्थानान्तरणको समयमा बनाएको एउटा खोर र अहिले अर्नाका लागि बनाइएको दुईवटा खोर ट्रकमा राखेर भोलि त्यसतर्फ लगिँदैछ ।

मन्त्रीको उपस्थितिमा माघ १४ गते चितवन राष्ट्रिय निकुञ्जमा अर्ना छाड्ने तयारी गरिएको छ । वनमन्त्रीले समय उपलब्ध गराएपछि त्यहीअनुरुप काम अगाडि बढाएको भए पनि प्राविधिक काम भएकाले त्यसै दिनसम्म ल्याउन सकिने वा नसकिने यकिन भने भइसकेको छैन । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण कार्य सम्पन्न भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ ।

भूईँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको उहाँले बताउनुभयो । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । यससँगै कोसीटप्पु वन्यजन्तु आरक्षबाट पाँच भाले र १५ वटा पोथी अर्ना ल्याउने निकुञ्जको योजना छ । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि ल्याइँदैछ । अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २५ वटा बाह्रसिङ्गे ल्याइने भएको छ । पाँचवटा भाले र २० वटा पोथी बाह्रसिङ्हे ल्याउन लागिएको कँडेलले बताउनुभयो ।

इन्क्लोजरभित्र ४०० मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो । एकै ठाउँमा रहेका वन्यजन्तु अर्काे ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ ।

गएको वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा, बाघ, हात्तीलगायतका जनावर हेर्न वर्षेनी दुई लाख हाराहारी पर्यटक आउने गर्छन् । अर्ना र बाह्रसिङ्गेसमेत यहाँ थपिएपछि पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया