शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । संसदमा एक÷एक सिट भएका समाजवादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई सरकारमा सहभागी गराउनुभएको हो ।

राष्ट्रपति भवन शीतल निवामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंह र खड्कालाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । सिंहको समाजवादी जनता दललाई भने निर्वाचन आयोगले खारेज गरिसकेको छ ।

सिंहले खानेपानी तथा सरसफाई मन्त्रालय र खड्काले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । अघिल्लोपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि सिंह खानेपानी तथा सरसफाई मन्त्री हुनुहुन्थ्यो । उहाँ अहिलेसमेत गरी पाँचपटक मन्त्री हुनुभएको छ भने खड्का पहिलो पटक मन्त्री बन्नुभएको हो । दुई मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय पुगेको छ ।

संविधान संशोधन प्रस्ताव पारित गराउन दुई तिहाइ बहुमत पुर्याउन प्रधानन्त्री दाहालले एक सिट भएका दललाई समेत सरकारमा सहभागी गराउनुभएको हो । राप्रपाबाट थप मन्त्री थप्ने र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सहभागी गराउने तयारी भइरहेको छ ।

यसैबीच, सरकार विस्तारप्रति सार्वजनिक रुपमा आलोचना भइरहँदा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले साना दललाई सरकारमा ल्याउनु प्रधानमन्त्रीको महानता भएको टिप्पणी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया