शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – लाइसेन्स लिने प्रक्रियालाई आधा घन्टादेखि १ घन्टामा सीमित गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको घोषणा सार्वजनिक खपतका लागि मात्र भएको पुष्टि भएको छ ।

गत बिहीबार सवारीचालक अनुमतिपत्र फाराम भरेका सेवाग्राहीले सोमबारसम्म पनि प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । यसका साथै कहिले उनीहरूको पालो आउँछ भन्ने कार्यतालिका समेत सवारीचालक अनुमतिपत्र कार्यालयले सार्वजनिक गरेको छैन । कार्यालयका कर्मचारीका अनुसार बिहीबार फाराम भरेका सेवाग्राहीको शुक्रबार लिखित परीक्षा र आइतबार प्रयोगात्मक परीक्षा (ट्रायल) हुनुपर्ने थियो । जसअनुसार शुक्रबार लिखित परीक्षा र परीक्षाफल सार्वजनिक गर्नुपर्ने थियो । तर, परीक्षा दिएका करिब ६ सयजनाको सोमबारसम्म परीक्षाफल सार्वजनिक गरिएको छैन । कार्यालयले सोमबार कार्यालय आउन आइतबार सूचना जारी गरेको थियो । तर, सोमबार कार्यालय पुगेका सेवाग्राहीको लाइसेन्स लिने प्रक्रिया अघि बढ्न सकेन । 

यसका साथै सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाले गत बिहीबारदेखि थप लाइसेन्स फाराम लिएको छैन । यसरी ढिलाइ हुनुमा कम्प्युटर प्रणालीकृत सर्भरमा निरन्तर समस्या आउनुलाई मानिएको छ । सर्भरमा आएको समस्याकै कारण दु्रतगतिमा सेवा प्रदान गर्न नसकिएको सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले बताए । एकान्तकुनामा बढ्यो चाप मन्त्रालयले पछिल्ला दुई हप्ताको अवधिमा काठमाडौं उपत्यकामा थप दुईवटा सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालय सञ्चालनमा ल्याएको छ । त्यस्तै, अनलाइनमार्फत सवारीचालक अनुमतिपत्रको फाराम भर्न सकिने व्यवस्था गरेको छ । यसले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स)को फाराम भर्न मध्यरातदेखि लाग्ने भीड केही दिनयता घटेको थियो । तर, सर्भरमा आएको समस्याले पुनः पहिलेकै जस्तो भीड हुन थालेको छ । नयाँ खुलेका कार्यालयमा सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने काम मात्र हुने गरेको छ । यसले पनि भीड बढेको हो ।

कार्यालय बढे ‘ट्रायल सेन्टर’ बढेनन्
सरकारले उपत्यकामा सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालयको संख्या तीन (एकान्तकुना, स्वयम्भू र जगाती) पु¥याइसकेको छ । यही हप्ता चाबहिलमा पनि थप एक कार्यालय खोलेर चारवटा कार्यालय सञ्चालनमा आउनेछन् । तर, उपत्यकामा लाइसेन्स प्राप्त गर्न आवश्यक पर्ने प्रयोगात्मक परीक्षा (ट्रायल)का लागि दुईवटा मात्र केन्द्र छन् । रामशाहपथस्थित नेपाल ट्रेडिङ लिमिटेडको भवन रहेको स्थानमा चारपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षा हुने गरेको छ भने मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुईपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षा हुने गरेको छ । थप गरिएका स्वयम्भू र जगातीमा प्रयोगात्मक केन्द्र छैन । यस्तै यही हप्तादेखि सञ्चालनमा आउने भनिएको चाबहिल कार्यालयमा पनि प्रयोगात्मक केन्द्र छैन । प्रयोगात्मक केन्द्रविनाका कार्यालयले सवारीचालक अनुमतिपत्रको नवीकरणबाहेक अन्य काम गर्न सक्दैनन् । आइतबार भक्तपुरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘जति कार्यालय, त्यति ट्रायल सेन्टर’ व्यवस्था गरिने बताएका थिए ।

सर्भरको समस्या समाधान भइसक्यो
यातायात विभाग यातायात व्यवस्था विभाग, सूचना प्रविधि शाखाका इन्जिनियर राजकुमार महर्जनले सर्भरमा आएको समस्या समाधान भइसकेको जानकारी दिए । ‘नयाँ खुलेका तीनवटा कार्यालयलाई विभागबाट लिंक दिने गरिएको थियो । तर, एकान्तकुनामा रहेको प्रणालीसँग जोडिएको लिंक ‘डिसेबल’ हुँदा काम रोकिएको हो । अन्य कार्यालयमा भने समस्या देखिएको छैन,’ उनले भने । त्यस्तै, शुक्रबार लिखित परीक्षा दिएका आवेदकको लाइसेन्स प्रक्रिया पनि मंगलबारदेखि कार्यतालिकाअनुसार अगाडि बढाइने उनको भनाइ छ । एकान्तकुनामा अहिले सडक विस्तारको काम भइरहेको र भवनबाहिरका पोलहरू हल्लिँदा पनि सर्भरमा असर पुग्दा समस्या देखिएको इन्जिनियर महर्जनले दाबी गरे ।

तपाईको प्रतिक्रिया