शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – काठमाडौं महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले हालसालै मात्र बिभिन्न कार्यक्रमको सिलसिलामा जापान भ्रमण गर्नुभयो । हाम्रो राजधानीलाई ब्यबस्थित र बिकसित बनाउने मुख्य कार्यभार सम्हाल्दै आएको काठमाडौं महानगरपालिकाले जापानबाट के सिक्न सक्छ र उहाँको जापान भ्रमणको मुख्य उपलब्धि के रह्यो ? यी र यस्तै समसामयिक बिषयमा समुद्रपारि डटकमका लागि हाम्रा सहकर्मी गोविन्द मरासिनीले कार्यकारी अधिकृत तामाङसँग गर्नुभएको कुराकानीको सम्पादित अंश: जापान भ्रमणको उपलब्धि के रह्यो ?
खासगरी, म जापानमा ‘पाँचौ एसियाली स्मार्ट सिटीहरु’ को कन्फेरेन्स थियो । जापानको योकाहामा सिटी र वल्ड बैंक एडिबी लगायत दातृ निकायहरुको संयुक्त रुपमा आयोजना भएको मेयर कन्फेरेन्स हो । त्यसमा २ वटा बिषयमा छलफल थियो एउटा सहरहरुलाई कसरी जिवन्त गर्ने र अबका सहरहरु कसरी स्मार्ट हुन्छन भन्ने नै थियो । सँगसँगै काठमाडौको फोहोर मैला ब्यबस्थापनमा जापान सरकारसँग जापानका बिभिन्न तहमा कुन ढंगबाट काम भईरहेको छ र हामी नयाँ ढंगबाट कसरी जाने, काठमाडौं ग्रिन कार्यक्रम भन्ने अर्को कार्यक्रम छ त्यसमा पनि जापानको एउटा टिम नै काम गर्न खोजिरहेको छ त्यस बिषयमा पनि केहि छलफल भयो । अर्को काम भनेको त्यहाँका हाउजिङ ब्युरोहरुसँग बसेर त्यहाँ कसरी काम भैरहेको छ हेर्नु र बुझ्नु थियो सम्रगमा यी सबै कुराहरुमा भ्रमण केन्द्रित भयो । उपलब्धि यहि नै भो भनेर गाह्रो हुन्छ तर हामीले एउटा सम्झौता पनि गरेका छौं, अब एसियाको स्मार्ट सिटीको नेटवर्क बढाउँदै लगेर हाम्रा बजेटका कार्यक्रमहरु हाम्रा आगामी दिनका योजनाहरु त्यै अनुसार निर्देशन गर्ने र त्यै अनुसार काम चाहि गरिन्छ । भूकम्पपछिको निर्माण कार्यमा त जापानसँग सहकार्यका साथ अगाडी बढिरहेकै छौं । उहाँका इञ्जिनियरहरु नेपालमा आउने र नेपालबाट जापानमा गएर टेनिङ लिने र टेक्नोलोजी आदानप्रदान गर्ने काम भैरहेकै छ ।

जापानका बिभिन्न सहरहरु पनि घुम्नुभो होला, जापान विकसित हुनुका सुत्र के रहेछन् ?
पहिला कुरो त मेहनत नै हो । मेहनत पनि सहि ढंगले गर्नुपर्‍यो । तोरीलाई मजासँग पेल्यो भने मात्र तेल निस्कन्छ, ढुंगालाई पेलेर त तेल निस्कदैन् नि । जापान कसरी बिकसित भो भनेर बाहिरबाट हेरेर अन्दाज मात्र लगाउने हो कसरी बिकास भएको छ भित्री कुराहरु धेरै होलान्, दर्दनाक इतिहास बोकेको छ । मेरो बिचारमा भन्नुहुन्छ भने नेतृत्व पनि त्यस्तै चाहियो, राजनीतिक स्थीरता पनि चाहियो, नागरिकहरुको योगदान चाहियो, भूगोलले पनि साथ दिनुपर्‍यो । एउटै चीजले मात्र जापान बिकास भएको होइन् धेरै चीज छन् ।

नेपालमा ती सुत्रहरु प्रयोग गर्न सम्भव छ त ?
हुबहुँ त मिल्दै मिल्दैन् । संसारका कुनै पनि देशले अर्को देशको अमेरिकाको सुत्र चाइनामा काम लाग्दैन्, चाइनाको सुत्र जापानले लिदैनन् जापानको जस्तो बिकास कोरियाले लिदैन । यो चाहि प्रत्येक देशमा आ–आफ्नो ढंगले गर्ने हो ।

जापान भ्रमणपछि काठमाडौं नियाल्दा कस्तो अनुभव भयो ? हाम्रो सहर पनि जापानजस्तै बनाऊँ भन्ने लाग्यो की ?
होईन, हाम्रो सहर जापानजस्तो बनाउन भन्ने त लागेन हाम्रो सहर हाम्रै जस्तै बनाउँ भन्ने चाँहि लाग्यो । बिकासका चाहि केहि मेरिट छन् केहि डेमेरिटहरु छन । ठ्याक्कै यहि ठिक हो यहि कपी गर्ने भन्ने हुँदैन त्यो भित्र पनि हाम्रो यहिको अवस्था अनुसार बिकास गर्नुपर्छ ।

जापानको अनुभव र देखाई राजधानीमा र महानगरमा पनि प्रयोग गर्ने हो कि खाली जापान घुमियो भनेर गफ लगाउने मात्र हुन्छ ?
त्यहाँका मान्छेको शालिनता, योगदान, बिज्ञता, जिम्मेवारी प्रतिको बोध त्यस्ता धेरै कुराहरु सिक्नुपर्ने नै छन ती त सबै हाम्रा लागि अनुकरणीय र सिक्नुपर्ने कुराहरु हुन । नेपालमा पनि सबैमा नभएको त होइन त होइन अवस्था अनुसार फरक हुन्छ । अब त्यो ठाउँमा जे छ त्यै अनुसारको वातावरण छ, अब हामीले त्यहाँको जस्तै हुबहुँ खोजेर हुँदैन हामीले हाम्रैं ढंगबाट जानुपर्छ । सिक्नुपर्ने त धेरै नै छन् त्यहाँको मन्त्री पनि सरकारी गाडी चढेर आउनुभएन उहाँ आफै पनि ट्रेन चढेर आउनुभो त्यहाँको यातायात सुविधा ब्यबस्थित र राम्रो रहेछ त्यसपछि प्राइभेट गाडीलाई निरुत्साहित गरेका कुराहरु, सरसफाइको कुराहरु, फोहोर ब्यबस्थापनका कुराहरु, टेक्नोलोजी प्रयोगका कुराहरु यी सबै कुराहरु सिक्न जरुरी छन् । जापानकै हेरेर मैले डिजास्टर लर्निङ सेन्टर बनाउनुपर्छ भनेर बिज्ञ नै नियुक्ति गरेर काम अगाडि बढिरहेको छ । 

तपाई महानगरमा आउँदा जुन उत्साह जनतामा थियो त्यो भएन भन्ने गुनासो छ । तपाई महानगरमा प्रमुख भएर आइसकेपछि प्रमुख सुधार के गर्नुभो ?
कुन चाहि कामलाई प्रमुख मान्ने कुरा हो परिवेश अनुसार फरक हुन्छन । स्मार्ट सिटीको योजना र स्मार्ट टेक्नोलोजी अगाडी बढाउने कुराहरु र काठमाडौंलाई डिजिटल बनाउने भनेर सिस्टम नै कागजबिहीन बनाउन खोजेका छौं त्यो प्रक्रिया केहि अगाडी बढेको छ । हाम्रा महानगरका जानकारीहरु मोवाइल एप्समा हेर्न सकिने ब्यवस्था भैसकेको छ पूर्वाधारका कामहरु पनि अगाडी बढिरहेका छन् । केहि नविन प्रविधि भित्राउनेदेखि लिएर फोहोरबाट बिजुली बाल्ने, काठमाडौंका सडक उज्यालो बनाउन बत्ती जडान गर्ने लगायतका मुख्य कामहरु भएका छन् । मन्दिरहरुको पुनःर्निर्माण सडक ब्यबस्थापन, अण्डरग्राउण्ड पार्किङहरु पनि अगाडी बढिरहेका छन् । सबै ठाउँमा केहि न केहि परिवर्तन गर्ने योजनाका किसिमले अगाडी बढिरहेका छौं ।

रानीपोखरी, शान्तिबाटिकालाई समेटेर ठुलो पार्क बनाउने योजना अनुरुप तामझामका साथ उद्घाटन त गरियो तर त्यो योजना कहाँ पुग्यो ? बन्दै गरेको रानीपोखरी त नियमविपरित बनाएर योजनाबाट हातै निकाल्नुभएछ हैन ?
त्यो पार्क बन्दैछ काम भैरहेको छ । होईन, त्यो पोखरीको बीचको मन्दिरको बिषयमा कुरो आएको हो । बाहिरी काम चाँहि हामीले नै गरिरहेका छौं मुल मन्दिर चाहि तपाईहरुले कसरी बनाउने हो त्यसरी नै बनाउनुस भनेर हामीले पुरातत्व बिभागलाई जिम्मा दिएका छौं ।

खानेपानी, ढल, रिङरोड, अब्यबस्थित बस्ती झन बढ्दो छ । यसमा महानगरले केहि गर्न सक्दैन दायित्व कस्को ?
तपाईले भनेका यी सबै कुराहरु त हाम्रो जिम्मामा पर्दैनन् । खानेपानी चाँहि हामी बोर्डमा भएकाले हाम्रो पनि दायित्व रहन्छ । सडक बिस्तारमा हाम्रो रोल हुन्छ यो त समय लाग्छ लगभग डेढसय भन्दा बढी सडक बिस्तार गर्नका लागि टुंगो लगाउने काम भैरहेकै छ ।

लगभग कति बर्ष लाग्ला काठमाडौं अलि ब्यबस्थित भएर जाम न्यूनिकरण हुनका लागि ?
जाम भनेको संसारको जुनसुकै ठाउँमा पनि हुन्छ । देश जति बिकसित भयो जति जनसंख्या बढ्यो त्यी जाम हुन्छ । बिकास भनेको कहिल्यै पनि सकिन्न यो त दिनका दिन गरिरहने काम हो । कहिँपनि कहिल्यै पनि बिकासको काम सकिन्न सकियो, भने त बिकास नै ठप्प भैहाल्यो नी ।

महानगरले बनाउने भनेको भ्यू टावर के हुँदैछ । किन अड्कियो काम ?
काम गर्छु भनेर कम्पनीले जिम्मा लिएको छ उसको केहि समय बाँकी छ अब सायद काम शुरु गर्ला यदि भएन भने पनि हामी किन भएन भने चासो देखाउने छौं ।

अन्त्यमा, तपाइले बनाउन खोजेको महानगर कस्तो हो र तपाईका काममा आखिर समस्या कहाँबाट आउँछ ?
हामी अहिले जुन संरचनामा छौं त्यो संरचनामा उभिएर मात्र कुरा गर्नुपर्ने हुन्छ । अहिलेको संरचनाले साँच्चिकै हामीले चाहेजस्तो महानगर बन्न र बिकास हुन सम्भव छैन । त्यो संरचना पनि परिवर्तन हुने क्रममा छ संबिधान कार्यान्वयनको क्रममा छ संबिधान कार्यान्वयन भैसकेपछि स्थानीय तहको अधिकार संबिधानमा प्रष्ट किटेर आइसकेको छ त्यो लागु भैसकेपछि नयाँ ढंगले जान सक्छ । अहिलेकै संरचनामा अलि गाह्रो भने भएकै हो ।

तपाईको प्रतिक्रिया