शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङका अनुसार विमानमा इन्धन सकिएकाले दुर्घटना भएको हो । Colombia Air Crash

अडियोमा पाइलटले बारम्बार इलेक्ट्रिक फेलियर र इन्धन सकिएकाले विमान अवतरणका लागि स्वीकृति मागेको सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एयर ट्राफिक टावरबाट प्राप्त टेपमा पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको भन्दै अवतरणका लागि अनुमति मागेको सुनिएको छ । दुर्घटना हुनु पूर्व विमान ९ हजार फिटको उचाइमा रहेको पनि सोही टेपबाट खुलेको छ । पाइलटले कोलम्बियाको एयर ट्राफिकसँग गरेको कुराकानीको टेप लिक भएको हो ।

दुर्घटनापछि विस्फोट नभएकाले पनि विमानमा इन्धन नरहेको कुरा पुष्टि गर्न सक्ने एक कोलम्बियन सैनिक अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । ६८ यात्रु र चालक दलका ९ सदस्य गरी ७७ जना रहेको जहाज कोलम्बियाको मेडेल्लिन शहर नजिक मंगलबार दुर्घटना भएको हो ।

विमानमा ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी, २१ जना पत्रकारसहितका यात्रु रहेका थिए । दुर्घटनामा ६ जना भने बाँच्न सफल भएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया