शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

उरुग्वे – उरुग्वेका पूर्वराष्ट्रपति जर्ज ब्याटलको ८८ वर्षको उमेरमा निधन भएको अस्पताल सूत्रले मङ्गलबार जनाएको छ । उहाँ २० औं शताव्दिका उरुग्वेका राजनीतिक हस्तीहरुमध्ये एक प्रमुख पात्रका रुपमा परिचित हुनुहुन्थ्यो ।

अक्टोबर महिनाको शुरुतिर आफ्नो राजनीतिक दलः कोलोर्याडो पार्टीमा आयोजित एक जमघट कार्यक्रममा सामेल भएका बखत पूर्वराष्ट्रपति ब्याटल एक पटक अकस्मात् लड्नु भएर नराम्ररी टाउको बज्रिई बेहोस हुनुभएको थियो । उहाँलाई तत्कालै स्थानीय सानाटोरियो अमेरिकानो अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल सूत्रले बताएअनुसार टाउको बज्रिएको कारण उहाँको मस्तिष्कमा अधिक रक्तश्राव भएकोले मस्तिष्कको अपरेसन गरिएको थियो । तर उहाँ बाँच्न भने सक्नु भएन । उपचारकै क्रममा उहाँलाई गत सोमबार अबेर राति मृत घोषित गरियो ।

पूर्वराष्ट्रपति ब्याटल बाह्यपक्षलाई बढी ध्यान दिने “बहिर्मुखी” र “मनमोजी” प्रबृत्तिको व्यक्ति भनी परिचित हुनुहुन्थ्यो । उहाँबाट पटक पटक राजनीतिक त्रुटिहरु हुने गरेकाले बारम्बार विवादमा तानिनु भए ता पनि मृत्यु हुनुअघिसम्म राजनीतिक जीवनमा सक्रिय नै रहनु भएको थियो ।

उहाँले सन् २००० देखि २००५ सम्म मुलुकको राष्ट्रपतिको पदभार सम्हाल्नु भएको थियो । उहाँले आफ्नो कार्यकालभरी मुलुकलाई “सुखदायी र आनन्दित” बनाउने दावी गर्नु भए ता पनि त्यसै बखत राष्ट्र कडा आर्थिक मन्दीको चपेटामा परेको थियो ।

तपाईको प्रतिक्रिया