शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

japan-to-americaटोकियो–‘कहाँ यहाँजस्तो हो र ! अमेरिका भनेको त अमेरिकै हो नि । अमेरिकामा भैदिएको भए अहिलेसम्म ग्रीन कार्ड लिएर सेटल भैसकिन्थ्यो होला तर यहाँ भविष्य नै छैन’–दुुईवटा भोकेसनल कलेजको पढाई सकेर फेरि यूनिभर्सिटी भर्ना भएका पोखराका श्याम खड्का (नाम परिवर्तन) ले एकै सासमा साथीहरु माझ अमेरिका मोह पोखे । उनी मिलेसम्म यतिखेर अमेरिका जान कस्सिएका छन् । चितवनकी मिना ढकाल (नाम परिवर्तन) पनि साथीहरुको लहैलहैमा अमेरिका जाने तानाबाना बुन्दैछिन् । ‘साथीहरुसँगै लागेर प्रोसेस गरियो नगर्नु पैसा खर्च भैसक्यो, मिल्यो भने त उतै जानुपर्ला नभए यहीं पनि ठीकै छ ।’

त्यसो त हालैका दिनमा घुम्नको लागि पनि जापानमा रहेका नेपालीहरुले अमेरिका रोज्ने गरेका छन् । जापानमै स्थापित व्यवसायीहरु मात्र नभई विद्यार्थी भिसामा जापानमा रहेर पर्यटक भिसामा अमेरिका जान चाहनेहरु प्रशस्तै भेटिन्छन् । काठमाण्डौका सुनिल थापा (नाम परिवर्तन) दुई पटक भिसा नपाएर पनि हरेश खाएका छैनन् । ‘अब एक पटक ट्राई गर्छु, कतै भिसा लागिहाल्छ कि ! र पनि भएन भने जापानमै कस्सिएर पढ्नुपर्ला’– उनले भविष्यको योजना सुनाए ।

अमेरिका गएर पढ्ने, सेटल हुने सपना देख्नेहरु मात्र होइन, त्यो भन्दा भिन्न रहर मनमा पालेकाहरु पनि छन् । ‘वीसौं वर्ष जापानमा दुःख गरियो, अब मर्नुभन्दा अगाडि एकपटक अमेरिका टेकेरै मर्ने इच्छा छ’–टोकियोमा व्यवसाय गर्दै आएका एक स्थापित व्यवसायीले आफ्नो अमेरिका मोह सुनाए ।
दशकबढी जापान बसेका रुक्मिणी थापा (नाम परिवर्तन) पनि यतिखेर छोरीलाई अमेरिका पढ्न पठाउने कागजपत्र तयारीमा लागि परेकी छिन् । ‘जापान आउँछु भनेर जापान ल्याईयो अहिले यहाँ बस्दिन अमेरिका जान्छु भन्छे, एउटै छोरीको ईच्छा कसरी पुरा नगरिदिउँ ?’ –उनले आफ्नो कथन सुनाईन ।
जापानबाट विद्यार्थी भिसामा अमेरिका जान चाहनेहरुको संख्या बढ्न थालेको बताउँछन्–कोर जापानका डाइरेक्टर नारायण देवकोटा । जापानी, कोरियन लगायतका विद्यार्थीहरु अमेरिका पढ्न पठाउने टार्गेट लिएको कोर जापानमा हालैका दिनमा नेपाली विद्यार्थीहरुको संख्या पनि बढेको छ । देवकोटाले भने–‘हामी विद्यार्थीको लागि मार्ग प्रसस्त गर्दछौं, जुन देशमा गए पनि जानुभन्दा अगाडि त्यहाँको अवस्था बुझेर जाँदा राम्रो हुन्छ । मेहनत गर्नेलाई जहाँ मेहनत गरेपनि अवसरहरु प्रशस्त छन, जानु अगाडि विद्यार्थीले आफ्नो उद्देश्य के हो प्रष्ट हुन आवश्यक छ ।’ खर्चको हिसावले विद्यार्थी भिसामा नेपालबाट गए पनि जापानबाट गए पनि एउटै भएको उनी बताउँछन् ।

जापानबाट भ्रमण तथा अध्ययनको लागि सीधै अमेरिका जान चाहनेहरु एकातिर छन् भने अर्कोतिर मेक्सिको, कोस्टारिका लगायतका देशहरुलाई ट्रान्जिट पोइन्ट बनाएर अमेरिका छिर्ने उद्देश्य बोकेकाहरु पनि उत्तिकै छन् । अघिल्लो वर्षमात्रै करीव एक दर्जन भन्दा बढी विद्यार्थी मेक्सिको हुँदै अमेरिका पुगेको कुरा सुनाउँछन् टोकियोका एक व्यवसायी । जति पढेपनि भाषामा प्रगति गर्न नसकेकै कारण विद्यार्थीहरुको अमेरिका मोह बढेको उनको अनुमान छ । त्यति मात्र नभइ लामो समयसम्म जापानमा रहेपनि अमेरिकाजस्तो ग्रीन कार्डको व्यवस्था नहुनु, व्यस्त दैनिकी अनि २८ घण्टाको काम गर्न पाउने समयसीमाका कारण विद्यार्थीहरुमा अन्य मुलुकप्रतिको मोह बढेको हुन सक्ने सम्बन्धित क्षेत्रका अगुवाहरुको ठम्याई छ । ***

तपाईको प्रतिक्रिया