शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सङ्टन डिसी – परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले नेपालको लोकतन्त्रको संस्थागत विकासका लागि गरिँदै आएका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई सुस्पष्ट ढङ्गबाट अवगत गराउन सकेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन अमेरिका आउनुभएका परराष्ट्र मन्त्री डा महतले अमेरिकास्थित रासस प्रतिनिधि मधुकर अधिकारीसँगको कुराकानीमा विश्वमा शान्ति स्थापनाका लागि नेपालले पु¥याउँदै आएको सहयोग, राष्ट्रसङ्घले अगाडि सारेको सन् २०३० को दिगो विकासको अवधारणाअनुसार गरिबी निवारण, जलवायु परिवर्तन, शान्ति र सहकार्यप्रति नेपालले व्यक्त गरेको प्रतिवद्धता यसपटक पनि महासभामा राखेको उल्लेख गर्नुभयो ।
नेपालले विश्व शान्तिका लागि गरेको योगदानलाई कदर गर्दै शान्ति स्थापनार्थ खटिने समूहको नेतृत्व पङ्क्तिमा नेपाली सेना र प्रहरीको पनि सहभागिताका लागि आफूले गरेको मागमा राष्ट्रसङ्घ सकारात्मक देखिएको र यसबारेमा महासचिव वान की मुनसामु पनि यो विषय राखेको उहाँले बताउनुभयो ।
महासचिव मुनले संवैधानिक व्यवस्थाअनुसार सबैसँग सहकार्य गर्दै जटिल भएका विषयको समाधान खोज्न र संविधान कार्यान्वयन गर्न नेपाल सक्षम भएको आफूलाई बताउनुभएको बताउँदै मन्त्री महतले भन्नुभयो, ‘‘भेटमा मैले मुनलाई नेपालको लोकतन्त्र, बहुलवाद, कानूनी शासन, पारदर्शी र उत्तरदायी सरकार जस्ता विषयहरुमा सरकारले काम गर्ने र शान्तिलाई एकीकृत गर्देै स्थायित्व र समृद्धि हासिल गर्न गरिरहेको प्रयत्नबारेमा स्पष्ट रुपमा जानकारी गराएँ । शान्ति प्रक्रियामा नेपालले गरेका कामप्रति खुसी हुँदै उहाँले बधाई पनि दिनुभयो । शान्ति प्रक्रियाका बाँकी कार्यलाई पनि प्रजातान्त्रिक ढङ्गबाट सबैको सहमति र सहकार्यमा टुङ्ग्याउन आग्रह पनि उहाँले गर्नुभएको थियो ।’’
आफूले महासचिवसँग आप्रवासनको अधिकारको विषय तथा खाडी देशहरुमा नेपाली श्रमिकले भोग्नुपरेका समस्याबारे पनि अवगत गराएको उहाँले बताउनुभयो ।
राष्ट्रसङ्घको महासभाकै दौरानमा विभिन्न क्षेत्रीय तथा सामरिक महत्वका धेरै बैठकहरुमा पनि आफू सहभागी भएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री महतले यस क्रममा नेपाल राष्ट्र सङ्घअन्तर्गतको अल्पविकसित देशको समूह, भुपरिवेष्ठित देशको समूह, सार्कका मन्त्रीहरुको सम्बन्धजस्ता विभिन्न मञ्चहरुमा सहभागी भएको जानकारी दिनुभयो । जी–७७, सार्क मन्त्रीस्तरीय बैठक, जलवायु परिवर्तनको छलफल, आप्रवासन र शरणार्थी सम्बन्धी छलफल जस्ता विषयहरुमा सहभागिता जनाएर नेपालको धारणा राखेको पनि उहाँले उल्लेख गर्नुभयो ।
नेपाल अध्यक्ष भएको नाताले सार्कको आगामी शिखर सम्मेलनको तयारीबारेमा जानकारी लिनेदेखि सार्कका विदेश मन्त्रीस्तरीय बैठकमा पनि यसबारेमा छलफल गरेको मन्त्री डा महतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया