शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– नेपालका यातना पीडितहरुको पीडालाई केन्द्रबिन्दुमा राखेर निर्मित ‘मरेर’ बाँचेकाहरु नामक बृत्तचित्र आइतबार राजधानीमा प्रदर्शन गरिएको छ ।
राजधानीमा जारी मानवअधिकार फिल्म सप्ताहमा आइतबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा यो डकुमेन्ट्री प्रदर्शन गरिएको हो । डकुमेन्ट्री हेर्न विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, सरकारी अधिकारी, संचारकर्मी र सर्वसाधारणको घुईंचो थियो ।
एड्भोकेसी फोरमद्वारा निर्मित ३३ मिनेटको यो डकुमेन्ट्री पत्रकार गणेश पाण्डेले निर्देशन, राजु भण्डारीले सम्पादन र बिनोद विष्टले छायाङ्कन गरेका हुन् । डकुमेन्ट्रीमा बाँके बर्दिया लगायतका जिल्लामा माओवादीको सशस्त्र द्वन्द्वका क्रममा राज्य र माओवादीको चरम यातनाबाट मरेतुल्य जीवन विताउन बाध्य सर्वसाधारणको भोगाई र समस्यालाई प्रतिनिधिमुलक घटनाको रुपमा प्रस्तुत गरिएको छ ।
द्वन्द्वकालमा माओवादीको घन प्रहारबाट आजीवन शारिरीक अशक्त बनेका बाँके हबल्दारपुरका जगदीश यादव, मानसिक सन्तुलन गुमाएका परदेशी खटिक, माओवादीकै कारण खुट्टा गुमाएका बर्दिया सानोश्रीका अशोक सोडारी, हात गुमाएका बर्दियाकै हेमराज थारु तथा राज्यबाट चरम यातना पाएका बर्दिया शमशेरगन्जका युवराज गिरी, बेलवासपुरका निजामुद्दिन शेख र बर्दिया भुरीगाउँका धनीराम चौधरीको पीडालाई बेजोडका साथ पर्दामा उतारिएको छ ।
त्यसैगरी, पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा तत्कालिन नेताहरुले भोगका समस्याको प्रतिनिधिमुलक घटनाका रुपमा पूर्व गृहमन्त्री भीम रावलको घटनालाई उठान गरिएको छ । रावल लगायतका नेतालाई भैरहवा कारागारमा यातना दिइदा २०३८ सालमा उनको मृत्युको खबर सार्वजनिक भएको थियो ।
राणाशासन ढल्यो, पन्चायत पनि ढल्यो । बहुदलीय प्रजातन्त्र, माओवादीको सशस्त्र युद्ध र जनआन्दोलन हुँदै मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरिसक्दा पनि नेपालको कानुनले यातनालाई अझै अपराधका रुपमा स्वकारेको छैन । यातनाविरोधी अभियानलाई सशक्त बनाउन यो डकुमेन्ट्री निर्माण गरिएको हो । एड्भोकेसी फोरमले बेपत्ता नागरिकका विषयमा गत महिनामात्रै अन्तिम सन्देश नामक डकुमेन्ट्री निर्माण गरेको थियो । यो डकुमेन्ट्री पनि मंगलबार सर्वनाम थिएटरमै प्रदर्शन हुँदैछ ।

तपाईको प्रतिक्रिया