शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

नयाँ दिल्ली – होठों से छू लो तुम…, ये दौलत भी ले लो…, होशवालों को खबर क्‍या…, हजारों ख्‍वाहिशें ऐसी…, हाथ छूटे भी तो… जस्ता अनगिन्ती चर्चित गजलमा आफ्नो स्वर दिएका जगजित सिंहले सोमबार संसार छाडेका छन् । ब्रेन हेमरेज (मस्तिष्कघात) भएपछि १६ दिनअघि मुम्बइको बान्द्रास्थित लिलावती अस्पतालमा भर्ना गरिएका ७० बर्षिय सिंहको अवस्था गम्भीर थियो । विशेष शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

अस्पतालका प्रवक्ता सुधीर दगा ओकरका अनुसार आइसीयूमा राखिएका उनी डाक्टरको विशेष निगरानीमा थिए । उच्च रक्तचापले मष्तिकघात हुने गर्छ । यसअघि सिंहलाई सन् १९९८ मा हृदयघात भएको थियो भने चार वर्षअघि रक्तसञ्चारमा समस्या आएको थियो । त्यसबेला पनि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

सन् ६० को दशकदेखि गाउन थालेका सिंहले चित्राको साथ पाएपछि १९६७ देखि साथै गाउन थालेका थिए । १९६९ मा दुवैबीच विवाह भएको थियो । सन् १९९० मा सिंहको एकमात्र छोरो विवेकको २१ वर्षको उमेरमा सवारी दुर्घटनामा मृत्यु भएपछि चित्राले गाउन छाडिन् ।

उनको निधनसँगै सँगीतको दुनियाको एक कालखण्ड समाप्त भएको छ । जगजीत सिंहले गाएको नेपाली भाषाको गीत ‘कुन माया सदर भो, मेरो माया बदर भो..’ ले निकै चर्चा बटुलेको थियो ।

जगजीतको निधनप्रति भारतीय प्रधानमन्त्री मनमोहन सिंह लगायत थुप्रै हस्तिहरुले शोक व्यक्त गरेका छ्न् । उनको मुम्बईको चन्दनबाडीमा म‌गलबार अन्तिम संस्कार गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया