शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत विभिन्न मन्त्रालय तथा निकायका विषयमा आउने जनगुनासो, माग र सुझावहरुको उचित सुनुवाई गर्न सरकारले हेलो सरकार कक्षको व्यवस्था गरेको छ ।
२४ सै घण्टा खुल्ला रहने हेलो सरकार डेस्कले हरेक मन्त्रालयबाट हुने नीतिगत निर्णय, कार्यसञ्चालन, शान्ति र सुशासन व्यवस्थापन तथा सञ्चालनलाई समेत व्यवस्थित गर्नेछ । हेलो सरकार कक्ष सञ्चालन गर्नका लागि सरकारले ‘हेलो सरकार’ कक्ष सञ्चालन निर्देशिका, २०६८ पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने यो कक्षमा २४ सै घण्टा सातै दिन सहसचिवको सुपरिवेक्षण रहने छ ।
चार सिफ्टमा सञ्चालन हुने कक्षमा हरेक सिफ्टमा उपसचिव एक, टेलिफोनमा दुईजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एक गरी पांच जनाको जनशक्ति रहने छ ।
यस कक्षमा गुनासा, माग तथा सुझावका लागि निःशुल्क टेलिफोन नम्बर ११११ र १११० नम्बरको फ्याक्सको व्यवस्था गरिएको छ । यसरी आएका सुझावलाई सोही माध्यमबाटै यथासम्भव सुनुवाई हुनेछ । त्यस्तै गुनासा, माग तथा सुझावलाई इमेल तथा एसएमएसबाट पनि राख्न सकिने छ ।
निर्देशिकामा विकास निर्माण, सांगठनिक माग र ज्ञापनपत्र, स्मरणपत्र र सुझाव तथा नीतिगत विषयलाई क्रमशः राखिएको छ । हेलो सरकार कक्षमा प्राप्त गुनासा तथा सुझावलाई तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने तथा सुनुवाई गर्ने व्यवस्था समेत गरिएको छ । यस्तो अवस्थामा सम्बन्धित मन्त्रालयका अधिकारीबाट सम्बोधन नभए वा लापरवाही भए तत्काल विभागिय कारवाहीका लागि सिफारिस गर्न सक्ने समेत अधिकार प्रदान गरिएको छ ।
हेलो सरकारको निःशुल्क टेलिफोन नम्बनर ११११ तिन घण्टी भित्रै उठ्ने भएकोले आवश्यक सुझाव तथा गुनसोहरुलाई नदोहोर्‍याउन अनुरोध पनि गरिएको छ । त्यस्तै जनताबाट प्रप्त गुनासा, माग तथा सुझावलाई अभिलेखको रुपमा राख्ने व्यवस्था समेत गरिएको छ ।
हेलो सरकार कक्षको प्रारम्भिक काम पूरा भइसकेको छ भने यसको प्राविधिक कार्यक्रम अन्तिम चरणमा पुगेको छ । यसको कक्ष पूर्णरुपमा निर्माण भएपछि छिट्टै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदघाटन गर्ने कार्यक्रम छ । ***

तपाईको प्रतिक्रिया