Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
Raamesh_-shrestha--08_20130526122354६९ वर्षीय गायक रामेशले दुवै जनआन्दोलनमा प्रेरणादायी भूमिका निर्वाह गरेका थिए । ‘गाउँ गाउँबाट उठ’ जस्तो जागरण गीतका यी प्रगतिशील गायक अहिलेको राजनीतिसँग सन्तुष्ट छैनन् । तर, उनी निराश पनि छैनन् । राजनीतिक दलहरुसँग तीव्र असन्तुष्ट भएका उनी अब जनता आफै अघि सर्नुपर्ने ठान्छन् । रामेशसँग कान्तिपुरका लागि यज्ञशले गरेको कुराकानी :
अहिले राजनीति र देशको अवस्थालाई लिएर निराशा बढेजस्तो देखिन्छ । तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?
म निराश छैन । राजनीतिक दल र अरू संयन्त्रहरू असफल भए पनि, देशको अन्तिम आशा भने पनि, निर्णयकर्ता भने पनि सचेत नेपाली जनता हुन् । अहिले जनताको चेतनाको स्तर ह्वात्तै बढेको छ । मानिसहरूलाई धेरै कुरा थाहा छ । त्यसैले निराशा पनि चाँडै भएको हो ।
मेरा बुबा राणा सरकारको कर्मचारी हुनुहुन्थ्यो, मेरो ठूलो दाइ कांग्रेस भएर राणा हटाउने आन्दोलनमा लाग्नुभयो । मेरा आमाबालाई कांग्रेसले जित्छ र राणा हट्छ भन्ने कत्ति पनि विश्वास थिएन । तर, २००७ सालमा मेरा बाआमाले राणा फालिएको देख्नुभयो । त्यहाँबाट सुरु भएको सिलसिला राजा फालिँदासम्म आएको हो । त्यसबेलाको संविधानसभाको माग अहिले साकार भएको हो । भन्नुको मतलब कुनैबेला असम्भव लाग्ने कुरा पनि समयसँगै सम्भव हुँदोरैछ । अहिले जे कुरा हुँदैन भनेर निराशा छ, भोलि त्यो पनि हुन सक्छ । यी पार्टी र यी नेता असफल भए भने भोलि अर्को शक्तिले जन्म लिन्छ । जनताले आपmना लागि नयाँ शक्ति खडा गर्न सक्छ ।
तपाईंहरू न्याय र समानताका लागि एउटा सपना बोकेर गीत गाउँदै हिँड्नुभयो । अहिले त्यो सपनाको स्थिति के छ ?
त्यो सपना धेरै अघि बढेको छ । मानिसहरू मलाई अहिले भन्छन्, जनतामाथि ठूलो धोका भयो, तपाईंहरू अझै के गीत गाइरहनुभाको ? तर, म भन्छु त्यो सपना त नयाँ पुस्तामा सरिसक्यो । नयाँ पुस्ता त देशविदेशमा पढेर, ज्ञान हासिल गरेर झन् धेरै सचेत भएर आएको छ । अब त्यो सपनालाई यही नयाँ पुस्ताले अघि बढाउँछ । राजनीतिमा यो पुस्ताको चाख र हस्तक्षेप पनि बढिरहेको छ । पहिला हामीजस्ता निम्नमध्यमवर्गीय बुर्जुवाको संख्या सानो थियो । हामीलाई कम्युनिस्ट भन्छन्, तर हामी कम्युनिस्ट होइनौं । म आफूलाई एउटा प्रगतिशील, जनपक्षीय र माक्र्सवादी बुर्जुवा भन्छु । जुन किसिमको कम्युनिस्टको कुरा हामी गर्छौं, त्यो त हाम्रा कम्युनिस्ट नेताहरू पनि होइनन् । समानता र न्यायको सपना पहिले हामी थोरैमा थियो । अहिले त्यो व्यापक भएको छ । यसो हेर्दा निराश हुनुपर्ने स्थिति पनि छ । जो आए पनि उस्तैजस्तो देखिन्छ । माओवादी आएर पनि तिनै कर्म गर्न थालेपछि अब जनताको विकल्प सिद्धियो । जता हेर्‍यो त्यतै नेताले गाली खाइरहेका छन् । तर, सबै खत्तम भइसकेको छैन ।
त्यत्रो ठूलो आन्दोलनको सात वर्षमै नेताहरूले यति धेरै गाली खाने वातावरण कसरी बन्यो जस्तो लाग्छ ?
म तपाईंलाई एउटा पुरानो किस्सा सुनाउँछु । मेरा बा राणाको पालामा माल अड्डाको हाकिम भएको मान्छे । बाले राणाहरूको भनाइ हामीलाई सुनाउनुहुन्थ्यो । विश्वेश्वर सत्तामा चढेपछि राणाजीहरूले भन्थे अरे- यिनीहरूलाई तरुनीहरूले घेरिदिनुपर्छ, रक्सीमा डुबाइदिनुपर्छ, अनि जीहजुरी गर्नेहरूको हुल ल्याएर छोड्दिएपछि यी बिगि्रइहाल्छन् । सायद, यस्ता खेलले पनि नेताहरू प्रभावशाली हुन नसकेका हुन् कि त्यो बेला, त्यतिबेलाका मान्छेहरूसँग तपाईं पत्रकारहरू सोध्न जानुस् । त्यसपछिका कम्युनिस्टहरू वर्गको कुरा लिएर आए । एक वर्ग सम्पन्न छ, एक वर्ग निर्धन छ, यिनका बीच लडाइँ छ, शोषण छ । निर्धनले जितेर तिनलाई पनि धनी बनाउनु नै क्रान्ति हो भन्दै आए । तर, सत्तामा आएपछि नेताकै वर्ग बदलियो । पञ्चायत व्यवस्थाले मन्त्रीहरूलाई हस्ताक्षर गरेपछि पैसा बर्सिने ठाउँ बनाइदिएको थियो, बहुदलका नेताहरू मन्त्री भएपछि त्यसैमा भुले । एमालेले एकपटक यस्तो कमिसनबाट आउने पैसा चलाउन छुट्टै मन्त्रालय बनाउने भनेको थियो । तर, पछि पार्टी चलाउन त्यही पैसा चाहियो र, जनयुद्ध गरेर आएको माओवादी पनि त्यही बाटोमा लाग्यो । यसो हेर्दा सत्ता र शक्तिले बिगार्दोरैछ कि जस्तो लाग्छ । हिजो त्यही बाबुराम भट्टराई वर्गीय सत्ता बनाउनु पर्छ भनेर लेख्नुहुन्थ्यो, आज कुन सत्ताको सेवा गर्न जानुभयो उहाँ ? कुन वर्गसत्ता उहाँले लिएर आउनुभयो ? उहाँका लेखहरूलाई सोध्नुपर्छ अब । उहाँ त होइन भन्नुहुन्छ होला तर उहाँका लेख र किताब त छन् नि !
भनेपछि सबैले सत्ता बदल्छौं भनेर आन्दोलन त गरे तर सत्तामा पुगेपछि आफैं बदलिए ? कि पुरानो सत्ताले बदलिदिँदो रैछ ?
पुरानै सत्ताको निरन्तरताबाट उनीहरूको समृद्धि भयो । पैसा आयो । सेलुट खान पाइयो । सबैले बुझेको कुरा ड्राइभर मात्र फेरियो, गाडी फेरिएन । यो कुरा मैले भनिराख्नै पर्दैन । सात कक्षा पढ्ने विद्यार्थीका निबन्ध हेर्नुस्, उसले पनि त्यही लेखिराखेको छ, अहिले । हरेक कविगोष्ठीमा जानुस्, यिनै विषयमा कविता लेखिन्छ र मानिसहरूले मेरो मनको भाव लेखिदियौ भनेर कविलाई धन्यवाद दिइरहेका छन् ।
यसरी हेर्दा त हाम्रो अहिलेसम्मको राजनीति र परिवर्तनहरू सबै असफल भएजस्तो देखियो । हाम्रो राजनीति नै खराब भएको हो कि दलहरूको क्षणिक असफलता मात्र हो यो ?
कम्युनिस्टले कांग्रेसलाई र कांग्रेसले कम्युनिस्टलाई बदनाम गर्दागर्दा, असफल बनाउँदा बनाउँदा सबै असफल भएको जस्तो देखिन्छ । हाम्रो पूरै व्यवस्था र शैली नै असफल भएको जस्तो देखिन्छ । हिजो भारी बोकेर हिँड्ने मान्छे आज मोटाएर सुटकेस पनि बोक्न नसक्ने भइसक्यो, ढोका उघार्न नसक्ने भइसक्यो ।
तपाईंले भनेजस्तो असफलताको शृंखला तोड्ने कडीका रूपमा संविधानसभालाई लिइएको थियो । तर, यो सभा त संविधान नै नलेखी विघटित भयो । फेरि सभाको चुनाव गर्ने कुरा आइरहेको छ । तपाईंलाई के लाग्छ, अब संविधान बन्ला ?
मलाई त विश्वास लाग्दैन । मलाई त चुनाव हुन्छ भन्ने पनि लाग्दैन । किनभने, माओवादीका लाखौंलाख कार्यकर्ता आज पार्टी छोडेर हिंडेका छन् । तर, तिनले कुरो त बुझे नि । वर्ग भनेको के रैछ, वर्गयुद्ध भनेको के रैछ, कसका लागि रैछ भन्ने बुझे । क्रान्तिका लागि माओवादीले ती कार्यकर्तामा जुन चेतना भरेको थियो, त्यो मरेको छैन । अब त्यही चेतनाले प्रश्न गर्छ । २०६२-६३ ताका भेट्दा माओवादी कार्यकर्ताहरूमा म एउटा तेज र ज्वाला पाउँथें । जनयुद्ध गरेर आएको उमंग हुन्थ्यो । अचेल उनीहरू मुर्झाएका छन् । आत्मआतंकित छन्, आफैंसँग डराएका छन् । सबैको साथ समर्थन पाए मात्र शक्तिशाली भइन्छ, छोडिदएपछि शक्ति कहाँबाट आउँछ ? त्यसैले माओवादी चुनाव फेस गर्न सक्ने स्थितिमा छ भन्ने मलाई लाग्दैन । जनताले त प्रश्न गर्छ । यसैले पनि चुनाव हुन्छ जस्तो लाग्दैन ।
तर, सरकार त जसरी पनि चुनाव गर्छु भनेको भन्यै छ नि ?
यस्तो सरकार बन्नु नै अचम्मको कुरा हो । दलहरूको असफलता र अक्षमताको परिणाम हो यो सरकार भनेर त जनताले नै भनिरहेका छन् नि ! चुनाव भई नै हाल्यो भने पनि अनेक बखेडा झिकेर त्यसलाई सफल हुन दिइन्छजस्तो लाग्दैन । यो देशको विडम्बना हेर्नुस्, हाम्रो युवाशक्तिलाई डन बनाइयो । हाम्रा नेताहरूले सशक्त युवाशक्तिलाई डन वा आपmनो झोले झन्डे बनाइदिए । एमाले, कांग्रेस र माओवादीका युवा त देशका, तीन करोड नेपालीका हातखुट्टा र शक्ति हुनुपथ्र्यो । एउटा पार्टीको, त्यसमा पनि सानो गुटको नेताको रक्षार्थ खटाएजस्तो बनाइदिए । म युवाहरूलाई गाली गर्न चाहन्नँ, यसमा उनीहरूको दोष पनि छैन । तर, त्यस्तो बनाउने नेताहरू देशका लागि अभिशाप हुन् । यस्ता युवाहरू देशका निम्ति अघि आउनुस् । राष्ट्र र राष्ट्रियताका लागि अघि बढ्नुस् ।
तपाईंले भनेजस्तो दल नै छोडेर त राजनीतिक कार्यकर्ताले के गर्ने नि ?
अब हरेक पार्टीमा ओइलाएर बसेका असल मानिसहरू बाहिर निस्किन सक्नुपर्छ । नरहरि आचार्य कांग्रेसको मात्र मान्छे हो र ? यो देशको मान्छे होइन ? उहाँजस्ता नेताहरूको शिष्टता र ज्ञान हामी सबैले सिकेर घरघरमा फैलाउनुपर्छ । एमाले, एमाओवादी र अरू पार्टीमा पनि यस्ता मान्छे टन्नै छन् । अमेरिकादेखि युरोपसम्म नै राजनीतिको लडाइँ भनेको एक र उनान्सयका बीच हो । अब सबै दलका राम्रा मान्छेहरू उनान्सयका पक्षमा उभिनुपर्छ । ठूला नेताहरू माथिमाथि आफू मिलेर सुखभोग गर्छन् तर तल पार्टी पार्टीमा चिरा पार्छन्, लडाइँ गराइदिन्छन् । समाज यसरी विघटित भइराख्या छ । अब यस्तो हुनु हँुदैन । हरेक पार्टीका असल मानिसहरू एकै ठाउँमा आउने बेला भएको छ । मलाई केही मानिस भन्छन्- तपाईं जनता जनता भन्नुहुन्छ, जनताको कुनै संगठन छैन, त्यसैले भोट फेरि यिनै पार्टीलाई नै हाल्ने हो, तपाईं धेरै भावुक नहुनुस् । तर, म भन्छु- हिजो हामीले माले पार्टी बनाउँदा पनि यस्तै थियो । हामी मिलेर संगठन बनायौं ।
त्यो बेला र अहिलेको समाजमा कत्तिको फरक पाउनुहुन्छ ?
अहिले धेरै ठूलो चेतना आएको छ । यत्रा ठूला आन्दोलन भए । त्यो बेला जनताले सबैलाई जाँच्थे । हामीलाई पनि जाँचे । हामी गाउँगाउँमा जान थालेपछि मिहिन पाराले हाम्रो चियो हुन थाल्यो । कहिले बालबच्चाले, कहिले महिलाले हामीलाई निगरानी गर्थे । जस्तो, गीत गाइसकेपछि यिनीहरू जाँडरक्सी खान्छन् कि खाँदैनन् ? मञ्जुल र म जाँडरक्सी खाँदैनथ्यौं । हामी महिलालाई आदर र सम्मानका दृष्टिले हेथ्र्यौं । हामीले कहिल्यै कुनै महिलामाथि कुदृष्टि राखेनौं । हामीले कहिल्यै अहंकार गरेनौं । र, हामीले गीत गाएको कहिल्यै पैसा मागेनौं । पैसा नमागेपछि गीतको पनि भाउ बढ्दो रैछ । हामी यसरी जनताको परीक्षामा पास भएपछि हाम्रा कुरा मानिसहरूले पत्याए । राजनीतिक दल र नेताहरू पनि जनताको यस्तो परीक्षामा पास हुनुपर्छ । पास हुनेलाई मात्र जनताले पत्याउँछन् । अबका पार्टीले ठूलो परीक्षा पास गर्नुपर्छ । र, जनताले पहिलेभन्दा निकै कडा परीक्षा लिनेवाला छन् ।
तपाईंलाई संविधानसभाले किन संविधान लेख्न सकेन भन्ने लाग्छ ?
यसमा बाबुरामजीहरूकै वर्गीय सूत्र लागू हुन्छ । संविधान कुन वर्गका लागि बनाउने ? प्रचण्डजी र बाबुरामजीले कुन वर्गको संविधान बनाउनुहुन्छ ? उहाँले उठाएका प्रश्नले अब उहाँहरूलाई नै खान्छ । र, यो पछिल्लो ६-७ वर्गको गतिविधिले उहाँहरू अलोकपि्रय पनि भइसक्नुभयो ।
संघीयता र जातीय राज्यका कुरा आएकाले लेख्न नसकेको भन्ने छ । तपाईंको भनाइ के छ ?
हिजो हामीले ‘वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ भनेर’ गीत गाइयो । तर, आज कम्युनिस्टहरूले वर्गको कुरा छोडेर जातिको नारा ल्याए । ‘भोजपुरको सामन्तले भोजपुरकैलाई ठग्छ, पोखराको सामन्तले पोखराकैलाई ठग्छ, एउटै ठाउँमा बस्ने हामी गरिने प्रेम झूटो हुन्छ । तामाङ भाषा बोल्नेले तामाङ भाषा बोल्नेलाई ठग्छ, नेवार भाषा बोल्नेले नेवार भाषा बोल्नेलाई ठग्छ’ भनेर त हामीले मालेमा हुँदैमा गीत गायौं । वर्गीयता नै कम्युनिस्टको सूत्र हो भन्नेले लौ आज त वर्ग सर्ग छैन, जातीय कुरा पो ल्यायो ! कम्युनिस्टको मुखमा कहाँबाट जातीय राज्यको कुरा आयो ? संघीयताको कुरा कसले कानमा फुकिदियो ? पिछडिएका जातिलाई उठाउन सक्ने धेरै प्रावधान छन्, तिनको कुरा गरे भइहाल्छ नि । जातीय पहिचान सबको हुनुपर्छ । सबैलाई माथि उकास्नुपर्छ, यो ठीक छ । सबै जातिमा शोषित र शोषक छन्, धनी र गरिब छन् । यसको अन्त्य हुनुपर्छ । तर, वर्गीय युद्धलाई जातीय बनाउने कुरा ठीक छैन ।
तपाईं गणतन्त्रको आन्दोलनमा सक्रिय हुनुभएको मान्छे । गणतन्त्र दिवसको संघारमा तपाईं के सोच्नुहुन्छ ?
मलाई कहिलेकाहीं हामी पञ्चायती व्यवस्थाभन्दा पनि तल्लो स्तरमा गयो कि जस्तो लाग्छ । गणतन्त्र यो देशलाई चाहिन्छ, हामी कुनै राजा महाराजाको शासन मान्दैनौं । तर, जनजीवन यति कष्टकर बनाएर तपाईं कसरी खुसी हुन सक्नुहुन्छ ? न पानी खान पाउँछ, न बिजुली बाल्न पाउँछ, न काम गर्न पाउँछ, न निर्धक्क भएर उद्योग चलाउन पाउँछ । थर्काएर पैसा असुल्ने, अपहरण गर्ने बढेको बढ्यै छ । पञ्चायतमा पनि नभएका नयाँ नयाँ विकृति र चलन चलिरहेका छन् ।
अहिले राजनीतिमा एउटा शब्द प्रचलित छ, सिन्डिकेट । हिजो गणतन्त्रको आन्दोलनमा गीत गाएर हिँड्दा तपाईंलाई देश यसरी चल्ला भन्ने लागेको थियो ?
हेर्नुस्, संविधानसभाको चुनावमा हामीले माओवादीलाई भोट देऊ भनेकै हो । रायन र म जमानी बसेर माओवादीलाई देशभर लाखौं भोट खसालिदिएका हौं । आज ती जनताले हाम्रो घाँटी समाएको छ । तिमीहरूले भनेर हामीले भोट दियौं तर आज यस्तो भयो, अब तिमरुलाई समात्छौं भन्छन् । खगेन्द्र संग्रौलालाई पनि यस्तै भन्छन् । यस्तो होला भनेर त कसैले पनि सोचेको थिएन । धेरै पार्टीका मान्छेले प्रचण्ड र माओवादीलाई विश्वास गरेर भोट हालेका छन् । त्यसै त्यत्रो भोट आएको छ ? तर, त्यसको महत्त्व उहाँहरूले बुझ्न सक्नुभएजस्तो लागेन । ल विदेशी दबाब आयो रे । कमसेकम जनता हो, यस्तो दबाब आएको छ के गर्ने भनेर सोध्ने हो भने जनताले सोच्थे होला नि । ढुकुटीमा पैसा छैन जनता हो भन्ने हो भने जनताले पैसा उठाएर नयाँ ढुकुटी बनाइदिन सक्थे । विकास गर्न पैसा, जनबल पुगेन भन्यो भने केटाकेटी, युवा सब कोदालो र गंैती बोकेर निस्किन्थे । तर, हाम्रा नेता त आपmनो जनतालाई नभन्ने, विश्वास नगर्ने, सोझै विदेशीकहाँ गएर ह्वाँह्वाँती रुने ! खान पनि छैन हजुर, लाउन पनि छैन भन्ने । अनि उसले ला भनेर पैसा त दियो । तर, सँगै यसो गर यसा नगर भनेर पनि भन्न थाल्यो । हाम्रा नेताहरूमा यसरी दास मनोवृत्ति बढ्दो छ । जुन अख्तियारले सरकारी सेवामा अयोग्य भनेको थियो, त्यही मान्छेलाई त्यही अख्तियारको प्रमुख बनाइदिए । यस्तै कुराले हाम्रा पार्टी र नेताहरूले अलिअलि बाँकी भएको आस्था पनि स्वाहा पारे । सरकार पनि चलाउन नसक्ने असफल भए । कहिलेकाहीँ त मलाई सबैलाई असफल घोषणा गरेर कसैको हस्तक्षेप निम्त्याउनका लागि सबै तारतम्य रचिएको हो कि जस्तो पनि लाग्छ । गणतन्त्र कमजोर हुँदा पनि होइन, भएको पनि होइन तर पार्न खोजिएजस्तो लाग्दै छ ।
तपाईं एक समय परिवर्तनको नारा बोकेर माले हुनुभयो, पछि त्यही परिवर्तनका लागि माओवादीलाई समर्थन गर्नुभयो । तर, तपाईंको कुरा सुन्दा दुवैपटक तपाईंको ‘जजमेन्ट’ गलत देखियो । तपाईं असफल हुनुभएको हो ? यसको पश्चात्ताप छ ?
पश्चात्ताप छैन, पाठ सिकेको छु । मैले सबभन्दा ठूलो कुरा अब के सिकेको छु भने जनताले एउटा आचारसंहिता बनाएर कस्तालाई राजनीति गर्न दिने, कस्तालाई नदिने तोक्नुपर्छ । समाजमा बदनाम भएका, खराब काम गरेका, नैतिक चरित्र कायम गर्न नसकेकालाई राजनीति गर्न दिनु हुँदैन । अब जनता आफै अघि सर्नुपर्छ । जनताले दण्ड दिने प्रावधान हुनुपर्छ ।
पहिलेजस्तै यसपालि पनि सत्तामा पुगेपछि दलहरूले आन्दोलनमा लागेका कलाकारहरूलाई बिर्सेका हुन् ?
यो दलहरूको कृतघ्नता हो । बैगुनी चरित्र हो । फाइदा लिने वा उपयोग गर्ने भन्ने त दलहरूको रणनीति नै रहँदै आएको छ । यसले कालान्तरमा उहाँहरूलाई नै हानि गर्छ ।
 
तपाईंको निष्कर्षमा अब जनताले आन्दोलन गर्छन् भन्ने देखियो । कसरी हुन्छ जनताको अगुवाइ ? यो अलि अमूर्त कुरा भएन ?
हेर्नुस्, यो भनेको अब आवश्यकता हो । आवश्यकता जसरी पनि पूरा हुन्छै हुन्छ । काठमाडौंमा यति थोरै खुला ठाउँ छ, तैपनि तपाईं काग वा परेवाले गुँड बनाउनलाई छेस्का च्यापेर उडेको देख्नुहुन्छ । नयाँ पुस्ताको सचेत नेपाली जनता, जसको उन्नत प्रविधिसँग पहुँच छ, त्यसले त आपmना लागि केही गर्छ गर्छ । तिनका लागि एउटा सानो गोरेटो हाम्रो पुस्ताले खनिदिएको छ । पहरा फोरेर त्यसलाई ठूलो बाटो बनाउने जिम्मा नयाँ पिंढीको । तर, सँगसँगै अराजक भीडका रूपमा जनता सडकमा आउने खतरा पनि छ । त्यस्तो भयो भने ठूलो ध्वंस हुनेछ । यस्तो नहोस् । आशा भन्ने कुरा कहिल्यै मर्दैन । अहिले समाचार आइरहेको छ भोलि सूर्य नै सेलाएर खत्तम भयो भने पनि एटमिक शक्तिबाट पृथ्वी चलाउन सक्ने प्रविधिको विकास हुँदै छ । पृथ्वीमा बस्नै नसक्ने भइयो भने त्यसको विकल्प त मानिसहरूले खोजिरहेका छन् भने जेको पनि विकल्प पाउन सकिन्छ । सामाजिक जीवनका सबै विज्ञहरू, विशेषज्ञहरू, स्वच्छ छवि भएका मानिसहरू अघि सरेर अब नेतृत्व लिनुपर्छ । सरकार पनि यसरी नै चलाउन सकिन्छ । एउटा व्यक्तिलाई मात्र उठाउने हो भने कि त्यो बिक्री हुन्छ, कि मारिन्छ । यसैले अब सामूहिक रूपमा अघि बढ्नुपर्छ । जनता एकजुट हुने हो भने शक्ति पनि आउँछ ।
हाम्रो राष्ट्रियता कमजोर भइरहेको छ भन्ने आवाज उठिरहेको छ, तपाईंलाई के लाग्छ ?
यसमा मैले भनिरहनुपर्ने के छ र ? हजारौं मान्छेले भनिरहेका छन्, सबै पत्रिकाले लेखिरहेका छन् । सबैलाई थाहा छ । यहाँका क्रान्तिकारीले कहाँ कहाँ केके सम्झौता गरेका थिए, बिस्तारै खुल्दै छ । घरपरिवारलाई केही नभनी, मौकाको फाइदा लिन ढुकेर बसेको पल्लोघरकोलाई गुहार्ने प्रवृत्ति घातक छ । यसले हाम्रो राष्ट्रियतालाई कमजोर बनाएको छ ।
तपाईको प्रतिक्रिया