टाेकियाे – सामसङ डिस्प्ले र CES को बीचको लामो समयदेखि एक गहिरो सम्बन्ध रहेको छ। हरेक वर्ष कम्पनीले नयाँ फोल्डेबल डिस्प्लेको प्रोटोटाइप प्रस्तुत गर्छ जुन प्रायः अर्को CES सम्ममा बिर्सिएको हुन्छ र नयाँ रूप र आकारमा पुनः देखा पर्छ । यस वर्ष पनि CES २०२५ मा सामसङ्ग डिस्प्लेले अर्को नयाँ फोल्डेबल र स्लाइडेबल कन्सेप्टहरू प्रस्तुत गरेको छ।
CES 2025 मा केही रोमाञ्चक घोषणाहरू भएका छन् जस्तै Circular Ring 2 जसमा ECG र AFib डिटेक्शन जस्ता विशेषताहरू छन् र सामसङका स्मार्ट टिभीहरूकाे लागि AI अपडेटहरू पनि सार्वजनिक भएका छन् । जबकि सामसङ इलेक्ट्रोनिक्सले यस वर्ष आफ्नो फोल्डेबल फोनहरूमा धेरै परिवर्तन नगने अनुमान गरिएको छ । फोल्ड ७ र फ्लिप ७ मा मुख्य परिवर्तन नहुने अपेक्षा गरिएको छ । सामसङ डिस्प्ले भने आफ्ना नयाँ र नविनतम फोल्डेबल र स्लाइडेबल कन्सेप्टको सीमा विस्तार गर्दैछ ।
यस वर्ष सामसङ डिस्प्लेले आफ्नो सबैभन्दा ठूलो फोल्डेबल OLED प्यानल प्रदर्शन गरेको छ । १८.१ इन्चको प्यानल तीन वर्ष पहिले प्रदर्शन गरिएको १७.३ इन्चको फोल्डेबल OLED भन्दा ठूलो हो । यो फोल्ड गर्दा १३.१ इन्चको ल्यापटप डिस्प्लेमा परिणत हुन्छ जसमा टचस्क्रीनको सुविधा पनि छ । यसलाई पूर्ण रूपमा खोल्दा एक ठुलो १८.१ इन्चको स्क्रिनमा परिणत हुन्छ जुन मनिटरको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
कम्पनीले भने यस डिस्प्लेको आधारमा आफ्ना उपकरणहरू निर्माण गर्नेमा कुनै पुष्टि गरेको छैन । तर यसले यस्ता डिस्प्ले प्रविधीहरू लेनोभो र एशुस जस्ता ब्रान्डहरूलाई आपूर्ति गर्छ, जसले पहिले नै फोल्डेबल डिस्प्लेमा आधारित विन्डोज उपकरणहरू उत्पादन गर्दै आइरहेका छन् (जस्तै ASUS ZenBook 17 Fold)। सामसङले सार्वजनिक गरेको भिडियोमा यो प्रोटोटाइप विण्डोज चलाउँदै गरेको देखाइएको छ र यी ल्यापटप निर्माता कम्पनीहरूले आगामी समयमा नयाँ १८.१ इन्चको फोल्डेबल OLED प्यानल अपनाउने अपेक्षा गरिएको छ।
फोल्डेबल डिस्प्लेसँगै कम्पनीले CES २०२५ मा स्लाइडेबल OLED कन्सेप्टहरू पनि प्रस्तुत गरेको छ । यी तीन नयाँ स्लाइडेबल कन्सेप्टहरूमा Slidable Flex Duet, Slidable Flex Solo, र Slidable Flex Vertical समावेश छन् । यद्यपि यो पहिलो पटक भने होइन । गत वर्षको CES मा पनि कम्पनीले यस्तै डिजाइनहरू प्रदर्शन गरेको थियो ।
Slidable Flex Duet दुबै पक्षबाट विस्तार गर्न सक्ने क्षमता राख्दछ, जसले ८.१ इन्चको स्क्रिनलाई १२.४ इन्चको ठूलो ट्याब्लेटमा परिणत गर्छ । Slidable Flex Vertical भने ५.१ इन्चको स्मार्टफोन स्क्रिनबाट ६.७ इन्चको स्क्रिनमा विस्तार हुन्छ । त्यसैगरी Slidable Flex Solo नाम जस्तै केवल एक छेउबाट मात्र विस्तार हुन्छ, जसले आफ्नो आकारलाई १३ इन्चबाट १७.३ इन्चसम्म बढाउँछ।
यी डिस्प्ले कन्सेप्टहरू वास्तविक उपकरणहरूमा कहिलेबाट प्रयोगमा आउछन् भन्ने कुराको भने अझै स्पष्ट भएको छैन । तथापि कम्पनीले आफ्ना प्यानलहरू सामसङ इलेक्ट्रोनिक्स बाहेक अन्य निर्माताहरूलाई पनि आपूर्ति गर्छ । सम्भवतः हामी यी डिजाइनहरू भविष्यका ल्यापटपहरू, ग्याजेटहरू वा सवारी साधनहरूमा प्रयोग भएको देख्न सक्छौं विशेष गरी कम्पनीले यी डिस्प्लेहरू कार निर्माता कम्पनीहरूलाई लक्षित गरेको छ । ऐजेन्सीको सहयोग ***