Deneme Bonusu Veren Siteler
आइतबार, पौष २१, २०८१
Sunday, January 5, 2025

काठमाडौं – लाउरा मुकेनहुप्टका २२ वर्षीय छोराको निधन हुँदा उनी गहिरो शोकमा थिइन् । यो स्वाभाविक पनि थियो । तर, आफ्नो छोराको शरीरलाई कम्पोस्ट मलमा रूपान्तरण गरेपछि उनले नयाँ खुसीको अनुभूति गरिन् ।

पछिल्लो समय संयुक्त राज्य अमेरिकामा मानव कम्पोस्ट प्रविधि लोकप्रिय हुँदै गएको छ । यस प्रविधिमा परम्परागत शव गाड्ने वा जलाउने तरिका प्रयोग नगरि, मृत शरीरलाई जैविक मलमा बदलिन्छ । अमेरिकामा ६० प्रतिशतभन्दा बढी मानिसको शव गाडिन्छ, तर मानव कम्पोस्ट प्रविधिले यसमा नयाँ विकल्प प्रस्तुत गरेको छ ।

मृत शरीरलाई बायोडिग्रेडेबल कपडामा बेरेर, काठका टुक्रा, पातपतिंगर, र जंगल फूलले ढाकिन्छ । यो संरचना एक विशेष फलामको भाँडामा राखिन्छ । त्यहाँ, शरीरको जैविक विघटन प्रक्रियालाई तीव्र बनाउन माइक्रोब्याक्टेरियाको प्रयोग गरिन्छ । ४५ दिनभित्र शव पूर्ण रूपमा कम्पोस्ट मलमा परिणत हुन्छ ।

यस प्रक्रियामा रसायनको प्रयोग हुँदैन, जसले गर्दा यो प्रविधि पर्यावरणमैत्री मानिन्छ । कम्पोस्ट बनेपछि परिवारका सदस्यले चाहे जति मात्रामा लिन सक्छन्। बाँकी बचेको कम्पोस्ट क्यालिफोर्नियाका संरक्षण परियोजनामा प्रयोग गरिन्छ ।

लाउराले आफ्ना छोराको शरीरलाई कम्पोस्ट बनाउने निर्णय लिइन् । यो प्रक्रियापछि उनलाई लाग्यो, ‘अब छोरा कुनै न कुनै रूपमा मेरो जीवनमा उपस्थित छ ।’ उनका छोराको शरीरबाट बनेको कम्पोस्ट इन्डोनेसिया, टस्कनी, पोर्चुगल, र हवाईमा उपयोग गरिएको छ। ती ठाउँमा त्यस मलले फलफूल उत्पादन भइरहेको छ ।

लाउराले आफ्नो घरमा पनि छोराको सम्झनामा गुलाबको फूल रोपिन् । ती फूल फुल्दा उनलाई छोरा आफ्नो उपस्थितिको संकेत गर्दैजस्तो लाग्छ। उनले छोराको प्रिय कुर्सी छेउमै गुलाबको गमला राखेकी छन् । मानव कम्पोस्ट प्रविधिलाई वैधानिक बनाउन अमेरिकाका १२ राज्यमा विधेयक तयार पारिएको छ ।

यो विधि मृत्युपछिको जीवनलाई नयाँ अर्थ दिनका साथै पर्यावरणलाई सहयोग पुर्‍याउने सम्भावनाका रूपमा हेर्न थालिएको छ । ‘अर्थ फ्युनरल’का प्रमुख कार्यकारी टम ह्यारिसका अनुसार, ‘हामी प्राकृतिक प्रक्रियालाई छिटो बनाउँछौं । यो विधि मृत्युपछिको वैकल्पिक जीवनका रूपमा लोकप्रिय हुँदैछ ।’ –सिएनएन 

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया