काठमाडौं – अन्तर्राष्ट्रिय उडानका क्रममा चोरीका घटनाहरू बढ्दै गएका छन् । हालै मात्र मलेसियाको पेनाङबाट क्वालालम्पुर जाँदै गरेको विमानमा पाँच हजार पाँच सय मलेसियन रिङ्गगिट चोरी भएको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिए । मलेसियाको अदालतले उनीहरूलाई पाँच हजार सात सय मलेसियन रिङ्गगिट जरीवाना तिराएको छ ।
द डेली स्टारका अनुसार व्यावसायिक उडानमा हुने चोरीका घटनाहरूको यो पछिल्लो उदाहरण हो । यस्ता घटना प्रायः उजुरीबिना नै टुंगिने गरेका छन् । हङकङका सुरक्षा प्रमुखले गएको डिसेम्बर ४ मा २०२४ मा हङकङतर्फ उडानका क्रममा चोरीका घटनाहरू झन्डै दोब्बर भएको खुलासा गरेका थिए । सरकारी तथ्याङ्कअनुसार २०२४ को पहिलो १० महिनामा उडिरहेका विमानमा चोरीसम्बन्धी १६९ वटा उजुरी दर्ता भएका छन् । यस्ता घटनामा प्रायः नगद, महँगा गहना, घडी, र क्रेडिट कार्ड चोरी हुने गरेका छन् ।
एक पाइलटका अनुसार चोरीको योजना समूहमा बनाएर कार्यान्वयन गरिन्छ। चोरहरूले सामान चोरेपछि शौचालयमा पुगेर अर्को व्यक्तिलाई हस्तान्तरण गर्ने भएकाले उनीहरूलाई समात्न गाह्रो पर्ने गरेको छ । केही विमान कम्पनीहरूले यात्रुहरूलाई उडानका क्रममा आफ्नो सामानप्रति सचेत रहन र सिट परिवर्तन नगर्न सुझाव दिएका छन् । यो उपायले चोरी रोकथाममा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
उडानमा हुने यस्ता घटनाहरूले यात्रुहरूको सुरक्षाबारे नयाँ प्रश्न उठाएको छ । यात्रुहरूले आफ्नो सामान सुरक्षित राख्न थप सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।