टोकियो – हालैमात्र भएको एनआरएनएको एघारौं महाधिवेशनमा आरके (राजेन्द्रकुमार शर्मा), एमके (महेशकुमार श्रेष्ठ) र बिके (बद्रि केसी) बीच नेतृत्वका लागि भाले भिडन्त भएको थियो । भेरो कम्पनीको अनलाईन भोटिङमार्फत भएको निर्वाचनमा धाँधली भएको भन्दै उपविजेता भनिएका आरके र एमके समुह उक्त निर्वाचनको परिणाम स्विकार नगर्ने कित्तामा उभिएको छ भने विजेता भनिएका डा. बद्रि केसीको समूहले हतारमा शपथ लिएको छ । त्यतिधेरै तामझामका साथ सुरु भएको महाधिवेशनको समापन सुखद रहेन । पहिलैदेखि विवादै विवादको चाङमा उभिएको एनआरएन अभियानमा फेरि अर्को नयाँ भेरियन्टको बखेडा सुरु भएको छ । यसको निदान सजिलै हुने छनक पटक्कै देखिदैन ।
पछिल्ला हरेक महाधिवेशनमा कुनै न कुनै बिषयमा हुने गरेका लफडा, गलफत्ती एवं महाधिवेशन स्थलमा देखिने गरेका नौटंकी एवं हर्कतका साथै भाषण र नारामा चर्का तर ब्यवहारमा खासै बिश्वास गर्न नसकिने इमेज बनाएको एनआरएनले अघिल्लो पटक नै पदका लागि कतिसम्म गिर्न सक्छन् भन्ने दृष्टान्त ३, ३ जना अध्यक्ष बनेर देखाईसकेका छन् । लाजको पसारो यो भन्दा अरु के हुन सक्छ ? बरु गाउँको एउटा सामान्य क्लवमा पनि यतिसारो निच हर्कत हुँदैन । बाधा फुकाउका लागि भन्दै बिधान संशोधन गरेरै भएपनि ३ जना टिके अध्यक्ष बनाएर पिसावको न्यानोमा रमाउने अवसर जो दिईयो त्यो नै सर्बथा गलत थियो । बिधानअनुसार संस्था हिडाउनुपर्नेमा आफुअनुसार बिधान हिडाउन थालेपछि हुने भनेकै यस्तै हो, नजिर जो बसाईएको छ । यसपटकको महाधिवेशनमा त्यसैको निरन्तरता तर अर्को अवतारमा एनआरएनका अगुवाहरु प्रकट भएका छन् । सबैलाई पदै चाहिएको रहेछ । सबैलाई आफै जित्नु छ । आफुबाहेक सबै गलत देख्ने सोचले अभियान धरापमा पारिएको छ । जतिधेरै असन्तुष्टिका तुँवालाहरु मडारिन्छन् त्यतिधेरै संस्थापन पक्षको चुनौती थपिदैं जान सक्छन् । त्यसो भएको हुनाले झुक्ने र नम्र हुने भूमिका भनेको जिम्मेवारीमा पुगेका बिके समुहको हो । तर पेलेरै जाने मनशायले अति हतारमा शपथग्रहण गरिनुले ‘दालका कुछ काला हे’ भन्नेहरुको तर्कमा बल पुगेको देखिन्छ । स्वभावैले विपक्षी समुहबाट बिद्रोह हुनु नौलो कुरो होईन तर बिद्रोही समुहको शैलीमा पनि सोह्रैआना खोट छ । ‘भेरोले देखाएको जेरो’ बखेडा निकाल्ने एउटा बहाना जो छ, तर हतारमा समानान्तर कमिटी गठन गरिनु कदापी बुद्धिमानी भने होईन । अभियान भित्रै रहेर बिद्रोह गर्दै आफुहरुद्वारा लगाईएको आरोपको पुष्टि गर्न सक्नुपर्थ्यो । जे भएको छ यसबाट कसैको जित भएको छैन बरु अभियानको हार भएको छ । अघिल्लो महाधिवेशनमा टुक्रिएको शेष घले र अर्का बिके (विनोद कुँवर) को समुह भन्दा आरके र एमकेको समुह के नै फरक भयो र ? तिब्र ध्रुबिकरणको दिशातिर उन्मुख एनआरएनलाई बचाउन अब ठूलो छाति भएको दिलदार नेतृत्वको आवश्यकता देखिन्छ । अभियान नै पहिलो सर्त हो भने मेलमिलाप, सहकार्य र समझदारीलाई केन्द्रमा राखी संवादको थालनी गरिनुपर्थ्यो खै त त्यो त देखिएन । भनेपछि पदलोलुपताको पराकाष्ठा यो भन्दा अरु के हुन सक्छ ?
बिजयी भनिएको समुहले थोरै समय धैर्य गरेर धांधली भएको भनिएको प्राविधिक त्रुटी बारे जानकारी गराएर कन्भिन्स गरेर, चित्त बुझाएर, धाँधली नभएको क्लिन चिट पाईसकेपछि र आरोपकर्ताहरुको आक्रोशमा थोरै मत्थर भएपछि शपथ ग्रहण गरेको भए शायद समानान्तर अर्को एनआरएन घोषणा हुने थिएन कि ? उनीहरुलाई पनि संगै लिएर जान सकिने वातावरण बन्न सक्थ्यो कि ? यसैगरी उपविजेता भनिएको समुहले पनि धाँधली नै भएको हो भने प्रमाण जुटाएर कानूनी उपचारमा गए भैगो त ? हतारमा समानान्तर कमिटी घोषणा गरेर किन जग हसाँउन परेको होला ? यस्ता अपरिपक्व सल्लाह दिने सल्लाहकारहरु पनि कस्ता होलान् ? जान्न पाए हुन्थ्यो । बिषय अब यत्तिमै रोकिने वला पटक्कै छैन, एनआरएनभित्र चुलिएको विवाद, असन्तुष्टि र जसको शक्ति उसको भक्ति प्रवृत्तिका कारण केन्द्रदेखि एनसीसीसम्म चरम ध्रुबिकरण झन मौलाउने देखिन्छ । १८, २० वर्षदेखि अभियानमा लागेका र आशालाग्दा भनिएका अभियन्ताहरुको यस्तै आलाकांचा निर्णयले गर्दा ८० लाख भन्ने गरिएता पनि अभियानलाई ग्रासरुटसम्म पुरयाईएकै छैन ।
महाधिवेशनको दोस्रो दिन भएको प्यानल डिस्कशनमा पूर्वमन्त्री रामकुमारी झाँक्रीको अभिब्यक्तिबाट नेपालमा राजनीति गर्ने औसत नेताहरुको एनआरएनप्रतिको प्रतिनिधीमुलक धारणा प्रष्ट हुन्छ । उनको शैली गलत थियोहोला, कतिपय सन्दर्भमा अपाच्य वचन प्रयोग भयोहोला तर ठूला कुरा गर्ने एनआरएनहरुको झाँको त उनले तर्क गरेरै झारेकी हुन् नि ! यसमा एनआरएनहरुले दुखमनाउ गर्नुपर्ने केही छैन । नागरिकता त्यागेकाहरुका लागि वंशजको निरन्तरता हुनुपर्ने र हालैदेखि जारी गरिएको एनआरएन नागरिकतालाई कागजी खोष्टो भन्दै त्यसलाई स्वीकार्नेहरु फासीको भागीदार हुनुपर्नेसम्मको प्रसंगले बरु स्वयम एनआरएनहरुलाई नै लज्जित तुल्याएएको हुनुपर्छ । देशदुनियाँभरि महिनौदेखिको खल्लीबल्ली, समय, ऊर्जा, जनशक्ति, धनराशी खर्चेर तामझामका साथ सुरु भएको महाधिवेशन केवल १ थान अध्यक्षका लागि ऐना फुटेझैं टुक्रा टुक्रा बनाईन्छ भने ‘नेपालीका लागि नेपाली’ भन्ने अभियानको जग कति बलियो धरातलमा उभिएको रहेछ भन्ने प्रष्ट हुन्छ । सबैको अन्तिम स्वार्थ पद नै त रहेछ, पदबाहेक अरु सबै तपसिलका पनि तपसिल रहेछन् भन्ने कुरो आरके-एमके भर्सेस बिके बखेडाले पुष्टि गर्दैन र ? ***