काठमाडौं – सर्जक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’का भिडिओ हटाउन माग गरिएको छ । रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले भिडिओप्रति गम्भीर आपत्ति जनाउँदै हटाउन माग गरिएको हो ।
व्यवसायी संघले विज्ञप्ति जारी गर्दै गीतले रात्रिकालीन व्यवसायमा संलग्न सबै छोरीचेलीहरु देहव्यापारमा लागेको जस्तो सन्देश गएको जनाइएको छ । ‘कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरू तपाईँको भनाइमा वेश्यावृत्ति गरेर नै आएका र स्थापित भएका हुन् त ? महिलाले राम्रो अवसर पाउन र चर्चित हुन आफ्नो शरीर बेचेकै हुन्छन् वा बेच्नु नै पर्छ ? त्यो क्षेत्रमा कलाको कुनै मूल्य नै छैन ? मेहनत र संघर्षको बाटो नै छैन ? के रात्रिकालीन व्यवसायमा संलग्न सबै नारी/छोरीहरू देहव्यापार नै गर्न गएका हुन्छन् त ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ ।
सकम्बरी गीतलाई ‘अपाच्य’ संज्ञासमेत दिइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ । ‘तपाईँ जस्तो भूईंमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी/नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ? ।’