काठमाडौँ – सन् २०२२ मा कतार विश्वकपका लागि एशियाली छनोट खेलमा जापान विजयी भएको छ । मंगलबार राति भएको खेलमा जापानले ओमानमाथि १–० गोल अन्तरले पराजित गरेको हो । जापान समूह बीमा दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको साउदी अरेबियाले ६ खेलमा १६ अंक जोड्दा जापानले समान खेलबाट १२ अंक जोडेको छ ।
जापानसँग पराजित भएको ओमान ७ अंक सहित चौथो स्थानमा रहेको छ । ओमानको मस्कटमा भएको खेलमा जापान पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । ८१ औं मिनेटमा जुनिया इटोले गरेको गोल नै जापानलाई जीत दिलाउन पर्याप्त बन्यो ।
यही समूहमा रहेको अस्ट्रेलिया र चीनले एक एक गोलको बराबरी खेलेका छन् । मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालालाई अग्रता दिलाएका थिए । तर ७० औं मिनेटमा चीनले पेनाल्टी मार्फत बराबरी गोल गरेको थियो । वु लीले पेनाल्टीमा गोल गरेपछि दुवै टिमले एक एक अंक लिए । अस्ट्रेलियाले ६ खेलबाट ११ अंक बनाउँदै तेस्रो स्थानमा राख्दा समान खेलबाट ५ अंक जोडेको चीन पाँचौं स्थानमा छ ।
यस्तै शीर्ष स्थनमा रहेको साउदी अरेवियाले भेतनाममाथि १–० गोल अन्तरको जीत दर्ता गरेको छ । सालेह अल सेरिले ३१ औं मिनेटको गोल नै साउदीलाई जीत दिलाउन पर्याप्त बन्यो । साउदी शीर्ष स्थानमा रहँदा सबै ६ खेलमा पराजय भोगेको भेतनाम खाता नै खोल्न सकेको छैन ।