काठमाडौँ – आईसीसी टि–२० विश्वकपमा न्युजिल्यान्डले पहिलो जित हात पारेको छ । न्युजिल्याण्डले सुपर १२ को समूह ‘२’ अन्तर्गत आइतबारको खेलमा भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्यान्डको जितमा डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए । मार्टिन गुप्टिलले ३३ रनको योगदान दिँदा कप्तान केन विलियमसन ३३ रनमा अविजित रहे । भारतका लागि दुवै विकेट जसप्रित बुमराहले लिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११० रन बनाएको थियो । न्युजिल्यान्डको कसिलो बलिङसामू कुनै पनि भारतीय ब्याटरले खुलेर खेल्न सकेनन् । उसका लागि रविन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा केएल राहुलले १८ रन जोडे ।
भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले ३, इस सोधीले २ तथा टिम साउदी र एडम मिल्नेले १÷१ विकेट लिए । यो जितसँगै २ खेलमा २ अंक जोडेर समूह ‘२’ को तेस्रो स्थानमा उक्लिएको न्युजिल्यान्डले सेमिफाइनल सम्भावना कायमै राखेको छ । पहिलो खेलमा न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोर्दै विना अंक समूहको पाँचौं स्थानमा रहेको भारतका लागि सेमिफाइन यात्रा कठिन बनेको छ । पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।