ओखलढुंगा- माधवपुर-७ की १७ वर्षीया नेपीमाया मगरको अचानक पेट बढ्न थाल्यो । अविवाहित उनी आफैं तनावमा त थिइन् नै, गाउँलेले अवैध गर्भ भनेर छिछि र दुरदुर गर्न थाले । ‘कसको पेट बोकेको हो पत्ता लगाऊ’ भन्दै उनका वाआमालाई घच्घच्याउन आफन्त र गाउँले कसैले बाँकी राखेनन् ।
आकार बढ्दै मात्र गएन, सास फेर्नसमेत गाह्रो हुन थाल्यो । अन्ततः उनी पुगिन्, ओखलढुंगा सामुदायिक मिसन अस्पतालमा । चिकित्सकले जाँचे, हेरे । तीन दिनपछि शुक्रबार उनीहरू शल्यक्रिया गर्न तम्सिए । डा. अभिषेक रिजाल र डा. निरेश थापा मगरसहित पाँच जनाको टोलीले दुई घन्टापछि पेटभित्र अन्डाशयबाट ११ किलोको ट्युमर निकाल्यो ।
अविवाहित एक किशोरी ट्युमरका कारण समाजबाट अघिल्लो वर्षदेखि भोग्नुपरेको मानसिक तनावबाट त मुक्त भइन् । तर चिकित्सकले क्यान्सरको समेत शंका गरेका छन्, जसका लागि पत्ता लगाउन मात्रै पनि भरतपुर वा काठमाडौं पुग्नुपर्ने छ । त्यसका लागि भने गरिब परिवारसँग खर्चबर्च छैन, जसले ट्युमर निकाल्नसमेत छिमेकीसँग १० हजार ऋण काढ्नु पर्यो ।
‘जटिल शल्यक्रिया थियो, तैपनि सफल भयौं,’ डा. निरेशले भने, ‘ट्युमर हुनुको कारण एक्सप्लारेटोरी ल्याप्रोटोमीपछि मात्रै थाहा हुन्छ ।’ चिकित्सकले क्यान्सरको शंका गरे पनि ‘हिस्टोप्याथोलोजी’ गरेपछि मात्रै पत्ता लाग्नेछ । किसानीबाट गुजारा गर्दै आएका बाआमा पूर्णबहादुर र चुनमाया थप उपचारका लागि पैसा नहुँदा चिन्तित छन् ।
‘गाउँमा अनेक कुरा काटे । कसको पेट बोकेको हो तुरुन्तै केटा देखाऊ, जिम्मा लाइहाल्नुपर्छ पनि भने,’ पूर्णबहादुरले पीडा सुनाए, ‘पेटको समस्या भनेर चिप्लेकिरा ख्वाउनेजस्ता घरेलु उपचार गर्यौं । अहिले आएर थाहा भयो यो त मासु पलाएको पो रहेछ ।’ ट्युमर झिक्न डिपोजिट गर्नुपर्ने १० हजार रकम पनि छिमेकीसँग लिएका उनले सहयोगका लागि आग्रह गरे, ‘अब बाँकी उपचार गर्न पैसा छैन । छोरी बचाउन सकिन्छ कि सकिँदैन भन्ने पो पीर बढ्यो झन् ।’ अलिअलि बोल्न सक्ने नेपीमायाले आफूलाई हलुको महसुस भएको उल्लेख गर्दै भनिन्, ‘मलाई बाँच्ने रहर छ । तर के हुन्छ थाहा छैन ।’
नेपीमाया माइली छोरी हुन् । छोराछोरी पढाउन नसकेकाले नेपीमाया पनि निरक्षर नै छिन् । अस्पतालका जनसम्पर्क अधिकृत कुल गिरीले कारण थाहा पाउन ट्युमरको मासुको अंश काठमाडौं पठाइने बताए ।