काठमाडौं – सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधीको परीक्षण अघि बढाइएको जनाएको छ । त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गरिँदैछ । उनले भने, ‘सामान्य लक्षण देखिएकालाई दिने हो, त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो त्यो हेरिन्छ साथै रगतमा केही परिवर्तन आए नआएको जाँच हुन्छ ।’
जेठीमधु र त्रिकटु
उनका अनुसार जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाउने हो । मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए ।
डा. ज्ञवालीले भने, ‘सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँका आयुर्वेदिक केन्द्रका डाक्टरहरू र काठमाण्डूबाट गएको अनुसन्धान टीमको संलग्नतामा आजभोलिमै औषधी दिने योजना छ ।’ तर त्यो औषधी गम्भीर समस्या देखिएकाहरूलाई दिइने छैन ।
उक्त औषधीबारे यसअघि चीन र भारत लगायतका देशमा पनि अनुसन्धान र अध्ययन भएको र त्यसको साइड इफेक्ट नभएको उनले जानकारी दिए ।
अर्को औषधीको पनि ‘अध्ययन हुँदै’
कोरोनाभाइरसविरुद्ध फ्याबिपिरबिर नामको औषधीको प्रभावकारिताबारे पनि अध्ययन गर्ने योजना रहेको अधिकारीहरूले जनाएका छन् ।
उक्त औषधी नेपालमा पनि उत्पादन भइसकेको बताउँदै डा. ज्ञवालीले भने, ‘स्वास्थ्य मन्त्रालयले कागजपत्र हेरेर अनुमति दियो र औषधी व्यवस्था विभागले विश्लेषण अनुमति दिएमा हामी अनुसन्धान गर्ने तयारीमा छौँ ।’ त्यो औषधी पनि गम्भीर बिरामीलाई नभइ सामान्य लक्षण रहेका बिरामीलाई खुवाउने बताइएको छ ।
एन्टी भाइरल उक्त औषधी कोभिड-१९ का बिरामीमा प्रयोग गर्न चीन, रुस र भारत लगायतका देशमा अनुमति दिइएको बताइएको छ । अहिले प्रयोगमा रहेको रेम्डेसिभिरको तुलनामा उक्त औषधी सस्तो पनि हुने डा. ज्ञवालीको भनाइ छ । उक्त औषधी अहिले एक सयजनामा परीक्षण गर्ने अनुसन्धान परिषद्को योजना छ । त्यसको गम्भीर साइड इफेक्ट नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । –बीबीसी