Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – नेपाल ब्रिटेन डट कमले आफ्नो पांचौ बर्ष पूरा गरी छैंटौं बर्षमा लागेको अवसर पारेर गरेको एक सर्वेक्षणले मिस नेपाल-२०१२ की बिजेता सृष्टि श्रेष्ठ बेलायतमा अत्याधिक चर्चामा रहेको जनाएको छ । श्रेष्ठ बेलायतका दश चर्चित नेपालीको नाममा पहिलो स्थानमा पर्न सफल भइन् ।

बेलायतमा हुर्किएकी चितवनकी सृष्टि श्रेष्ठ मिस नेपाल – २०१२ घोषित हुंदा नेपाल तथा बेलायत दुबैमा चर्चित बनिन् । मिस नेपाल विजेता भएपछि उनलाई बेलायतस्थित नेपालीहरुले भव्य स्वागत गरेका थिए । त्यसपछि उनी एनआरएनए सद्भावनादूत घोषित भइन् । यसैबीचमा उनले एनआरएनएको नागरिकता मुद्दालाई नेपालका प्रधानमन्त्री समक्ष राखेको बताएकी थिइन । मिस नेपालको ताज पहिरिएपछि उनी नेपाल र बेलायतका नेपाली सञ्चार माध्यममा चर्चाको शिखरमा रहिन् ।

चर्चाको दोस्रो स्थानमा मेजर रिटायर्ड, डम्बर घले रहे । घलेले राजकीय सम्मानका साथ बौद्ध धर्म गुरु दलाई लामालाई नेपाली समुदाय सामु उपस्थित गराएका कारण अत्याधिक चर्चा बटुल्न सफल भएका थिए । गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष घलेले तमुधीं भवनलाई फ़्री-होल्ड गर्न एकैपटक एकलाख पाउण्डभन्दा बढी च्यारिटी संकलनको नेतृत्व लिएका थिए । डम्बरले गोर्खा आन्दोलनप्रति ऐक्यबद्धता जनाउंदै तत्कालिन बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनलाई आफूले पाएको बहादुरी तक्मा बुझाए ।

वेलायतका लागि नेपाली राजदूत डा. सुरेशराज चालिसे पनि बेलायतको नेपाल समुदायमा बर्षभरि चर्चामा रहन सफल भए । नेपालको पर्यटन विकासमा बेलायत र आयरल्याण्डमा नयां अवधारणा ल्याएका चालिसे सन् २०१५ भित्रमा बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन लागिपरेका छन् । नेपाल बेलायतको कूटनीतिक इतिहासमा पहिलो पटक युकेटीआइको नेतृत्वमा बेलायती ब्यापारीहरुको समुहलाई नेपाल भ्रमण गराएर नेपालमा समेत चर्चा बटुल्न सफल भए ।

गोर्खा आन्दोलनमा अगुवा युबिजीइए संयोजक, ज्ञानराज राई गोर्खा आन्दोलनलाई नयां उचाइमा पुर्‍याउन सफल भएर चर्चामा रहे । उनले हजारौं गोर्खाहरुको सहभागितामा प्रधानमन्त्री क्यामरुन निवासमा हस्ताक्षर बुझाए । सम्पूर्ण आम्दानी नै समाजसेवामा खर्चिएका राई आफुलाई गोर्खा आन्दोलनको जोगी भन्न रुचाउंछन ।

सोलीसिटर राजु थापाले नेपाली समुदायलाई सित्तैमा कानुनी परामर्श दिएर चर्चा बटुल्न सके । उनी बेलायतको अध्ययागनसम्बन्धी कानुनका जानकार हुन् । विभिन्न कारणले बेलायती हिरासतमा रहेका नेपाली विद्यार्थीहरुलाई हिरासत बाहिर ल्याउन थापाले महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यसयता विशेष गरी बेलायतमा अध्ययन गर्न आएका हजारौं विद्यार्थीहरुलाई आवश्यक कानुनी सल्लाह दिंदै आएका थापा बर्षभरि बेलायतमा चर्चामा रहिरहे ।

गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ आफ्नै पहलमा च्यारिटीमार्फत लाखौं उठाएर नेपालको आफ्नो गाउंको शैक्षिक मुहार हसाउंन सहयोग मात्र गरेनन् ह्याम्सायरमा रहेको च्यारिटी संस्थालाई पनि सहयोग गरेर बेलायती समुदायमा नेपालीको हात उच्च पारे । उनले व्यक्तिगत पहलमा ठूलै च्यारिटी सहयोग गरे फिलिक्स टकवेललाई । प्रत्येक बर्ष उनले च्यारिटी आयोजना गरी विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्दै आएका कारण चर्चामा आउन सके । उनकै नेतृत्वमा बेलायतमा गैरआवासीय नेपाली आपतकालीन कोषको स्थापना भयो । नयां विचार र व्यवसायिक ज्ञानसमेत रहेका गुरुङ यसबर्ष स्थानीय सञ्चार माध्यममा आफूलाई बलियो उपस्थिति बनाउन सफल भए ।

गायक विवेक श्रेष्ठले आफ्नो सांगीतिक यात्रामार्फत बेलायतमा बर्षभरि आफूलाई चर्चामा राख्न सफल भए । बेलायतका नेपालीहरुलाई गीत संगीतमा झुमाउन सफल गायक विवेक श्रेष्ठको सांगीतिक यात्रा बेलायतमा यसबर्ष अब्बल रह्यो ।ट्रीब्युट टु द लिजेण्ड्सदेखि सङ्स फरइभरसम्म आइपुग्दा उनले थुप्रै सांगीतिक सफलता हांसिल गरे । अहिले जेनेरेशन टु जेनेरेशनको तयारीमा रहेका श्रेष्ठ परोपकारी संस्था हेल्प नेपाल नेटवर्कमा पनि आवद्ध छन् ।

बेलायतमा रहेका जातीय संस्था मध्य सबैभन्दा बलियो मानिएको संस्था तमुधी युकेका अध्यक्ष हुन मुच्छेत्र गुरुङ । बेलायतको फ्लिटमा बसोबास गरिरहेका उनी सफल व्यवसायी पनि हुन । उनले गएको एक बर्षमा नेपाली मेलामार्फत नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न एकै थलोमा हजारौ नेपाली उतार्न सके । गोर्खाकप फुटवल उनकै नेतृत्वमा सम्पन्न भयो । तमुधी युकेमार्फत विभिन्न कार्यक्रम गरेर गुरुङ यो बर्ष बेलायतमा चर्चामा रहे । यसबर्ष पनि उनकै पहलमा बेलायतमा भव्य नेपाली मेलाको तयारी भइरहेको छ ।

समाज सेवी शान्ति गुरुङ बेलायतमा नेपाली महिला उत्थानका लागि सक्रिय समाजसेवी हुन् । उनले बेलायतमा रहेका युवा युवतीहरुलाई प्रोत्साहन गर्न आफ्नै पहलमा मिस युके नेपालको थालनी गरिन् । मिस नेपाल युकेको यात्रा पनि अहिले तेस्रो बर्षमा प्रवेश गरिसकेको छ । करिब ६ बर्ष अघि बेलायत आएकी पोखराकी शान्तिले नेपालका विभिन्न क्षेत्रमा सहयोग पनि गर्दै आएकी छिन् ।

नेपाली बिजनेस एसोसियसन युकेका अध्यक्ष तथा व्यवसायी नरेन्द्र कँडेलले पनि पछिल्लो समयमा आएर चर्चामा आए । बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई प्रोत्साहन गर्न विभिन्न अवार्डहरु वितरण गरे । साउथइष्ट लण्डनमा रहेको हिन्दु मन्दिर बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपालीज विजनेश एशोसियसनका अध्यक्षसमेत रहेका कँडेलले यसबीचमा उनले व्यवसायीहरुलाई लक्षित गरी फुड एण्ड हाइजिनका बारेमा जानकारी दिए, वाइनसम्बन्धी तालीम दिए र व्यवसायीहरुले भोग्नुपर्ने कानुनी समस्याका बारेमा परामर्श गराएका थिए ।

बेलायतमा रहेका चर्चित ब्यक्तिहरुको औपचारिक रुपमा पहिलो पटक घोषणा गरिएको हो । उनीहरुलाई Social Media Personality of Year 2012 ले सम्मान गरिने नेपाल ब्रिटेन डट कमका निर्देशक चिरन्जीवी ढकालले बताए । ‘यो पहिलो प्रयास हो’, ढकालले भने- ‘सबैलाई उत्कृष्ठ दश भित्र पार्न सकिएन । अरु ब्यक्तित्वहरु पनि विभिन्न क्षेत्रमा चर्चामा छन् ।’ सकेसम्म राम्रो नतिजा निकाल्ने हामीले प्रयास गरेका छौं । आगामी बर्षमा अझ वैज्ञानिक र पारदर्शीरुपमा चयन गरिने ढकालले बताए ।

पछिल्लो बर्षमा सघंसस्थाहरु मध्यबाट गैरआवासीय नेपाली संघ युकेले अत्याधिक चर्चा बटुल्न सफल भयो । संघका अध्यक्ष कुल आचार्य चर्चाको शिखरमा भए पनि नेपाल ब्रिटेन डट कमको सञ्चालक समितिमा रहेकाले औपचारिक रुपमा चयन हुन सकेनन् । चर्चित दश ब्यक्तित्वको चयन गर्न नेपाल ब्रिटेन डट कमको सम्पादकीय मण्डल र बेलायतका विभिन्न नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको समूहले योगदान पुर्‍याएका थिए । चयनको मुख्य आधार बेलायतमा प्रकाशित पत्रपत्रिका, अनलाइन मिडिया, टेलिभिजन र इमेलबाट प्राप्त सुझावलाई बनाइएको थियो ।**

 

तपाईको प्रतिक्रिया