Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – दिनमा दश हजार पाइला हिँडे स्वस्थ भइन्छ भन्ने सल्लाह हामी सबैले पाएका छौं । तर, के यसले स्वास्थ्यलाई साँच्चिकै फाइदा पुर्‍याउँछ त?

उमेरको आधारमा हिँड्नुपर्ने पाइलाको अधिकतम संख्या निकै कम हुनसक्ने याँ अनुसन्धानले देखाएको छ । दैनिक चार हजार चार सय पाइला हिँड्ने महिलाको मृत्यु हुने सम्भावना ४१ प्रतिशत कम हुने वयस्क महिला सम्बन्धी सो अध्ययनले देखाएको छ । तुलनात्मक रूपमा उनीहरूभन्दा एक हजार सात सय पाइला कम हिँड्ने महिलाको मृत्यु हुने सम्भावना बढी हुने देखिएको छ ।

‘यो एकदमै सामान्य संख्या हो । त्यति पाइला त धेरै जना हिँड्न सक्छन्,’ आइ-मिन लीले भनिन् । उनी ब्रिगमस्थित डिभिजन अफ प्रिभेन्टिभ मेडिसिन र बोस्टोनस्थित वुमेनस हस्पिटलकी एपिडेमियोलोजिस्ट हुन् । पाइला गन्ने ‘स्टेप-काउन्टर’ले प्रायः उद्धृत हुने ‘स्वास्थ्यका लागि दश हजार पाइला’ सम्बन्धी खोज गर्न उनको ध्यानाकर्षण गरेको उनले बताइन् । सबैभन्दा पहिले १९६५ मा यो अवधारणा उल्लेख भएको हो । ‘पेडोमिटर’ बनाउने एउटा जापानी कम्पनीसँग यो सल्लाहलाई जोडिएको छ ।

‘उनीहरू पेडोमिटरलाई मान्पो-केइ भन्थे । जापानी भाषामा यस्को अर्थ दश हजार पाइलाको मिटर हुन्छ,’ उनले भनिन्,‘उक्त संख्या विज्ञानभन्दा बजार प्रवद्र्धन प्रयोजनका लागि थियो ।

नयाँ र सुधारिएको अनुसन्धान विधि
अमेरिकी वयस्कले दैनिक औसत चार हजारदेखि पाँच हजार पाइला हिँड्ने गरेको अधिल्ला अनुसन्धानले देखाएका छन् । तर, अघिल्ला अध्ययन व्यक्तिले दिनभरी गरेको कामको स्मरणमा आधारित भएको लीले बताइन् ।

‘आजभोली लगाउन मिल्ने प्रविधि आएको छ । वेरेबल भनिने यस्ता प्रविधिले शारीरिक गतिविधि सटिक ढंगले मापन गर्न सकिन्छ ।’ सहकर्मीसँग मिलेर उनले झण्डै १७ हजार महिलाको तथ्य संकलन गरेकी छिन् । ती महिलाको औसत उमेर ७२ वर्ष छ। उनीहरूले सात दिनसम्म कम्मरमा‘रिसर्च-ग्रेड-एक्सिलरेटोमिटर’ लगाए । यो उपकरणले चाल र गति दुवै मापन गर्नसक्छ । अनुसन्धाताले चार वर्षसम्म ती महिला ‘ट्रयाक’ गरेका थिए। यो अवधिमा पाँच सय चार जना महिलाको मृत्यु भयो ।

संकलित तथ्यको विश्लेषण गर्दा मृत्यु हुनेमध्ये दुई सय ७५ जना शारीरिक रूपमा कम सक्रिय भएको र प्रत्येक दिन औसत दुई हजार सात सय पाइला मात्रै हिँड्ने गरेको देखियो । यो समूह मृत्युको उच्च जोखिममा भएको अध्ययनले देखायो । यो समूहको तुलनामा दिनमा औसत चार हजार चार सय पाइला हिँड्ने महिलाको मृत्युदर ४१ प्रतिशत कम भएको लीले बताइन् । प्रत्येक दिन अझ धेरै हिँड्नाले मृत्यु दरको जोखिम पनि घट्ने उनले बताइन् ।

‘सात हजार पाँच सय पाइलापछि समान नतिजा देखियो-अर्थात् योभन्दा धेरै पाइला हिँडे खासै फाइदा हुने देखिएन । त्यसैले शारीरिक रूपमा निष्क्रिय वा सक्रिय हुने सोंच नभएका महिलाले दिनमा केही पाइला हिँडे स्वास्थ्यलाई फाइदा पुग्छ,’ उनले भनिन् ।

‘दोश्रो प्रश्न : छिटो वा ढिलो हिँडे के हुन्छ ?’ उनले भनिन्,‘छिटो वा ढिलो हिड्नाले केही फरक पर्दैन। कति पाइला हिँड्ने, त्यसले फरक पर्ने देखियो ।’
अध्ययनमा मृत्युदरलाई मात्रै ध्यान दिइएकोले धेरै पाइलाले-जस्तै दश हजार पाइला-स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने प्रष्ट नभएकोमा उनले जोड दिइन् । भविष्यमा यसबारे पनि अध्ययन गर्ने उनले आशा गरेकी छिन् ।

हाललाई अध्ययनको नतिजा समान उमेरका वयस्क पुरूषमा पनि लागु हुने उनको विश्वास छ । उनी भन्छिन्,‘शारीरिक गतिविधि र स्वास्थ्यका विभिन्न परिणामबीचको सम्बन्ध महिला र पुरूषमा उस्तै हुने हामीलाई थाहा छ ।’ तर सबै उमेर समूहमा पनि यो निष्कर्ष लागु हुनेमा उनलाई शंका छ । ‘कम उमेर समूहलाई अझ धेरै पाइला आवश्यक हुनसक्छ ।’

अझ धेरै हिँडडुल गर्ने प्रोत्साहन
डा. काभेरी दासगुप्ता म्याकगिल युनिभर्सिटीकी फिजिसियन तथा प्राध्यापक हुन् । सिएनएनलाई दिएको इमेले अन्तर्वार्तामा नयाँ अध्ययन ‘प्रभावकारी रूपमा सम्पन्न गरिएको’ र चार वर्षको औसत ‘फलो-अप’ अवधि ‘उपयुक्त’ भएको उनले बताएकी छिन् ।

सहभागीको ठूलो संख्या भएकाले मिहिन भिन्नता पहिचान भए पनि अनुसन्धानमा महिला मात्रै सहभागी भएकाले पुरूषको सवालमा पनि यो नतिजा लागु हुने वा नहुनेबारे जानकारी नभएको दासगुप्ताले बताइन् । उनी पनि अध्ययनमा सहभागी थिइनन् । उनी स्वयंले पनि ‘टाइप टु’ मधुमेह वा उच्च रक्तचाप भएका सयौं बिरामी हेरेरका छन् । केहीलाई हिँडेको पाइला गणना गर्न चिकित्सकले सुझाव दिएका थिए । केहीलाई त्यस्तो सल्लाह दिइएको थिएन । वर्षको अन्तिममा दैनिक एक हजार दुई सय वा त्योभन्दा धेरै पाइला हिँड्नेको ‘ब्लड सुगर’ पनि नियन्त्रण भएको उनले बताइन् ।

‘बस्नलाई हामीसँग धेरै विकल्प र बहाना छन् । साना वा ठूला स्क्रिनबाट हामी काम गर्नसक्छौं, किनमेल गर्न र मनोरञ्जन लिन सक्छौं,’ उनले भनिन् । प्रविधिले हामीलाई बस्न प्रोत्साहन गरे पनि, यसलाई हिँड्न समेत प्रयोग गर्न सकिने उनले बताइन् । ‘उत्प्रेरित रहने तरिका पत्ता लगाउनुपर्छ र स्वस्थ व्यवहारको बानी बसाल्नुपर्छ,’ उनले भनिन्,‘डाक्टरका पाइला गन्ने सल्लाह होस् वा कार्यस्थलमा स्वस्थ प्रतिस्पर्धा-सबैले स्वस्थ र दीर्घजीवनमा सहयोग पुर्‍याउँछ ।’

युनिभर्सिटी अफ साउथ क्यारोलाइनका पूर्व प्राध्यापक स्टिभन ब्लेयरले ‘शारीरिक गतिविधिको वस्तुगत मापन’ र दैनिक हिँड्नुपर्ने पाइलाको सटिक संख्या नयाँ अध्ययनको सबल पक्ष रहेको बताए । ब्लेयर पनि अध्ययनमा सहभागी थिइ न्। तर उनले उस्तै प्रकारको अध्ययन गरेका छन् । शारीरिक निष्क्रियता २१औं शताब्दीको सबैभन्दा ठूलो स्वास्थ्य जोखिम भएको उनी बताउँछन् । शारीरिक गतिविधिको थोरै मात्राले पनि ठूलो प्रभाव हुन्छ भन्ने अध्ययनको निष्कर्ष महत्वपूर्ण भएको उनले बताए । लीको शब्दमा: ‘शारीरिक सक्रियता बढाउनुहोस्। चार हजार पाँच सय पाइला हिँड्नुहोस् । फाइदा देख्नुहुनेछ ।’

तपाईको प्रतिक्रिया