काठमाडौं- पार्टीका संस्थापक नेताहरुको सहभागिताबिना पहिलोपटक दुई वर्षअघि सम्पन्न १२ औ महाधिवेशनमा नेतृत्वमा पुग्न तीन व्यक्तिबीच प्रतिस्पर्धा भएको देशको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा अहिले गुटबन्दीले महामारीको रुप लिएको छ।
कांग्रेसमा अहिले देखिएको गुट-उपगुटहरु सिद्धान्त र विचारका आधारमा नभै सत्ता र शक्ति हत्याउने व्यक्तिगत महत्वकांक्षा र कुण्ठा प्रेरित देखिएको छ। गुट र उपगुट देखाएर पार्टीभित्रै भागवण्डा खोज्ने र सत्ता प्राप्त हुने अवसर पाए त्यसमा पनि दावी गर्ने संस्कार विकास हुन थालेको छ, यो पार्टीमा। १२ औं महाधिवेशनबाट स्थापित सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङको समूह अहिले विभिन्न क्लवका नाममा गुटमा परिणत भएका छन।
तामाङको प्यानल अहिले देखिने गरी अगाडि आएको पाइदैन। महाधिवेशनमा सिद्धान्त र नीतिको वकालत गर्दै सिद्धान्तनिष्ठ तामाङ मैदानमा उत्रिएका थिए। अहिले उनी संस्थापन पक्षको उपगुटमा सीमित भएका छन्।
अहिले पार्टी राजनीति र राष्ट्रिय राजनीतिमा कांग्रेसका दुई गुट हावी भएको देखिन्छ – कोइराला र देउवा। यी दुई गुटमा वैचारिक भिन्नता भने खासै देखिँदैन।
पदाधिकारीसहित ८० जना केन्द्रीय समिति सदस्य रहेको कांग्रेसमा आठ वटा सहायक गुटहरु बनिसकेको कांग्रेसजन बताउँछन्।
उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु खुमबहादुर खड्का, सुजाता कोइराला, कुलबहादुर गुरुङ, शेखर कोइराला, अर्जुननरसिंह केसी र जनजातिका नाममा उपगुटहरु खडा भएका छन्। पौडेल, तामाङ, सुजाता, शेखर सभापति कोइराला गुटभित्रका उपगुटहरु हुन। खड्का र गुरुङले देउवा गुट छोडेका छन्। खड्का कोइरालातिर लहसिएका छन् भने गुरुङ गुटबाट स्वतन्त्र बनेको बताइरहेका छन्। यी दुबै नेताको एउटै स्वार्थ देखिएको छ – कोइरालालाई रिझाएर संसदीय बोर्डमा आफ्नो उपस्थिति दह्रो बनाउने।
१२ औं महाधिवशेनमा सभापतिका प्रत्यासी तामाङले पार्टी नेतृत्वले सबैलाई समेटेर अघि बढ्न नसक्दा पाटीभित्र गुट-उपगुटहरु बन्दै गएको ठान्छन। ‘पार्टीका नेता तथा कार्यकर्ताको त्याग र वलिदानलाई नेतृत्वले मुल्याङ्कन नगर्दा गुट-उपगुटहरु निर्माण हुनु स्वभाविक हो,’ उनको टिप्पणी थियो।
जानकारहरुका अनुसार, खड्काले भ्रष्ट्राचारको मुद्दालाई आफ्नो अनुकुल बनाउन कोइरालाको सहयोग खोजेका छन्। तसर्थ उनले केन्द्रीय सदस्य शंकर भण्डारी र अजय चौरसियालाई संस्थापन पक्षतिरै नजिक्याएका छन्।
संसदीय दलको नेता बन्न र कोइरालालाई सभापति बनाउन एउटै गुटमा रहेका पौडेल अहिले प्रधानमन्त्री पदमा पुग्न उपगुट चलाउन लागेका छन्। कोइराला नै प्रधानमन्त्री बन्ने चर्चासँगै पौडेल उपगुटको सक्रियता बढेको छ। कोइरालाले आफुलाई पटक पटक धोका दिएको गुनासोसहित उनले उपगुटलाई गुटमा विस्तार गर्ने प्रयत्न गरिरहेका छन्। पौडेलसँग महामन्त्री प्रकाशमान सिंहका साथै केन्द्रीय सदस्य कमला पन्त, नविन्द्रराज जोसी, चन्द्र भण्डारी आदि छन्।
त्यस्तै, सुजाता कोइराला पनि आफ्नो गुट बनाउन लागेकी छिन। पार्टी महामन्त्री र बाबुराम भट्टराई मन्त्रिपरिषद्मा उप प्रधान मन्त्री नपाएपछि उनी सभापति सुशीलसँग बिच्किएकी छिन्। उनले अहिले केन्द्रीय सदस्यहरु रामकुमार चौधरी, मोहमद आफताव आलम र उमाकान्त चौधरीसहितको गुट निर्माणको प्रयास थालेकी छिन्।
उसो त कोइराला परिवार भित्रै पनि धेरैवटा गुट सिर्जना हुने स्थिति बनेको छ। आफूलाई कुनै जिम्मेवारी नदिई डा.शशांक कोइराला र महामन्त्री कृष्णप्रसाद सिटौलालाई च्यापेको भन्दै शेखर कोइराला सभापतिसँग रिसाएका छन्। उनी सभापति निवासमा आक्कल-झुक्कल मात्रै पुग्छन। केन्द्रीय समितिमा पनि एक्लो वृहस्पति जस्तै छन्।
शेखरले जिल्ला सभापतिहरु र भ्रातृ संगठनका प्रमुखहरुलाई संगठित पारी बलियो बन्ने कसरत गरिरहेको बुझिएको छ।
महामन्त्री पद नपाएपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसी सुशीललाई छोडेर देउवाको शरणमा पुगेका थिए। तर, अहिले त्यो गुट पनि छोडेर मध्यमार्गी धारमा उभिने प्रयत्नमा जुटेका छन् उनी। ‘व्यक्तिको आधारमा नभएर विचार र सिद्धान्तको आधारमा नजिक वा टाढा हुनु स्वाभाविक हो,’ केसीले भने, ‘पार्टीको नीति र सिद्धान्त बचाउन लागिरहेको छु।’
महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन हुनुपर्ने पार्टीका विभागहरु, संसदीय समिति र बोर्डका साथै पार्टीको सबै निकायले दुई वर्षसम्म पूर्णता पाएको छैन। ती निकायमा आफ्नो पहुँच स्थापित गर्न पनि कांग्रेसभित्र गुट र उपगुट च्याउ सरी उम्रिरहेका छन्।
केन्द्रीय सदस्य शंकर भण्डारी पार्टीमा विचार र सिद्धान्त प्रेरित नभई व्यक्तिगत स्वार्थ पूर्तिका निम्ति गुट-उपगुट बनेको स्वीकार्छन्। भण्डारीले भने, ‘व्यक्तिगत स्वार्थका आधारमा गुट र उपगुटहरु बनेका हुन्।’
‘पार्टीको सिंगो जीवनका लागि गुट र उपगुट वाहियात हुन्, तिनको औचित्य छैन। इच्छाएका व्यक्तिहरुबाट पार्टी चल्दैन,’ उनको कथन थियो।
आफू निकटस्थलाई जिम्मेवारी दिने रणनीति अनुसार कतिपय उपगुट नियोजित रुपमा निर्माण भएको महसुस एकथरी कांग्रेसका नेताहरु गरिरहेका छन्। तर, केही नेताहरुले चाहिँ पार्टी नेतृत्व स्वार्थमा अल्भि्कएकोले पार्टीको मर्म र सिद्धान्तअनुसार अगाडि बढ्न संगठित हुनु परेको दावी गरेका छन्।
सभापति कोइराला पार्टीभित्रका समस्या समाधानमा इमानदार नदेखिएको आरोप गुरुङ पक्षको छ। देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी भई अहिले उनीबाट टाढिएका गुरुङ पक्षले देउवालाई पनि पार्टीको मर्म र सिद्धान्तअनुसार नचल्ने नेताको संज्ञा दिएको छ। गुरुङ र अम्बिका बस्नेतले सैद्धान्तिक प्रश्न उठाउँदै केन्द्रीय समितिको बैठक समेत बहिष्कार गर्दै आएका छन्।
नेतृत्वले कांग्रेसलाई आर्दश, सिद्धान्त र विचारबाट विचलित पारेको भन्दै पार्टीलाई वीपी कोइरालाले प्रतिपादन गरेको विचारमा फर्काउने संघर्ष शुरु गरेको गुरुङले बताए।
‘सत्ता र शक्तिका लागि हिडेका होइनौ,’ गुरुङले भने, ‘विचार र आर्दशलाई आत्मसात गर्नुको साटो व्यक्तिको पछि लाग्ने विरुद्ध हाम्रो सैद्धान्तिक र बैचारिक अभियान सुरु भएको छ।’
पछिल्लो समयमा कांग्रेसमा संघीयताको मुद्दालाई लिएर जनजातिहरुको कान्छो गुट बनेको छ। केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङ र सीता गुरुङ यो गुटका हस्ती हुन।
केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीमा गुट बन्नु स्वाभाविक भएको बताए। ‘विचार र स्वभाव मिल्ने साथीहरु एक ठाउँमा हुनु ठूलो कुरो होइन,’ यादवले भने, ‘यो कुरा पाटीभित्र मात्र होइन समाजमा पनि हुन्छ।’
केन्द्रीय सदस्य एन पी साउदले पार्टीभित्र विचारको कुरा नभएको स्वीकारे। ‘देश, समाजलाई कहाँ र कसरी अघि बढाउने भन्ने लक्ष्य, सिद्धान्त, विचार अहिले कांग्रेसभित्र देखिएन,’ उनले भने।
केन्द्रीय समितिमा सभापति कोइराला ३६, देउवा २२, पौडेल ५, खड्का ५, सुजाता ४, गुरुङ, तामाङ र नेम्वाङसंग दुई दुई केन्द्रीय सदस्य छन्। शेखर र केसी गुट बनाउने कसरतमा जुटेका छन्।