काठमाडाैं – २५३ जनाको ज्यान जाने गरी गराइएका विस्फोटनमा संलग्नहरूको सूचीमा एक अमेरिकी लेखिकालाई पनि प्रहरीले गल्तीले समावेश गरेको छ ।
आक्रमणमा संलग्न भएको आशंकामा खोजी गरिरहेको सूचीमा गल्तीले अमेरिकी महिलाको तस्वीर पनि प्रकाशन गरेकोमा श्रीलंकाली प्रहरीले माफी पनि मागेको छ ।
अमारा मजिद मुस्लिममाथिको पूर्वाग्रहविरुद्ध लडिरहेकी अमेरिकी लेखिका हुन् । उनी ‘द फरेनर्स’ नामक पुस्तककी रचयिता पनि हुन् । अमेरिकाको बाल्टिमोर निवासी मजिदका बुवाआमा श्रीलंकाली हुन् ।
अमाराले ट्वीटमा श्रीलंकाली प्रहरीले आफूलाई श्रीलंकाको एक आइएस इस्टर आक्रमणकारीको रूपमा गलत पहिचान दिएको बताएकी छन् ।
अमारा मजिदको एउटा तस्वीर श्रीलंकाली प्रहरीले खोजी गरिरहेको शंकास्पद व्यक्तिको रूपमा जारी गरेको थियो ।
उनको तस्वीर प्रयोग गरिएको शंकास्पद व्यक्तिको नाम फाथिमा खादिया हो । उनले आफूलाई यस प्रकारको भयावह आक्रमणमा जोडेकोमा चिन्ता जनाउँदै आइन्दा यस्ता सूचनाप्रति सचेतना अपनाउन पनि भनेकी छन् । –एजेन्सी