काठमाडौं – नेपालको शैक्षिक क्षेत्र तालाबन्दी, हड्ताल र बन्दले कति आक्रान्त छ भन्ने पछिल्लो एउटा अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालय अन्तर्गत युनेस्को राष्ट्रिय आयोगको सचिवालयले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनको प्ररम्भीक प्रतिवेदन अनुसार गत शैक्षिक सत्रको एक वर्षमा ९६ पटक भएका तालाबन्दी, बन्द र हड्तालका घटनाले विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
यस्ता घटनामा सबैभन्दा बढी ४६ पटक विद्यार्थी संगठनको सहभागिता देखिएको छ । विद्यार्थी संगठनले विद्यलाय र विश्वविद्यालमा तालाबन्दी, बन्द र हड्ताल गरेका छन् । त्यसपछि राजनीतिक दलले २७ पटक, शिक्षक संघ संगठनले १५ पटक, स्थानीय शिक्षकले ३ पटक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले २/२ पटक बन्द गरेको अध्ययनमा उल्लेख छ ।
तालाबन्दीका घटना सबैभन्दा बढी सामुदायिक विद्यालयमा ३९ पटक, विश्वविद्यालयमा २२ पटक र निजी विद्यालयमा १६ पटक भएका छन् । एक पटक भएका तालाबन्दीको अवधी कम्तीमा १ दिन र बढी ३ हप्तासम्म देखिएको छ । पाँच वटा नेपाली दैनिकमा शिक्षण संस्थामा भएका तालाबन्दी, बन्द र हड्तालबारे प्रकाशित समाचारलाई आधार मानेर अध्ययन गरिएको मन्त्रालयका उपसचिव ध्रुवराज रेग्मीले बताए ।
अध्ययनले सरोकारवालाले मागको समयमै सुनुवाइ नगर्दा, उचित र पर्याप्त सम्बोधन नहुदा, पूर्व प्रतिवद्धताहरु कार्यान्वयन नगर्दा र तालाबन्दीको पूर्व घोषणा भइसक्दा समेत त्यसको वेवास्ता गर्दा शिक्षण संस्थामा तालाबन्दी, बन्द र हड्ताल हुने गरेको देखाएको छ । तालाबन्दीका क्षेत्र विद्यालयमा प्रधानाध्यापकको कार्य कक्ष, विश्वविद्यलायमा उपकुलपतिको कार्यकक्ष, प्रशासन कक्ष, विभागीय कक्ष, लेखा शाखा रहेको अध्ययनमा छ ।
निजी विद्यालयमा हुने तालाबन्दी तलब, नियुक्तिपत्र, आर्थिक पारदर्शिता र निकालिएका शिक्षकको पुर्नबहाली माग गर्दै भएका छन् । सामुदायिक विद्यालयमा सबैभन्दा बढी तालाबन्दी व्यवस्थापन समिति गठन र अध्यक्ष नियुक्तिमा हुने विवादमा देखिएको छ । त्यसबाहेक पाठ्यपुस्तक अभाव, व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक विवाद, विद्यालयमा हुने छात्रवृत्ति, शिक्षक कोटा तथा निर्माणमा हुने आर्थिक अनियमितताको विरोधमा पनि तालाबन्दी भएका छन् । विश्वविद्यालयमा भने पदाधिकारी नियुक्तिमा असहमति जनाउदै ३ हप्तासम्म निरन्तर तालाबन्दी गरिएको छ ।
शिक्षा सचिव किशोर थापाले तलाबन्दीको बढ्दो संस्कार नसुधारे यस्ता गतिविधिले भविष्यमा प्रभाव पार्ने बताए । ‘यसका सकरात्मक भन्दा नकरात्मक पाटाहरु धेरै छन्, विरोधका नया शैली नअपनाउने हो भने यसले आउदो पुस्तालाई सही शिक्षा दिदैन’, उनले भने, ‘हामीले सुधारको कदम आजैदेखि थाल्नु पर्छ ।’ अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बढ्दो बन्द संस्कारले विद्यार्थीमाथि राज्य र अभिभावकले गरेको लगानी खेर गएको तथा बन्दका कारण बालबालिकामा मानसिक समस्या सिर्जना भएको टिप्पणी गरे ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव बाबुराम अधिकारीले राज्यले सहमति अनुसारका माग पूरा नगर्दा बन्द र तालाबन्दीका घटना हुने गरेको बताए । ‘शिक्षक संगठनले केन्द्रीय तहमा निर्णय गरेर बन्द गरेका छैनौ, गर्दैनौं । जिल्ला तहमा भएका त्यस्ता घटनाको जिम्मवारीबाट भने हामी पन्छिन मिल्दैन’, उनले भने, ‘तालाबन्दीका घटना बन्द गर्न राज्यको केन्द्रीय तहदेखिको सुधार जरुरी छ । धमिलो पानीमा फिटकिरी हालेर सफा हुदैन, मुहाननै सफा गर्नु पर्छ ।’
नेपाल प्रहरीको तथ्याङ्क अनुसार २०६८ सालको एक वर्षमा १ सय २६ दिन तालाबन्दी, बन्द र हड्ताल भएको छ । पर्व विदा ४० दिन र शनिवार विदा ५५ दिन गर्दा वर्षमा १ सय ४४ दिनमात्रै शिक्षण संस्थामा कक्षा हुने गरेको प्रहरी तथ्याङ्कमा छ । सरकारले विद्यालय तहमा न्युनतम पढाइ २ सय २० दिन पढाइ हुनु पर्ने तोकेको छ ।